Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारयुवा बैंकर प्रवेश रिजालले पाए प्रतिष्ठित जीसीआईएफ पुरस्कार

युवा बैंकर प्रवेश रिजालले पाए प्रतिष्ठित जीसीआईएफ पुरस्कार


काठमाडौं ।
हाल अमेरिकामा कार्यरत एक युवा बैंकर प्रवेश रिजालले संयुक्त राज्य अमेरिकाको प्रतिष्ठित ‘ग्लोबल कन्फरेन्स अन इन्स्योरेन्स एण्ड फाइनान्स’ (जीसीआईएफ) पुरस्कार प्राप्त गरेका छन् ।

मंगलबार संयुक्त राज्य अमेरिकाको लास भेगास शहरमा आयोजित एक भव्य समारोहमा उनलाई उक्त पुरस्कार प्रदान गरिएको थियो । जीसीआइएफले अमेरिकामा बीमा तथा वित्त क्षेत्रमा उल्लेख्य योगदान गरेका व्यक्तिहरूलाई सो पुरष्कार प्रदान गर्ने गरेको छ । ‘हामीले पुरष्कारको लागि छनोट गर्दा बीमा तथा वित्त क्षेत्रमा कुनै व्यक्ति वा कम्पनीले पारेको प्रभाव, नवप्रवर्तन, भविष्यको तयारी तथा बजारमा मागजस्ता मापदण्डको आधारमा मूल्यांकन गर्छौँ । युवा बैंंकर, प्रवेश रिजाल ती सबै मापदण्डहरूमा उत्कृष्ट ठहरिएकाले यो वर्ष उनलाई यो पुरष्कारका लागि छनोट गरिएको हो,’ जीसीआईएफले भनेको छ ।

अमेरिकाका सबैभन्दा ठूला बैंकहरूमध्ये एक, सिटी ग्रुपमा वरिष्ठ उपाध्यक्षको रूपमा काम गरिसकेका प्रवेश अहिले नयाँ पुस्ताको एउटा बैंक क्रस रिभर, मा क्वान्टिटेटिभ स्ट्राटेजिज विभागको प्रमुखको रूपमा काम गरिरहेका छन् । ‘मेरो विभागको मुख्य काम भनेको वित्तीय प्रविधिसम्बन्धी (फिनटेक) कम्पनीहरूलाई पुँजी बजारसँग जोड्न मदत गर्नु हो’ रिजालले भने । ‘हामीले गणित र वित्तको माध्यमबाट पुँजी बजारको अनुमान गर्छौँं र बैंकको पुँजीलाई कसरी लगानी गर्ने भन्ने निधो गर्छौँ । हामीले प्रत्येक वर्ष वैकल्पिक कर्जा प्ल्याटफर्महरूबाट अर्बौँ डलर खरिद गरी हेज फन्ड, ठूला लगानी बैंकहरू र अन्य बैंकहरूलाई बिक्री गर्न सघाउँछौँ ।’

एउटा नेपाली बैंकको सल्लाहकारको रूपमा पनि काम गरिसकेका प्रवेशले विश्व पुँजी बजारमा नेपाली कर्जाको व्यापार गर्ने दिन छिट्टै आओस् भन्ने आफूले चाहेको बताए । उनी अहिले नाइजेरियाको क्रेडिट डेटा मार्केट प्लेसको सञ्चालक समिति सदस्यको रूपमा पनि काम गरिरहेका छन् ।
बैंकहरूको सामाजिक दायित्व

गत वर्ष कोभिड १९ ले नेपालको अर्थतन्त्रमा पुराएको असर न्यूनीकरण गर्न प्रवेशले नेपाली बैंकहरूलाई सामाजिक दायित्वअन्तर्गत अर्थतन्त्रलाई चलायमान गराउन भूमिका निर्वाह गर्न आग्रह गरेका थिए । तर अहिले त्यतिले मात्रै नपुग्ने उनको आकलन छ ।

‘नेपालका बैंकहरूमा कर्जा जोखिम तुलनात्मकरूपमा नियन्त्रित रहँदै आएको छ । यसको अलिअलि वृद्धिले खासै असर पर्दैन, तर राष्ट्र बैंकको ध्यान उत्पादनका साधनहरू कसरी बढाउनेतर्फ हुनुपर्छ । मुख्य कुरा विश्व बजारमा हामीले कसरी आफ्नो उपस्थिति देखाउन सक्छौँ भन्ने नै हो । अर्थतन्त्रको पुनर्निर्माणका लागि काम गर्दा त्यो नै निर्देशक प्रश्न हुनुपर्छजस्तो मलाई लाग्छ’ उनले भने । विराटनगरमा जन्मिएका प्रवेशले न्यूयोर्क विश्वविद्यालयबाट वित्तीय इञ्जिनियरिङ विषयमा स्नातकोत्तर गरेका छन् । (आर्थिक दैनिकबाट)


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया