Techie IT
×
गृहपृष्ठवित्त पूँजी बजारमाछापुच्छ्रे बैंकमा अनलाइन डिम्याट खाता खोल्न सकिने सुविधा

माछापुच्छ्रे बैंकमा अनलाइन डिम्याट खाता खोल्न सकिने सुविधा


काठमाडौँ । माछापुच्छ्रे बैंकले अनलाइन डिम्याट खाता खोल्न सकिने सुविधा सञ्चालनमा ल्याएको छ । बैंकले आफ्ना ग्राहकहरूको सुविधालाई मध्यनजर गर्दै अनलाइनमार्फत डिम्याट खाता खोल्न सकिने सुविधा सञ्चालनमा ल्याएको हो । विगत लामो समयदेखि डिम्याटलगायत सेयर आवेदनसम्बन्धी सम्पूर्ण सुविधा प्रदान गर्दे आएको माछापुच्छ्रे  बैंकले अत्याधुनिक प्रविधिको उपयोग गर्दै ग्राहकले जुनसुकै स्थानबाट बैंक नै नगई आवेदन दिन मिल्ने गरी अनलाइनबाट डिम्याट खाता खोल्ने सुविधा ल्याएको हो ।

ग्राहकले अनलाइनमार्फत डिम्याट खाता खोल्न बैंकको वेबसाइटमा रहेको एल्लाई नाउ सेक्सनमा वा सिधै बैंकको वेबसाइटमा गई लिंक प्रयोग गरेर सहजै अनलाइनबाट डिम्याट खाता खोल्न सक्नेछन् । साथै माछापुच्छ्रे बैंकमा खाता हुने ग्राहकहरूले बैंकमा नगई सिधै डिम्याट खाता नम्बर प्राप्त गर्न सक्नेछन् भने माछापुच्छ्रे बैंक बाहेक अन्य बैंकमा बैंक खाता रहेका ग्राहकहरूले अनलाइनमार्फत डिम्याट खाता खोल्ने प्रक्रिया पूरा गरिसकेपछि एक पटक आफूलाई पायक पर्ने माछापुच्छ्रे बैंकको शाखा कार्यालयमा गई परिचय खुल्ने कागजातसहित स्वयम् उपस्थित भएपश्चात् डिम्याट खाता नम्बर प्राप्त गर्न सक्नेछन् । कोरोना माहमारीको जोखिम कायमै रहिरहेको समयमा, कोरोना संक्रमणबाट बच्न र यसलाई समुदायमा फैलिन नदिन साथै देशका जुनसुकै स्थानबाट समेत सजिल्यै डिम्याट खाता खोली सेयर कारोबार गर्न सहजहोस् भन्ने उद्देश्यका साथ बैंकले उक्त सेवा सञ्चालनमा ल्याएको हो ।

स्थापनाकालदेखि नै नयाँ–नयाँ प्रविधिमा आधारित सेवा सुविधा ग्राहकमाझ ल्याउन कटिबद्ध रहेको बैंकले हालै मात्र नेपाली कर्मसियल बैंकिङ इतिहासमा पहिलो पटक आफ्नै मोबाइल वालेट रेमिट्याप सञ्चालनमा ल्याएको छ भने अन्य डिजिटल सेवाहरू मोबाइल बैंकिङ सेवा, इन्टरनेट बैंकिङ सेवा, अनलाइनमार्फत खाता एंव मुद्दती खाता खोल्नेलगायतका थुप्रै अत्याधुनिक प्रविधिहरू आफ्ना ग्राहकमाझ ल्याइसकेको छ । बैंकले आर्थिक वर्ष २०७७–०७८ मा एक अर्ब ३६ करोड छ लाख ८१ हजार छ सय ३७ रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । अघिल्लो आवको सोही अवधिमा बैंकको यस्तो नाफा एक अर्ब २६ करोड ५१ लाख ५० हजार छ सय ६३ रुपैयाँ रहेको थियो ।

चुक्ता पुँजी नौ अर्ब पाँच करोड ३० लाख ९४ हजार पाँच सय ८१ रुपैयाँ रहेको बैंकले आव २०७७–०७८ मा एक खर्ब ३१ अर्ब ६१ करोड ७९ लाख ६४ हजार छ सय १७ रुपैयाँ निक्षेप संकलन गरी एक खर्ब १३ अर्ब ५७ करोड १० लाख ४९ हजार तीन सय आठ रुपैयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा चार अर्ब ३२ करोड ६० लाख ९९ हजार नौ सय ८६ रुपैयाँ खुद ब्याज आम्दानी गरेको बैंकमा शून्य दशमलव ६२ प्रतिशत कर्जा निष्क्रिय रहेको छ । सो अवधिमा तीन दशमलव ८२ प्रतिशत स्प्रेड दर रहेको बैंकको वितरणयोग्य नाफा भने एक अर्ब १३ करोड २७ लाख ३५ हजार छ सय ४९ रुपैयाँ रहेको छ ।

अघिल्लो सोही अवधिमा भने बैंकले एक खर्ब चार अर्ब नौ करोड ८८ लाख ९९ हजार आठ सय ६६ रुपैयाँ निक्षेप संकलन गरी ९२ अर्ब ५२ करोड ९२ लाख २६ हजार पाँच सय ३२ रुपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा तीन अर्ब ८६ करोड १८ लाख ९९ हजार एक सय १६ रुपैयाँ खुद ब्याज आम्दानी गरेको बैंकमा शून्य दशमलव ५२ प्रतिशत कर्जा निष्क्रिय रहेको थियो भने स्प्रेड दर चार दशमलव ३६ प्रतिशत रहेको थियो ।


क्याटेगोरी : वित्त पूँजी बजार

तपाईको प्रतिक्रिया