Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारराष्ट्रिय वाणिज्य बैंकको ५५ वर्ष पूरा

राष्ट्रिय वाणिज्य बैंकको ५५ वर्ष पूरा


काठमाडौं, माघ १२
राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको ५५औं वार्षिकोत्सव समारोह सम्पन्न भएको छ । बैंकले अर्थमन्त्री डा. युवराज खतिवडाको प्रमुख आथित्यतामा शुक्रबार वार्षिक समारोह सम्पन्न गरेको हो । समारोहमा अर्थमन्त्री डा. युवराज खतिवडाले सरकारी स्तरको रुपमा राष्ट्रिय वाणिज्य बैंक रहने बताए । उनले राष्ट्रिय वाणिज्य बैंकले प्रगति गरिरहेको र अझै प्रतिस्पर्धी बन्नुपर्ने बताए । समारोहमा नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणि शिवाकोटीले नेपालको आर्थिक विकासमा रा.वा. बैंकले खेलेको भुमिकाको सराहना गर्दै यो बैंक नेपालका अन्य वाणिज्य बैंकहरुको तुलनामा अग्रणी रहेको बताए । बैंकका सञ्चालक समितिका अध्यक्ष निर्मलहरि अधिकारीले बैंकको समग्र स्थितिमा सुधारको लागि चालिएको कदमले बैंकका वित्तीय अवस्था, कार्यपद्धति र सेवाको गुणस्तरमा सुधार भएको बताए ।

बैंकका प्रमुख कार्यकारी अधिकृत किरण कुमार श्रेष्ठले बैंकको वर्तमान स्थिति र समग्र योजनाबारे जानकारी गराए । उनले २०७६ पुस मसान्तसम्म बैंकले एक खर्ब ९७ अर्ब रुपैंया निक्षेप संकलन गरी एक खर्ब ५२ अर्ब रुपैंया कर्जा लगानी गरेको बताए । बैैकले यस अवधिमा खुद मुनाफा दुई अर्ब पाँच करोड रुपैंया गरेको प्रमुख कार्यकारी अधिकृत श्रेष्ठले बताए । उनले भने, ‘आर्थिक वर्ष २०७६/०७७ लाई क्लिन एण्ड स्मार्ट आरबीबी भन्ने अभियान सञ्चालन गरी फिजिकल र फाइनान्सीयल स्मार्टनेसको लक्ष्य सहित विभिन्न प्रकारका कामहरु गरिरहेका छौँ । यस सिलसिलामा लामो समयदेखि नधुल्याइएका पुराना कागजपत्रहरु धुल्याउने काम सम्पन्न गरेका छौँ । पुराना फर्निचरहरु, गाडी तथा सरसामानहरु लिलाम बिक्री गरिसकेका छौँ ।’ लामो समयदेखि अनरिकन्सिलाइड तथा पेन्डिङमा रहेका हिसाब मिलान कार्यलाई कार्यदल बनाएर राफसाफ गर्ने गरी काम अगाडि बढाएको समेत उनले बताए । कार्यक्रममा बैंकमा क्रियाशील तीनवटै ट्रेड युनियनका अध्यक्षहरुले शुभकामना व्यक्त गरेका थिए ।

५५ वर्षअघि २०२२ माघ १० गते मुलुकको आर्थिक क्षेत्रकोे विकासमा टेवा पु-याउने उद्देश्यका साथ बैंकको स्थापना भएको थियो । हाल देशको सातैवटा प्रदेशमा ७७ वटै जिल्लामा पुग्ने पहिलो वाणिज्य बैंक समेत बनेको छ । हाल देशभर बैंकका दुई सय ३८ वटा शाखा कार्यालय, २०५ वटा एटीएम, २८ स्थानमा एक्सटेन्सन काउण्टर, ९३ स्थानमा शाखारहित बैंकिङ सेवा सञ्चालनमा रहेका छन्् । कार्यक्रममा बैंकको ५५औँ वार्षिकोत्सवको अवसरमा प्रकाशन गरिएको विशेषांक उपहार २०७६ बीमोचन गरिएको थियो । कार्यक्रममा बैंकको सर्वोत्कृष्ट/उत्कृष्ट कार्यसम्पादन गर्ने शाखा कार्यालयहरुको नाम घोषणा, सर्वोत्कृष्ट/उत्कृष्ट कार्यसम्पादन गर्ने कर्मचारी घोषणा, कर्मचारी सम्मान कार्यक्रम, बैंकका २० वर्ष सेवा पूरा गरेका कर्मचारीहरुलाई दीर्घसेवा पदक प्रदान गरिएको थियो ।

कार्यक्रममा ५५औँ वार्षिकोत्सवको अवसरमा रक्तदान, प्रभातफेरी, विभिन्न खेलकुद कार्यक्रमहरु केन्द्रीय कार्यालय, प्रादेशिक कार्यालयहरु तथा शाखा शाखा कार्यालयहरुमा सञ्चालन भएका थिए । कार्यक्रममा सेयरधनीहरु, नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशकहरु, बैंक सञ्चालक समितिका सदस्यहरु, नेपाल बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर अधकारी, कर्मचारी सञ्चय कोषका कोष प्रशासक तुलसी गौतम, नागरिक लगानी कोषका कार्यकारी निर्देशक रमण नेपाल, रावा बैंकका नायव प्रमुख कार्यकारी अधिकृतद्वय कविराज अधिकारी र केशवप्रसाद लम्साल, उपकार्यकारी अधिकृतहरु टेकराज जोशी र महेन्द्रप्रसाद अवस्थी, सरस्वती अधिकारी, देवेशप्रसाद लोहनी, देवेन्द्ररमण खनाल, विभागीय प्रमुखहरु, शाखा प्रबन्धकहरुलगायत कर्मचारीहरुको भव्य उपस्थिति रहेको थियो ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया