Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारकम पुँजी भएका लगानीकर्ताको लागि म्युचुअल फन्ड प्रभावकारी, दोस्रो बजारमा २९ अर्ब लगानी

कम पुँजी भएका लगानीकर्ताको लागि म्युचुअल फन्ड प्रभावकारी, दोस्रो बजारमा २९ अर्ब लगानी


काठमाडौँ । कम पुँजी भएकाहरूका लागि सामूहिक लगानी कोष योजना (म्युचुअल फन्डमा) लगानी गर्नु प्रभावकारी हुने सरोकारवालाहरूले बताएका छन् । शुक्रवार मर्चेन्ट बैंकर एसोसिएसन अफ नेपालको सहयोग र नेपाल आर्थिक पत्रकार संघ (नाफिज)को आयोजनामा भएको म्युचुअल फन्डको बारेमा बुझौँ र बुझाऔँ विषयक भर्चुअल प्रशिक्षण कार्यक्रमका वक्ताहरूले सो कुरा बताएका हुन । कार्यक्रममा बोल्दै मर्चेन्ट बैंकर एसोसिएसनका महासचिव तथा ग्लोबल आईएमई क्यापिटलका प्रमुख कार्यकारी अधिकृत पारसमणि ढकालले कम पुँजी भएका र दोस्रो बजारमा जोखिम लिन नसक्ने लगानीकर्ताहरूका लागि म्यचुअल फन्डमा लगानी प्रभावकारी हुने बताएका हुन् । कम पुँजी भएका, बजारमा लगानी गर्ने सम्बन्धमा ज्ञान नभएका र जोखिम लिन नचाहने लगानीकर्ताहरूका लागि म्युचुअल फन्डको लगानी सुरक्षित हुने विश्वास ढकालको छ ।

धितोपत्र दोस्रो बजारको लगानी पैसा तिरेर जोखिम किनेको सहर भएकाले बुझेर मात्र यो व्यापारमा लाग्नेले नाफा कमाउने तर्क उनको छ । सूचनाको व्यापारको रूपमा पनि धितोपत्र दोस्रो बजारमा लगानी गर्ने प्रवृत्ति बढ्दै गएकाले सही सूचना आजको आवश्यकता रहेको समेत ढकालको भनाइ छ । दोस्रो बजारको जोखिम न्यूनीकरणका लागि एउटै क्षेत्रमा नभएर विभिन्न क्षेत्रमा लगानी गर्न समेत उनले सुझाव दिएका छन् । नेपाल धितोपत्र बोर्डका कार्यकारी निर्देशक निरज गिरीले पनि म्युचुअल फन्डमा गरेको लगानीमा जोखिम कम हुने कुरालाई नै दोहो¥याएका छन् । योजना व्यवस्थापकले नै लगानीकर्ताहरूको सम्पत्तिको जिम्मा लिएर त्यसको प्रभावकारी व्यवस्थापन गर्ने हुनाले यसमा जोखिम कम हुने धारणा गिरीको छ । हाल नियामक निकायबाट १७ वटा योजना व्यवस्थापकहरूलाई म्युचुअल फन्ड सञ्चालनका लागि अनुमति दिएको बताउँदै उनले दोस्रो बजारमा २५ वटा बन्दमुखी योजनाहरूको २९ अर्ब बराबरको पुँजी परिचालन रहेको जानकारी दिए । यीबाहेक चारवटा खुलामुखी योजनाहरू सञ्चालनमा रहेको समेत उनले बताए । म्युचुअल फन्डले धितोपत्र बजारमा आकार लिईसकेको अवस्थामा यसलाई अझ अघि बढाउन आवश्यक रहेको समेत गिरीको भनाइ छ । म्युचुअल फन्डले दोस्रो बजारको माग र आपूर्ति सन्तुलनका लागि काम गर्नुपर्ने माग आइरहेको अवस्थामा उनले म्युचुअल फन्ड पनि अन्य लगानीकर्तासरह भएको प्रस्ट पारे । म्युचुअल फन्डहरूले साना–साना लगानीकर्ताहरूको पुँजीको जिम्मा लिई थोरै भए पनि प्रतिफल वितरण गर्नुपर्ने भएकाले ऊ त झनै चनाखो भएर लगानीगर्नुपर्ने भनाइ गिरीको छ ।

सञ्चारकर्मीहरूको माध्यमबाट आम लगानीकर्ताहरूलाई सहज तरिकाले म्युचुअल फन्डको बारेमा सूचना सम्प्रेषण गर्ने उद्देश्यसहित आयोजना गरिएको उक्त कार्यक्रममा म्युचुअल फन्डका विविध विषयमाथि प्रस्ट पार्दै एनआईबीएल एस क्यापिटलका सहायक महाप्रबन्धक सचिन्द्र ढुंगानाले कार्यपत्र प्रस्तुत गरेका थिए । उनले अन्तर्राष्ट्रिय बजारमा खुलामुखी योजनाहरू नै म्युचुअल फन्डका रूपमा परिचित भएकाले नेपालमा पनि खुलामुखी योजनाकै भविष्य राम्रो रहेको समेत बताए ।

मर्चेन्ट बैंकर एसोसिएसनका अध्यक्ष मेखबहादुर थापाले पछिल्लो समय संस्थागत लगानीकर्ताहरूसँगै अन्य व्यक्तिगत लगानीकर्ताहरूमा पनि म्युचुअल फन्डप्रति आकर्षण बढ्दै गएकाले आगामी दिनमा यस्ता योजनाहरू बढाएर लैजानुपर्ने आवश्यकता औँल्याएका छन् । म्युचुअल फन्डका सम्बन्धमा आम लगानीकर्ताहरूलाई थप जानकारी गराउन नाफिजको माध्यमबाट निरन्तर सहकार्य गर्ने प्रतिबद्धता समेत अध्यक्ष थापाले गरेका छन् । नेपाल आर्थिक पत्रकार संघ नाफिजका अध्यक्ष मोदनाथ ढकालले पनि दीर्घकालीन लगानीको रूपमा म्युचुअल फन्डमा लगानी गर्न उपयुक्त हुने सन्देश आम लगानीकर्ताहरूमा पु-याउन आवश्यक रहेको बताए । यसका लागि पत्रकारहरूको क्षमतालाई नै बढाउन आवश्यक रहेको उनको भनाइ छ । नाफिज र मर्चेन्ट बैंकर एसोसिएसनको सहकार्यलाई निरन्तरता दिँदै पत्रकारहरूको क्षमता अभिवृद्धिका लागि आगामी दिनमा पनि म्युचुअल फन्डलगायत धितोपत्र बजारका थप विषयमा कार्यक्रम सञ्चालन गर्ने प्रतिबद्धता समेत उनले व्यक्त गरे । आर्थिक क्षेत्रमा कलम चलाउँदै आएका पत्रकारहरूको क्षमता विकासका लागि नाफिजले विभिन्न निकायहरूसँगको सहकार्यमा क्षमता विकाससम्बन्धी कार्यक्रमहरू गर्दै आएको छ ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया