Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारगभर्नर अधिकारीद्वारा बीआईएसको ९१औँ वार्षिक बैठकमा सहभागिता

गभर्नर अधिकारीद्वारा बीआईएसको ९१औँ वार्षिक बैठकमा सहभागिता


काठमाडौं ।
नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी बैंक फर इन्टरनेशनल सेटलमेन्ट (बीआईएस)को ९१औँ वार्षिक बैठकमा सहभागी भएका छन् । राष्ट्र बैंकका अनुसार २०७८ असार १४ र १५ गते भर्चुअल माध्यममा आयोजित बैठकमा गभर्नर अधिकारीले सहभागिता जनाएका हुन् ।

बैठकको पहिलो दिन बैंक अफ इंग्ल्यान्ड तथा बैंक अफ क्यानडाका पूर्वगभर्नर मार्क क्यार्नीले द आर्ट अफ सेन्ट्रल बैंकिङको विषयमा आफ्नो मन्तव्य राखेका थिए । त्यस क्रममा उनले केन्द्रीय बैंकको विगत र वर्तमानको तुलनात्मक भूमिका, बदलिँदो विश्व वित्तीय प्रणालीमा देखिएका नवीनम चुनौतीलाई सम्बोधन गर्दै मौद्रिक तथा वित्तीय स्थायित्वका निम्ति केन्द्रीय बैंकले अवलम्बन गर्नुपर्ने रणनीतिक व्यवस्थाबारे धारणा राखे ।

प्रविधिमा आएको परिवर्तनसँगै डिजिटल मुद्राको प्रयोग बढ्दै गएको सन्दर्भमा सेन्ट्रल बैंक डिजिटल करेन्सीको अवधारणाका विषयमा समेत क्यार्नीले आफ्नो मन्तव्य केन्द्रित गरेका थिए । उनको प्रस्तुतिमाथि सहभागीहरूबीच समूहगत छलफल भएको थियो ।

बैठकको दोस्रो दिन मंगलबार बीआईएसका महाप्रबन्धक अगस्टिन कार्सटेन्सले आफ्नो मन्तव्य राख्दै संस्थाको वार्षिक आर्थिक प्रतिवेदनका मुख्य झलकहरू प्रस्तुत गरेका थिए । सो अवसरमा उनले कोभिड–१९ का कारण शिथिल बनेको अर्थतन्त्रको दीर्घकालीन स्थिरताको निम्ति नीतिगत आधारशीला तयार गरिनुपर्ने आवश्यकता औँल्याए । त्यसको लागि संरचनागत सुधार, नवप्रवर्तनात्मक प्रविधिको विकास र विश्वव्यापी नीतिगत सहकार्य एवं समन्वय हुनुपर्ने आवश्यकतामा महाप्रबन्धक कार्सटेन्सको जोड थियो ।

मंगलबार सार्वजनिक बीआईएसको आर्थिक प्रतिवेदनले कोभिड महामारीका कारण आयस्तर र स्रोतको पहुँचमाथि तीव्ररूपमा असमानता बढेको उल्लेख गर्दै मौद्रिक तथा वित्तीय नीतिमार्फत त्यसलाई न्यूनीकरण गरी समष्टिगत आर्थिक स्थायित्वतर्पm उन्मुख हुनुपर्ने आवश्यकता औँल्याइएको छ ।

बैठकका दौरान सबल वित्तीय प्रणालीका निम्ति बीआईएसबाट भएका नवीनतम र नवप्रवर्तनात्मक प्रयासबारे प्रस्तुति दिइएको थियो । उक्त प्रस्तुतिमाथि बैठकका सहभागीहरूबीच छलफल भएको थियो । बैठकमा बीआईएसको सदस्य बैंकसँगै अन्य केन्द्रीय बैंकका गभर्नर र उच्च अधिकारीहरूको सहभागिता थियो । उक्त बैठकमा बैंक सुपरिवेक्षण विभागका कार्यकारी निर्देशक डा. गुणाकर भट्टसमेत सहभागी हुनुभएको थियो ।

बीआईएस एक अन्तर्राष्ट्रिय वित्तीय संस्था हो, जसले विश्वभरका केन्द्रीय बैंकबीचको समन्वयर नीतिगत प्रयासबाट मौद्रिक तथा वित्तीय स्थायित्व प्रवद्र्धनको निम्ति आवश्यक भूमिका निर्वाह गर्दछ । सन् १९३० मा स्थापना भएको बीआईएससमा हाल ६३ वटा केन्द्रीय बैंकहरू सदस्य छन् । यसको मुख्यालय स्विट्जरल्याण्डको बाजलमा रहेको छ ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया