Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारसिटिजन्स बैंक इन्टरनेसनलको सातौँ विशेष साधारणसभा

सिटिजन्स बैंक इन्टरनेसनलको सातौँ विशेष साधारणसभा


काठमाडौं ।
सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडको सातौँ विशेष साधारणसभा सम्पन्न भएको छ । बैंकले सञ्चालक समितिका अध्यक्ष राजनसिंह भण्डारीको अध्यक्षतामा बिहीबार बैंकको केन्द्रीय कार्यालय भवन, नारायणहिटी पथ, दरबारमार्ग, काठमाडौँमा वार्षिक साधारणसभा सम्पन्न गरेको हो । कोभिड–१९ का कारण पर्नसक्ने सम्भावित असर एवं लकडाउनलाई मध्यनजर गर्दै सम्पूर्ण सुरक्षात्मक उपायहरू अवलम्बन गरी बैंकले डिजिटल प्लाटफर्म जुममार्फत बैंकले सातौँ विशेष साधारण सभा सञ्चालन गरेको हो ।

सञ्चालक समितिको तर्फबाट अध्यक्ष भण्डारीले सिर्जना फाइनान्स लिमिटेडललाई प्राप्ति (एक्विजिसन) गर्नका लागि गरेको विशेष प्रस्ताव विशेष साधारणसभाबाट सर्वसम्मतरूपमा पारित भएको हो । सभाले सिर्जना फाइनान्स लिमिटेड र सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडबीच भएका प्रारम्भिक सहमति तथा अन्तिम सम्झौतापत्रहरूको अनुमोदन गरेको छ । सिर्जना फाइनान्स लिमिटेडको एक सय कित्ता सेयरलाई सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडको ९५ कित्ता सेयर (१ः०.९५) दिने गरी सेयर मूल्य अनुपात कायम गरिएको छ ।

नेपाल राष्ट्र बैंकबाट ‘ग’ वर्गको इजाजतप्राप्त, विराटनगरमा प्रधान कार्यालय रहेको सिर्जना फाइनान्सको पनि मिति २०७७ जेठ २७ गतेसम्पन्न विशेष साधारणसभाले समेत सिर्जना फाइनान्स लिमिटेडलाई प्राप्तिका लागि स्वीकृति प्रदान गरिसकेको छ । दुवै बैंक तथा फाइनान्सको विशेषसाधारणसभाले स्वीकृति दिएसँगै सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडलाई सिर्जना फाइनान्स लिमिटेड प्राप्ति गर्नका लागि बाटो खुलेको हो ।

यसै आवभित्र सिर्जना फाइनान्स लिमिटेडललाई संयुक्त कारोबारप्राप्ति गरी संयुक्त कारोबार प्रारम्भ गर्नेगरी तयारीहरू भइरहेको सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडका अध्यक्ष भण्डारीले जानकारी दिँदै डिजिटल प्लाटफर्ममा उल्लेखनीय सहभागिताका लागि सेयरधनीहरूलाई बैंक सञ्चालक समिति सम्पूर्ण सदस्यहरूको तर्फबाट आभार प्रकट गरे । यसका साथसाथै प्राप्तिपश्चात् बैंकको वित्तीय, मानवस्रोत, प्राविधिक एवं अन्य क्षमता अभिवृिद्ध हुने कुरा व्यक्त गरे ।

२०७८ साल जेठ २६ गतेसम्मको तथ्यांकको आधारमा बैंकले सिर्जना फाइनान्स लिमिटेडलाई समेत प्राप्ति गरेपछि सर्वसाधारणबाट उठाएको निक्षेप करिब एक खर्ब ३८ अर्ब रुपैयाँ हुनेछ भने सर्वसाधारणलाई दिएको ऋण लगानी करिब एक खर्ब २२ अर्ब रुपैयाँ हुनेछ । प्राप्तिपश्चात् बैंकको कुल शाखा एक सय ८९ हुनेछ ।

हाल यस बैंकको प्रदेश नं १ मा १३ वटा शाखा रहेकोमा सिर्जना फाइनान्स लिमिटेडको प्राप्तिपश्चात् उत्त प्रदेशमा बैंकको जम्मा २७ वटा शाखाहरू र प्रदेश नं २ मा २० वटा शाखाहरू रहेकोमा प्राप्तिपश्चात् उत्त प्रदेशमा २७ वटा शाखाहरू हुनेछन् । सहमतिअनुसार, सिर्जना फाइनान्स लिमिटेडका सेयरधनीले एक सय कित्ता सेयरबराबर सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडको ९५ कित्ता सेयर पाउनेछन् । सिटिजन्स बैंकको हालको चुक्ता पुँजी ११ अर्ब ६६ करोड रुपैयाँ रहेकोमा प्राप्तिपछिको चुक्ता पुँजी १२ अर्ब ५८ करोड रुपैयाँ हुनेछ ।

बैंकको सञ्चालक तथा मर्जर तथा प्राप्ति समितिका संयोजक प्रबलजंग पाण्डेको नेतृत्वमा बैंकले सहयोगी विकास बैंक, तिनाउ मिसन डेभलपमेन्ट बैंक र सिर्जना फाइनान्सको प्राप्ति अगाडि बढाएको हो । बैंकले सातवटै प्रदेशमा आफ्नो दह्रो उपस्थिति बनाउँदै लगेको छ । यस प्राप्तिपछि बैंकको ग्राहक संख्या करिब १२ लाख पुग्नेछ ।

प्राप्तिपश्चात् बैंकको पहुँच बढ्न गई प्रतिस्पर्धात्मक क्षमताको अभिवृद्धि हुने, बैंकको वित्तीय, मानव–संशाधनका साथै प्राविधिक एवं अन्य क्षमताको अभिवृद्धि भई ग्राहक वर्गलाई आधुनिक, गुणस्तरीय तथा भरपर्दो बैंकिङ सुविधा प्रदान गर्न सहज हुने र देशको बैंकिङ तथा वित्तीय प्रणालीलाई सुशासित, सुरक्षित, स्वस्थ, कुशल तथा सक्षम बनाई वित्तीय क्षेत्रको स्थायित्व कायम गर्न मदत पुग्ने विश्वास बैंकले लिएको छ ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया