Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारमेगा बैंकले ल्यायो अस्पतालको बिल तिर्न ‘मेगा मेडि कार्ड’ सुविधा

मेगा बैंकले ल्यायो अस्पतालको बिल तिर्न ‘मेगा मेडि कार्ड’ सुविधा


काठमाडौं ।
मेगा बैंक नेपाल लिमिटेडले आफ्ना ग्राहकहरुलाई अस्पतालमा उपचार गर्नका लागि आवश्यक रकम उपलब्ध गराउने उद्देश्यले ‘मेगा मेडि कार्ड’ नामक आकर्षक सुविधा ल्याएको छ ।

ग्राहकहरु बिरामी हुँदा तत्कालै रकम जुटाउन गाह्रो तथा अप्ठ्यारो पर्नसक्ने अवस्थालाई मध्यनजर गर्दै ल्याइएको यो सुविधामार्फत मेगा बैंक नेपाल लिमिटेडका क्रेडिट कार्ड सुविधा उपभोग गरिरहेका ग्राहकहरुले न्यूनतम २० हजारदेखि एक लाख ५० हजार रुपैयाँसम्म क्रेडिट कार्ड (इन्स्टा–बाई) सुविधा १८ महिनासम्मको लागि उपभोग गर्न पाइने हुँदा यस व्यवस्थाले ग्राहकहरुलाई उपचारका लागि तत्कालै रकमको जोहो गर्न सहज हुने विश्वास बैंकले लिएको छ ।

बैंकले ग्राहकहरुले आवश्यक कागजपत्र पेश गरेको २ दिनमा नै ग्राहकहरुलाई यस सुविधा उपलब्ध गराउने व्यवस्था मिलाएको जनाएको छ । बैंकका डिजिटल तथा इ–बैंकिङ्ग विभाग प्रमुख विश्व सिंहका अनुसार यो सुविधाका लागि प्रक्रियागत शुल्क निःशुल्क गरिएको छ भने क्रेडिट कार्डबापत लाग्ने शुल्कमा ५० प्रतिशत छुटको व्यवस्था गरिएको छ ।

यसका साथै, बैंकले बैंकबाट क्रेडिट कार्ड सुविधा प्रयोग गरिरहेका ग्राहकहरुले हेल्थ प्याकेज लिन चाहेमा त्यसको भुक्तानी गर्ने सुविधा समेत ल्याएको छ । अस्पतालको बिल भुक्तानीका लागि बिरामीको परिवारलाई समेत नाता प्रमाणित प्रमाणपत्रका आधारमा रकम उपलब्ध गराइने भएकाले यो सुविधा निकै सहज र प्रभावकारी हुने मेगा बैंकले जनाएको छ । यसअन्तर्गत अस्पतालको बिल सोझै बैंकसमक्ष पेश गरी क्रेडिट कार्डमार्फत अस्पताललाई भुक्तानी गर्न सकिनेछ भने ग्राहकहरुले आफूले भुक्तानी गरिसकेको बिलको शोधभर्ना समेत लिन सकिनेछ ।

बैंकको देशभरका शाखा कार्यालयहरुबाट उपलब्ध यस सुविधाबारे विस्तृत विवरणका लागि आफूलाई पायक पर्ने शाखा कार्यालयहरुमा सम्पर्क राख्न मेगा बैंकले अनुरोध गरेको छ । बैंकले चालू आर्थिक वर्षको तेस्रो त्रैमासिक अवधिमा एक अर्ब ९७ करोड २७ लाख ५५ हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । गत आवको सोही अवधिमा बैंकको यस्तो नाफा एक अर्ब ४५ करोड १० लाख ९० हजार रुपैयाँ रहेको थियो ।

हाल चुक्ता पुँजी १४ अर्ब ६५ करोड ४९ लाख ६४ हजार रुपैयाँ रहेको बैंकले चालू आवको तेस्रो त्रैमासिक अवधिमा एक खर्ब ३३ अर्ब ३५ करोड २२ लाख ९० हजार रुपैयाँ निक्षेप संकलन गरी एक खर्ब ४८ अर्ब ७४ करोड ७३ लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा एक अर्ब ९७ करोड २७ लाख ५५ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको बैंकमा एक दशमलव ३१ प्रतिशत कर्जा निष्क्रिय रहेको छ । सो अवधिमा तीन दशमलव ६२ प्रतिशत स्प्रेडदर रहेको बैंकको वितरणयोग्य नाफा भने एक अर्ब २९ करोड ७७ लाख ३० हजार रुपैयाँ रहेको छ ।

गत आवको सोही अवधिमा भने बैंकले एक खर्ब २७ अर्ब ८९ करोड ४६ लाख रुपैयाँ निक्षेप संकलन गरी एक खर्ब ५४ अर्ब ६६ करोड ८९ लाख ४७ हजार रुपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा तीन अर्ब १८ करोड ३३ लाख ८८ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको बैंकमा एक दशमलव ३२ प्रतिशत कर्जा निष्क्रिय रहेको थियो भने स्प्रेडदर पाँच दशमलव २२ प्रतिशत रहेको थियो ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया