Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारएनएमबी लघुवित्तले सुरु ग-यो ‘क्रेडिट एक्स’ नामक ऋण अटोमेसन प्रणाली

एनएमबी लघुवित्तले सुरु ग-यो ‘क्रेडिट एक्स’ नामक ऋण अटोमेसन प्रणाली


काठमाडौं ।
एनएमबी लघुवित्त वित्तीय संस्था लिमिटेडले एसबी सोलुसन्स प्रालिसँग सहकार्य गरेर क्रेडिट एक्स नामक ऋण अटोमेसन प्रणालीलाई लाइभ गरेको छ । यसले इन्टर्नल ऋण वर्क फ्लो जोखिम मूल्यांकन, ऋण स्वीकृतिलाई स्वायत्त र डिजिटाइज गर्ने गर्दछ । एनएमबी लघुवित्त वित्तीय संस्था लिमिटेडका प्रमुख कार्यकारी अधिकृत आनन्द पान्डे र एसबी सोलुसन्सका अध्यक्ष विपुल ढकालले आ–आफ्नो संस्थाको तर्फबाट सम्झौतामा हस्ताक्षर गरेका छन् ।

क्रेडिट–एक्स (ऋण अटोमेसन प्रणाली)को थालनी सँगै, लघुवित्त संस्थाहरूले पूर्णरूपमा कागज निर्भर ऋण कार्य प्रवाह गर्न सक्षम हुनेछन् । यसले प्रणालीभित्र जोखिम प्यारामिटरहरूको अनुगमन गरेर ऋण लिएका ग्राहकहरूसँग सम्बन्धित जोखिम न्यूनीकरण गर्नलाई पनि सहयोग पु-याउनेछ । यो नयाँ तरिकाले लघुवित्त संस्थालाई ध्रुत गतिमा ऋण प्रक्रिया पूरा गर्न मदत गर्दछ । प्रणालीले जमानत र गैर जमानत बेस लोन पनि प्रोसेस गर्ने गर्दछ ।

ऋण स्वचालन प्रणाली अन्तर्राष्ट्रिय मापदण्डअन्तर्गत रहेको रेटिङको दृष्टिकोणमा निर्माण गरिएको छ । यो स्वायत्त सिस्टम, प्रणालीले सञ्चालित ग्राहकको उद्देश्य मूल्यांकनका साथसाथै विषयगत प्यारामिटरहरूको मानकीकरणको रूपमा पनि रहेको छ । यस नयाँ प्रणाली कार्यान्वयन भए साथै, लघुवित्त संस्थाहरूका उपभोक्ताहरूले प्रशोधन र ऋण स्वीकृति प्रक्रियाको टर्न अराउन्ड समयमा ५० प्रतिशतभन्दा बढी कटौतीको अनुमानित लाभ लिन पाउनेछन् ।

एनएमबी लघुवित्त वित्तीय संस्था, राष्ट्र बैंकबाट ‘घ’ वर्गको इजाजत प्राप्त संस्था हो । यस संस्थाले एक मजबुत र भरपर्दो लघुवित्त संस्थाको रूपमा स्थापित गर्ने प्रतिबद्धता लिएको छ । एनएमबी लघुवित्त वित्तीय संस्थाको लगभग दुुई लाखभन्दा बढी ग्राहक रहेका छन् र देशभरि एक सय १० भन्दा बढी शाखाहरू रहेका छन् ।

एसबी सोलुसन्सले बैंक तथा वित्तीय संस्थाहरूमा कर्जा प्रक्रियालाई अटोमेसन तथा डिजिटाइजेसन गर्न क्रेडिट– एक्स नामक सफ्टवेयर जडान तथा इम्पिलिमेन्टेसन गर्दै आइरहेको छ । साथै एसबी सोलुसन्स प्रालिले डिजी हबसँगको सहकार्यमा पेमेन्ट अटोमेसन, एपीआई सर्भिसेस अटोमेसन तथा डिजिटाइजेसनको कामहरू पनि गर्दै आइरहेको छ । संस्थाले चालू आर्थिक वर्षको तेस्रो त्रैमासिक अवधिमा १२ करोड ६५ लाख ९७ हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । गत आवको सोही अवधिमा संस्थाको यस्तो नाफा चार करोड ५९ लाख ७४ हजार रुपैयाँ रहेको थियो ।

हाल चुक्ता पुँजी ५३ करोड ९८ लाख पाँच हजार रुपैयाँ रहेको संस्थाले चालू आवको तेस्रो त्रैमासिक अवधिमा एक अर्ब ७८ करोड ८४ लाख ५१ हजार रुपैयाँ निक्षेप संकलन गरी पाँच अर्ब २५ करोड नौ लाख ४९ हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा ३३ करोड ९९ लाख १७ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको संस्थाको प्रोभिजन रकम छ करोड चार लाख ९५ हजार रुपैयाँ रहेको छ । सो अवधिमा संस्थामा तीन दशमलव ४७ प्रतिशत कर्जा निष्क्रिय रहेको छ ।

गत आवको सोही अवधिमा भने संस्थाले एक अर्ब ४० करोड २६ लाख नौ हजार रुपैयाँ निक्षेप संकलन गरी तीन अर्ब ५५ करोड चार लाख ६३ हजार रुपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा १७ करोड ६८ लाख ३७ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको संस्थाको प्रोभिजन रकम छ करोड ९७ लाख १९ हजार रुपैयाँ रहेको थियो भने निष्क्रिय कर्जाको अनुपात तीन दशमलव ४६ प्रतिशत रहेको थियो । 


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया