Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारग्लोबल आईएमई बैंकले पेन्सन होल्डरहरूलाई सहजरूपमा कर्जा दिने

ग्लोबल आईएमई बैंकले पेन्सन होल्डरहरूलाई सहजरूपमा कर्जा दिने


काठमाडौं ।
ग्लोबल आईएमई बैंक लिमिटेडले निवृत्तिभरण प्राप्त गर्ने अवकास प्राप्त कर्मचारीहरूलाई लक्षित गरी ग्लोबल समृद्ध अवकास मुद्दती खाता सञ्चालनमा ल्याएको छ । बैंकका अनुसार यो खाताअन्तर्गत आफ्ना ग्राहकहरूलाई निक्षेपमा उच्च प्रतिफल, कर्जामा विशेष सहुलियत र व्यक्ति विशेष सेवा उपलब्ध गराइनेछ ।

यो खाताले निवृत्तिभरण पाइरहनुभएका व्यक्तिहरूलाई पनि आफ्नो पेन्सन रकममध्य भविष्यमा आइपर्ने गर्जो टार्न अनिवार्यरूपमा बचत गर्दै जाने बानी बसाल्न प्रेरित गर्ने तथा स्वास्थ्योपचारलगायत अत्यावश्यक खर्च धान्न तत्काल सापटी, कर्जा सुविधाको व्यवस्था समेत गरेकोले सबैमा सहयोग पुग्ने विश्वास बैंकले लिएको छ ।

यो खातामा ग्राहकहरूले एक वर्षदेखि पाँच वर्षसम्मको भाखा राखी आफ्नो इच्छाअनुसार पेन्सन रकमको २५ देखि ५० प्रतिशतसम्म नियमित जम्मा गर्न सक्नेछन् भने पाकेको ब्याजलगायत थप रकमसमेत (म्याद पुग्न ३ महिना अगाडिसम्म) जम्मा गर्दै जान मिल्नेछ । यसरी थप गर्दै जाने रकममा समेत सुरूमा तोकेकै मुद्दती निक्षेपको ब्याज प्राप्त हुनेछ ।

ग्राहकहरूलाई कुनै पनि कारण रकम आवश्यक परेमा तत्काल मोबाइल बैंकिङमार्फत नै निक्षेप रकमको ९० प्रतिशतसम्म सापटी लिन सकिने तथा सापटीबाट अपुग भएमा १ वर्षसम्म जम्मा गर्न मन्जुर गरेको रकम (अधिकतम दुई लाखसम्म) सुलभ ब्याजदरमा कर्जा लिन सकिनेछ ।

साथै, निक्षेपकर्ता अशक्त भएमा इच्छाइएको व्यक्तिको अनुरोधबमोजिम समेत खाता सञ्चालन गर्नसक्ने र निक्षेपकर्ताको असामयिक निधन भएमा इच्छाइएको व्यक्तिलाई निक्षेपको म्याद बाँकी रहेको भए पनि तत्काल बाँकी रहेको सावा र ब्याज रकम भुक्तानी दिइनेछ । यसका साथै बैंकले यस योजनामा आबद्ध हुने ग्राहकहरूलाई निःशुल्क मोबाइल बैंकिङ, क्रेडिट कार्ड, डेबिट कार्ड र एक लाख रुपैयाँबराबरको दुर्घटना बीमा सुविधाहरू उपलब्ध गराउनेछ ।

बैंकले चालू आर्थिक वर्षको चैत्र मसान्तसम्ममा तीन अर्ब ५७ करोड ८२ लाख रुपैयाँ खुद मुनाफा कमाएको छ । यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ८७ करोड ५६ लाख रुपैयाँ अर्थात् ३२ दशमलव ४० प्रतिशत बढी हो ।

खुद मुनाफा बढेसँगै बैंकको प्रतिसेयर आम्दानीमा राम्रो सुधार भएको छ । गत आर्थिक वर्षको चैत्र मसान्तसम्ममा १८ रुपैयाँ ९९ पैसा रहेको बैंकको प्रतिसेयर आम्दानी, चालू आर्थिक वर्षको सोही अवधिसम्ममा बढेर २२ रुपैयाँ पाँच पैसा कायम भएको छ । यस अवधिसम्ममा बैंकको वितरणयोग्य मुनाफा दुई अर्ब ५६ करोड ४५ लाख रुपैयाँ रहेको छ ।

बैंकले आफ्नो व्यवसायमा गरेको वृद्धि, सञ्चालन खर्चहरूमा अपनाएको मितव्ययिता, डिजिटाइजेसनमा गरेको लगानी, वित्तीय साधन स्रोतको प्रभावकारी उपयोग तथा कर्जा असुलीमा प्राथमिकताजस्ता नीतिहरूको सफल कार्यान्वयनबाट उल्लिखित वित्तीय प्रगति गर्न सफल भएको छ ।

विगत नौ महिनामा बैंकको निक्षेप दुई खर्ब २६ अर्ब ६४ करोड रुपैयाँबाट बढेर दुई खर्ब ५८ अर्ब ३३ करोड रुपैयाँ पुगेको छ । त्यसैगरी, बैंकको खुद कर्जा लगानी एक खर्ब ९८ अर्ब रुपैयाँबाट बढेर दुई खर्ब ३३ अर्ब ११ करोड रुपैयाँ पुगेको छ ।

गत आर्थिक वर्षको आसार मसान्तमा एक दशमलव ७६ प्रतिशत रहेको निष्क्रिय कर्जा चैत्र मसान्तसम्म क्रमिकरूपमा सुधार भई एक दशमलव ६१ प्रतिशत रहेको छ । बैंकको आधार दर नौ दशमलव ४१ प्रतिशतबाट छ दशमलव ४० प्रतिशतमा र स्प्रेड दर पाँच दसलमलव १८ प्रतिशतबाट चार दशमलव १७ प्रतिशतमा झरेको छ ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया