Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारआईएमई लाइफको तेस्रो वार्षिक साधारणसभा

आईएमई लाइफको तेस्रो वार्षिक साधारणसभा


काठमाडौं ।
आईएमई लाइफ इन्स्योरेन्स कम्पनीले तेस्रो वार्षिक साधारणसभा सम्पन्न गरेको छ । कम्पनीले जेठ ३१ गते अर्थात् सोमबार सञ्चालक समितिका अध्यक्ष डा. रामहरि अर्यालको अध्यक्षतामा काठमाडौँको लैनचौरस्थित रजिस्टर्ड तथा कर्पोरेट कार्यलयमा भिडियो कन्फरेन्सका माध्यमबाट वार्षिक साधारणसभा सम्पन्न गरेको हो ।

सभामार्फत कम्पनीले सामान्य प्रस्तावतर्फ आर्थिक वर्ष २०७५–०७६ को सञ्चालक समितिको प्रतिवेदन पारित गर्ने, लेखापरीक्षकको प्रतिवेदनसहितको आर्थिक वर्ष २०७५–०७६ को वासलात, नाफा नोक्सानहिसाब, नगद प्रवाह विवरण र ससम्बन्धी अनुसूची तथा एनएफआरएस प्रणाली लागू गरी तयार गरिएको वित्तीय विवरणमाथि छलफल गरी पारित गर्ने, कम्पनी ऐन, २०६३ को दफा १११ बमोजिम आर्थिक वर्ष २०७६–०७७ को लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक निर्धारण गर्ने कार्य गरेको छ भने विशेष प्रस्तावतर्फ कम्पनीले धितोपत्र दर्ता गरी सेयर प्रारम्भिक सार्वजनिक निष्काशन गर्ने, सञ्चालक नियुक्तिलाई अनुमोदन गर्नेलगायतका अन्य कार्य गर्ने प्रस्ताव पारित गरेको छ ।

सभामा अध्यक्ष डा. अर्यालले बीमा व्यसायमा पर्याप्त जनचेतनाको अभाव, दक्ष जनशक्तिको अभाव र बीमा व्यवसायसम्बन्धी साक्षरताको अभाव रहेको भए पनि कम्पनीले सो विषयलाई अवसरको रूपमा लिई बीमासम्बन्धी जानकारी, जनचेतना र बीमाको पँहुच न्यूनभन्दा न्यून आयस्रोत भएका समूहमा समेत पु-याउन कटिबद्ध रहेको प्रतिबद्धता जाहेर गरेका छन् ।

कम्पनीकोे उन्नति र प्रगतिमा निरन्तर अमूल्य सुझाव र सहयोग गर्ने सेयरधनीहरू, कम्पनीप्रति विश्वास र भरोसा गर्नुहुने समस्त बीमितहरू, कम्पनीको सफलताका लागि सहयोग तथा मार्गनिर्देशन दिने नेपाल सरकार, बीमा समिति, कम्पनी रजिष्टारको कार्यालय, धितोपत्र बोर्डलगायत सम्पूर्ण नियमनकारी निकायहरू, पुनर्बीमा कम्पनी, कम्पनीको व्यवस्थापन समूह, कर्मचारीहरू, अभिकर्ताहरू, पत्रकारहरू, बैंक तथा वित्तीय संस्थाहरू एवं अन्य शुभेच्छुकहरू सबैप्रति हार्दिक कृतज्ञता ज्ञापन गरेका छन् ।

उक्त सभा नेपाल सरकारले तोकेको स्वास्थ्य सुरक्षासम्बन्धी मापदण्डलाई पालन गरी भिडियो कन्फरेन्समार्फत गरिएको थियो । सभामा सञ्चालक समिति तथा व्यवस्थापन समितिका सदस्य तथा विभागीय प्रमुखहरू प्रत्यक्ष उपस्थित रहेको थिए भने सेयरधनीहरूले भिडियो कन्फरेन्समार्फत उपस्थिति जनाएका थिए । कम्पनीले चालू आर्थिक वर्षको तेस्रो त्रैमासिक अवधिमा १० करोड एक लाख ३३ हजार २२ रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ ।

गत आवको सोही अवधिमा कम्पनीको यस्तो नाफा नौ करोड ८१ लाख ३७ हजार नौ सय तीन रुपैयाँ रहेको थियो । हाल चुक्ता पुँजी एक अर्ब ४० करोड रुपैयाँ रहेको कम्पनीको चालू आवको तेस्रो त्रैमासमा प्रतिसेयर आम्दानी नौ रुपैयाँ ५४ पैसा रहेको छ । यस अवधिमा कम्पनीको प्रतिसेयर नेटवर्थ भने एक सय ३५ रुपैयाँ ७५ पैसा रहेको छ ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया