Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारनेपाल धितोपत्र बोर्ड २९औँ वर्षमा प्रवेश

नेपाल धितोपत्र बोर्ड २९औँ वर्षमा प्रवेश

बोर्डले छुट्टै ऐनको निर्माणको लागि प्रक्रिया सुरु गरिसकेको छ– अध्यक्ष ढुँगाना


काठमाडौं ।
नेपाल धितोपत्र बोर्ड २९औँ वर्षमा प्रवेश गरेको छ । यही जेठ २५ गते अर्थात् मंगलबार बोर्ड २८औँ वर्ष पूरा गरी २०औँ वर्षमा प्रवेश गरेको हो । सो अवसरमा शुभकामना सन्देश दिँदै प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकको दिगो आर्थिक विकास र समृद्धिमा चुनौती थपिएको बताएका छन् ।

‘कोभिड–१९ को महामारीबाट विश्व अर्थतन्त्र नै संकटमा रहेको अवस्थामा नेपाललाई पनि समृद्ध नेपाल र सुखी नेपालीको राष्ट्रिय आकांक्षासहितको दिगो विकासको लक्ष्य प्राप्तिमा चुनौती प्रधानमन्त्री ओलीद्वारा जारी गरिएको शुुभकामना सन्देशमा उल्लेख रहेको छ । कोभिड १९ को बाबजुत पनि वित्तीय क्षेत्र एवं समग्र अर्थतन्त्र गतिशील बनाउन तथा लगानीकर्ताको मनोबल उच्च बनाएर पुँजी बजारका हालका गतिविधिले महत्वूर्ण भूमिका खेलेको उनको भनाइ छ ।

शुभकामना सन्देशमार्फत प्रधानमन्त्री ओलीले धितोपत्र बोर्डले धितोपत्र बजार र वस्तु विनिमय बजारको विश्वसनीय एवं गतिशील विकास तथा विस्तारमार्फत देशको आर्थिक विकासमा सहयोगी भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरेका छन् ।

यसैगरी धितोपत्र बोर्डका अध्यक्ष भिष्मराज ढुंगानाले बोर्डले नेपाल राष्ट्र बैंकको जस्तै संरचना तयार गरी धितोपत्र बजारको विकास र विस्तारमा काम गर्ने बताएका छन् । यसको लागि बोर्डले छुट्टै ऐनको निर्माणको लागि प्रक्रिया सुरु गरिसकेको छ, अध्यक्ष ढुुंगानाले भने । धितोपत्रको प्राथमिक र दोस्रो बजार विस्तार भएसँगै सरकारले यसबाट ठूलो परिमाणमा लाभकर पाउनेगरेको उनको भनाइ छ ।

अध्यक्ष ढुुंगानाले डिम्याट खाताको संख्या, मेरो सेयर खाताको संख्या, प्रारम्भिक सार्वजनिक निष्काशनमा आवेदनकर्ताको संख्या, प्राथमिक बजारमार्फत भएको पुँजी परिचालन आदिमा भएको उल्लेख्य वृद्धिका बारेमा उल्लेख गर्दै धितोपत्र बजारको विकास तथा विस्तारका लागि बोर्डले पछिल्लो समय चालेका कदमका कारण बजारमा सर्वसाधारणको सहभागिता उत्साहजनक रूपमा बढ्दै गएको तथा पुँजी बजारमा लगानीकर्ताहरू क्रमशः प्रविधिमैत्री हुँदै गएको बताए ।

साथै उनले दोस्रो बजारमा बजार पुँजीकरणको अनुपात कुल गार्हस्थ्य उत्पादनको बराबरी पुग्नु उपलब्धिमूलक रहेको बताउँदै कारोबार रकममा भएको उल्लेख्य वृद्धिले धितोपत्र बजारको तरलता बढेको पुष्टि गरेको बताए । उनले लामो समयदेखि स्पष्ट नभएको पुँजीगत लाभकरसम्बन्धी व्यवस्थालाई नेपाल सरकारबाट स्पष्ट गरिदिएपश्चात् लगानीकर्ताको आत्मविश्वास अभिवृद्धि हुनसकेको धारणा राख्यो ।

बोर्डले आफ्ना गतिविधिहरूलाई बजारको संरचनात्मक सुधार तथा परिवर्तन, नयाँ थप ब्रोकरको व्यवस्था, कानुनी तथा नीतिगत पक्षहरूको सुदृढीकरण र बोर्डको नियमन तथा सुपरिवेक्षकीय क्षमता अभिवृद्धिजस्ता क्षेत्रमा जोड दिने तथा बोर्डको संस्थागत क्षमता अभिवृद्धि गर्नेतर्फ पनि पहलगामी कदम लिने बताए । कार्यक्रममा बोर्ड अध्यक्ष ढुंगानाले विगत एक वर्षमा भएका कामकारबाहीका बारेमा समेत संक्षेपमा प्रकाश पारे ।

पुँजी बजारको आकर्षण सरकारप्रतिको विश्वास : उपप्रधान तथा अर्थमन्त्री पौडेल : उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले पुँजी बजारमा आकर्षण र लगानी बढ्नुलाई सरकारप्रति लगानीकर्ताको विश्वासका रूपमा लिएको बताएका छन् । कार्यक्रममार्फत उनले लगानीकर्ताको लगानी सुरक्षित हुने गरी पुँजी बजारको विस्तार हुने वातावरण तयार पार्न बोर्डलाई निर्देशन समेत दिएका छन् ।

Open Photo

उपप्रधान तथा अर्थमन्त्री पौडेलले बजेटमा उल्लेख गरिएको वस्तु विनिमय बजार सुरु गरेन तथा कमीकमजोरी हटाइ बोर्डलाई गतिशील बनाउन पनि निर्देशन दिएका छन् । उनले आव २०७८।७९ को बजेटमा पुँजी बजारसम्बन्धी केही महत्वपूर्ण दृष्टिकोणहरू अगाडि सारिएका र विशेषगरी वस्तु विनिमय बजारको आरम्भ गर्ने अठोट प्रस्तुत गरिएकोले यसका लागि बोर्डले आवश्यक गृहकार्य गरी समयमै वस्तु विनिमय बजारको आरम्भ गर्न प्रभावकारी कदम चाल्ने विश्वास व्यक्त गरे । साथै उनले अहिलेको बोर्ड नेतृत्वअन्तर्गत भएका सराहनीय कार्यहरूका लागि नेतृत्वलाई धन्यवाद दिँदै आगामी दिनमा पनि अझ सशक्त र प्रभावकारी भूमिका निर्वाह गर्ने विश्वास प्रकट गरे ।

कार्यक्रममा अर्थमन्त्री पौडेलले इतिहासका अनुभवबाट शिक्षा लिदै, उपलब्धिलाई सबल तुल्याउँदै तथा कमजोरीलाई हटाउँदै आउने दिनमा पुँजी बजारलाई सशक्त, गतिशिल र प्रभावशाली बनाउन सफलता मिलोस् भनी बोर्डको वार्षिकोत्सवको अवसरमा शुभकामना प्रदान गरे । साथै, पुँजी बजारका क्षेत्रमा कुनै पनि अनियमितता हुन नदिई, लगानीका क्षेत्रहरू र दायरा विस्तार गरी मुलुकको आर्थिक वृद्धिमा बोर्डले महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गर्दै लगानीकर्ताको हकहित तथा बजार विकास र विस्तारका लागि अगाडि बढ्न निर्देशन समेत दिएका छन् ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया