Techie IT
×
गृहपृष्ठवित्त पूँजी बजारबैंक अफ काठमाण्डूले अप्पर इंगवा जलविद्युत् आयोजनामा एकल लगानी गर्ने

बैंक अफ काठमाण्डूले अप्पर इंगवा जलविद्युत् आयोजनामा एकल लगानी गर्ने


काठमाडौं ।
बैंक अफ काठमाण्डू लिमिटेडले अप्पर इंगवा जलविद्युत् आयोजनामा एकल लगानी गर्ने भएको छ । लगानीको लागि बैंक अफ काठमाण्डू र इंगवा जलविद्युत् लिमिटेडबीच अप्पर इंगवा जलविद्युत् आयोजनामा कर्जा प्रवाह गर्नेसम्बन्धी सम्झौता भएको छ ।

बैंकका अनुसार ९ दशमलव ७ मेगावाट उत्पादन क्षमता रहेका अप्पर इंगवा जलविद्युत् आयोजनाको अनुमानित खर्च एक अर्ब ९५ करोड रहेको छ । इंगवा जलविद्युत् लिमिटेडले ताप्लेजुङ र पाँचथर जिल्लाको याङ्बाराक र सिदिङ्बा गाउँपालिकामा उक्त जलविद्युत् आयोजनाको निर्माण कार्य गरिरहेको छ । उक्त आयोजनामा बैंक अफ काठमाण्डू लिमिटेडको एकल लगानी रहनेछ ।

आयोजनामा कुल लागतको ७५ प्रतिशत बैंक कर्जाबापतको लगानी रहनेछ भने बाँकी २५ प्रतिशत इंगवा जलविद्युत् लिमिटेडको लगानी रहनेछ । आयोजना पूरा भएपछि उत्पादित विद्युत् अमरपुर सबस्टेसनमा जोडिनेछ । सबस्टेसनसम्मको आवश्यक १६ किलोमिटर लामो ३३ केभी प्रसारण लाइन कम्पनी आफैँले निर्माण गर्नेछ । साथै यस कर्जा लगानीपश्चात् यस जलविद्युत् आयोजना निर्माणमा सहयोग पुग्ने र समयसीमामा नै आयोजनाको निर्माणकार्य सम्पन्न हुने विश्वास बैंकले लिएको छ ।

बैंकले हाल ९० शाखा कार्यालयहरू, ७८ एटीएम र १० एक्स्टेन्सन काउन्टरबाट आफ्ना ग्राहकहरूलाई उत्कृष्ट बैंकिङ सुविधा प्रदान गर्दै आइरहेको छ । साथै, बैंकले नेपालको ऊर्जा क्षेत्रहरू (सौर्य तथा जलविद्युत्)को विकासको लागि बैंकिङ क्षेत्रबाट लगानी गर्ने पहिलो बैंक रहेको तथा अग्रणी स्थानमा रही यस बैंकले विभिन्न ३७ वटा परियोजनामा लगानी गरिसकेको छ । बैंकले चालू आर्थिक वर्षको तेस्रो त्रैमासिक अवधिमा एक अर्ब १६ करोड ९३ लाख ४२ हजार रुपैयाँ खुुद मुनाफा कमाएको छ । गत आवको सोही अवधिमा बैंकको यस्तो नाफा ८७ करोड ३४ लाख ९३ हजार रुपैयाँ रहेको थियो ।

चुक्ता पुँजी नौ अर्ब ६५ करोड ८१ लाख ७६ हजार रुपैयाँ रहेको बैंकले चालू आवको तेस्रो त्रैमासिक अवधिमा ९६ अर्ब ४७ करोड ५९ लाख ३० हजार रुपैयाँ निक्षेप संकलन गरी ९२ अर्ब ७७ करोड ९२ लाख ७० हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा दुई अर्ब ३५ करोड ५८ लाख ९५ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको बैकमा एक दशमलव एक प्रतिशत कर्जा निष्क्रिय रहेको छ । सो अवधिमा तीन दशमलव २६ प्रतिशत स्प्रेड दर रहेको बैंकको वितरणयोग्य नाफा भने ८५ करोड ६९ लाख ६४ हजार रुपैयाँ रहेको छ ।

गत आवको सोही अवधिमा भने बैंकले ९२ अर्ब १० करोड ३२ लाख ९९ हजार रुपैयाँ निक्षेप संकलन गरी ७५ अर्ब ८८ करोड १६ लाख आठ हजार रुपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा दुई अर्ब ८७ करोड ८७ लाख ८० हजार तीन सय ५३ रुपैयाँ खुद ब्याज आम्दानी गरेको बैंकमा एक दशमलव ५३ प्रतिशत कर्जा निष्क्रिय रहेको थियो भने स्प्रेड दर चार दशमलव ८० प्रतिशत रहेको थियो । 


क्याटेगोरी : वित्त पूँजी बजार

तपाईको प्रतिक्रिया