Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारराष्ट्रिय वाणिज्य बैंक र नेपाल प्रहरीबीच सम्झौता

राष्ट्रिय वाणिज्य बैंक र नेपाल प्रहरीबीच सम्झौता


काठमाडौं ।
राष्ट्रिय वाणिज्य बैंक लिमिटेड र नेपाल प्रहरीबीच सम्झौता भएको छ । बैंकका अनुसार नेपाल प्रहरीको तलबी बचत खाता सञ्चालन तथा विना धितो पेसाकर्मी सरल कर्जासम्बन्धी सम्झौतामा बुुधबार हस्ताक्षर भएको हो ।

प्रहरी प्रधान कार्यालय मानवस्रोत एवं प्रशासन विभागका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक निरजबहादुर शाही र राष्ट्रिय वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले प्रहरी प्रधान कार्यालय नक्सालमा आयोजित एक कार्यक्रमबीच उक्त समझदारीपत्रमा हस्ताक्षर गरी एकआपसमा आदानप्रदान गरेका थिए । २०७३ असार १६ गतेको समझदारीलाई निरन्तरता दिई नेपाल प्रहरीको तलबी बचत खाता आगामी पाँच वर्षका लागि थप सेवासहित नवीकरण गर्ने तथा विना धितो पेसाकर्मी सरल कर्जा उपलब्ध गराउने गरी उक्त समझदारीपत्रमा हस्ताक्षर भएको हो ।

साथै कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत श्रेष्ठले कोभिड–१९ को विषम परिस्थितिमा प्रहरी कर्मचारीहरूको स्वास्थ्य हितका लागि १० हजार थान सर्जिकल मास्क र स्यानिटाइजर प्रहरी अतिरिक्त महानिरीक्षक निरज बहादुर शाहीलाई हस्तान्तरण गरेका थिए ।

उक्त कार्यक्रममा प्रहरी प्रधान कार्यालय आर्थिक प्रशासन तथा प्रबन्ध निर्देशनालय प्रमुख प्रहरी नायब महानिरीक्षक प्रकाश अधिकारी, प्रहरी वरिष्ठ उपरीक्षक दिपक थापा, राष्ट्रिय वाणिज्य बैंकका नायब प्रमुख कार्यकारी अधिकृत कविराज अधिकारी र ब्रान्च अपरेसन विभागीय प्रमुख सरोज बस्नेतलगायतको उपस्थिति रहेको थियो । बैंकले चालू आर्थिक वर्षको तेस्रो त्रैमासिक अवधिमा तीन अर्ब २७ करोड ८५ हजार सात सय १० रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । गत आवको सोही अवधिमा बैंकको यस्तो नाफा तीन अर्ब तीन करोड ६२ लाख ९३ हजार एक सय ४७ रुपैयाँ रहेको थियो ।

हाल चुक्ता पुँजी नौ अर्ब १८ करोड ४८ लाख ९१ हजार छ सय १४ रुपैयाँ रहेको बैंकले चालू आवको तेस्रो त्रैमासिक अवधिमा दुई खर्ब ४० अर्ब ७२ करोड ५४ लाख ९५ हजार नौ सय ९७ रुपैयाँ निक्षेप संकलन गरी एक खर्ब ६७ अर्ब ५१ करोड ८२ लाख ५६ हजार पाँच सय ९४ रुपैयाँ कर्जा प्रवाह गरेको छ ।

सो अवधिमा छ अर्ब ३४ करोड ५९ लाख २४ हजार पाँच सय ५९ रुपैयाँ खुद ब्याज आम्दानी गरेको बैंकमा तीन दशमलव ६२ प्रतिशत कर्जा निष्क्रिय रहेको छ । सो अवधिमा चार दशमलव ४० प्रतिशतको स्प्रेडदर रहेको बैंकको वितरणयोग्य नाफा भने तीन अर्ब चार करोड ३५ लाख ५२ हजार सात सय १८ रुपैयाँ रहेको छ ।

गत आवको सोही अवधिमा भने बैंकले दुई खर्ब ३० अर्ब ९० करोड २६ लाख ३६ हजार आठ सय ८४ रुपैयाँ निक्षेप संकलन गरी एक खर्ब ५० अर्ब ७९ करोड ७८ लाख ४६ हजार सात सय २५ रुपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा छ अर्ब ९७ करोड २१ लाख ८१ हजार तीन सय ७७ रुपैयाँ खुद ब्याज आम्दानी गरेको बैंकमा चार दशमलव ६४ प्रतिशत कर्जा निष्क्रिय रहेको थियो भने स्प्रेडदर चार दशमलव ७० प्रतिशत रहेको थियो ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया