Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारलुम्बिनी प्रदेशमा बढ्यो, बैंक तथा वित्तीय संस्थाको निक्षेप

लुम्बिनी प्रदेशमा बढ्यो, बैंक तथा वित्तीय संस्थाको निक्षेप

तीन खर्ब ६७ अर्ब निक्षेप संकलन गरी चार खर्ब १७ अर्ब ८५ करोड कर्जा प्रवाह


काठमाडौँ ।लुम्बिनी प्रदेशमा बैंक तथा वित्तीय संस्थाहरुको निक्षेप बढेको छ । नेपाल राष्ट्र बैंकले मंगलबार सार्वजनिक गरेको प्रादेशिक आर्थिक गतिविधिसम्बन्धी लुुम्बिनी प्रदेशको प्रथम अर्धवार्षिक वित्तीय प्रतिवेदनअनुसार पुस मसान्तसम्म लुम्बिनी प्रदेशबाट परिचालन गरिएको कुल निक्षेप संकलन ३२ दशमलव २८ प्रतिशतले वृद्धि भई तीन खर्ब ६७ अर्ब ८५ करोड ४३ लाख ८० हजार पुगेकोे छ ।

बैंक तथा वित्तीय संस्थाहरुबाट प्रवाहित कर्जा भने यस अवधिमा १९ दशमलव पाँच प्रतिशतले वृद्धि भई कुल चार खर्व १७ अर्ब ८५ करोड ४७ लाख ८० हजार रुपैयाँ पुगेको छ । बैंक तथा वित्तीय संस्थाहरुबाट प्रवाहित कुल कर्जाको विश्लेषण गर्दा कृषि क्षेत्रमा नौ प्रतिशत, उद्योग क्षेत्रमा २७ दशमलव ३४ प्रतिशत र सेवा तथा अन्य क्षेत्रमा ६३ दशमलव ६६ प्रतिशत लगानी भएको देखिन्छ । यस क्षेत्रको समग्र कर्जा निक्षेप अनुपात एक सय १३ दशमलव छ प्रतिशत रहेको छ । जिल्लागत रुपमा हेर्दा यस्तो अनुपात सबैभन्दा बढी रुपन्देही जिल्लामा एक सय ३१ दशमलव चार प्रतिशत छ भने रुकुमपूर्व जिल्लामा सबैभन्दा कम ३१ दशमलव एक प्रतिशत रहेको प्रतिवेदनमा उल्लेख छ ।

समीक्षा अवधिको अन्त्यसम्म यो प्रदेशमा सेवा क्षेत्रमा एक खर्ब ७४ अर्ब ८८ करोड ९५ लाख ४० हजार रुपैयाँ लगानी रहेको देखिन्छ । प्रदेशको कुल कर्जा लगानीमा सेवा क्षेत्रको अंश ४१ दशमलव ८५ प्रतिशत रहेको प्रतिवेदनमा उल्लेख छ । प्रदेशमा प्रवाहित कुल सेवा क्षेत्र कर्जा लगानीमध्ये रुपन्देही जिल्लाका बैंक तथा वित्तीय संस्थाहरुले सबैभन्दा बढी ५३ दशमलव ९२ प्रतिशत अर्थात् ९४ अर्ब ३० करोड ५० लाख २० हजार कर्जा लगानी गरेकोे देखिन्छ भने सबैभन्दा न्यून रुकुमपूर्व जिल्लामा शून्य दशमलव शून्य तीन प्रतिशतभन्दा पनि कम अर्थात् चार करोड ४४ लाख ७० हजार कर्जा प्रवाह भएको देखिन्छ ।

२०७७ पुस मसान्तसम्म बैंक तथा वित्तीय संस्थाहरुबाट लुुम्बिनी प्रदेशमा प्रवाहित कृषिकर्जा ३७ अर्ब ६२ करोड ११ लाख रुपैयाँ पुगेको छ । २०७७ पुस मसान्तसम्म यस प्रदेशमा प्रवाहित कुल कर्जामा क्षेत्रगत कृषि कर्जाको अंश नौ प्रतिशत मात्र रहेको छ । कृषि कर्जाको तथ्यांक हेर्दा कृषि तथा वन क्षेत्रमा ३६ अर्ब २५ करोड २४ लाख र माछापालनको क्षेत्रमा एक अर्ब ३६ करोड ८६ लाख रुपैयाँ कर्जा लगानी भएको देखिन्छ । ‘जिल्लागत रुपमा सबैभन्दा बढी रुपन्देहीमा १६ अर्ब १० करोड, दाङमा पाँच अर्ब ६८ करोड, बाँकेमा चार अर्ब ५० करोड, कपिलवस्तुमा तीन अर्ब ३९ करोड, नवलपरासी पश्चिममा तीन अर्ब १४ करोड, बर्दियामा दुई अर्ब चार करोड, पाल्पामा एक अर्ब पाँच करोड, गुल्मीमा ४४ करोड, प्यूठानमा ५९ करोड, रोल्पामा ३६ करोड, अर्घाखाँचीमा २६ करोड र रुकुमपूर्वमा सबैभन्दा कम ७३ लाख रुपैयाँ कृषि कर्जाको रुपमा लगानी भएको देखिन्छ’, प्रतिवेदनमा भनिएको छ ।

समीक्षा अवधिमा यस प्रदेशमा लुुम्बिनी प्रदेशमा बैंक तथा वित्तीय संस्थाहरुबाट प्रवाहित कृषि कर्जा गत अवधिको तुलनामा २० दशमलव २७ प्रतिशतले वृद्धि भई ३७ अर्ब ६२ करोड पुगेको छ । समीक्षा अवधिमा यसरी प्रवाहित कुल कर्जामध्ये सबैभन्दा बढी अन्य कृषि तथा कृषिजन्य सेवा शीर्षकमा ३५ दशमलव ६० प्रतिशत अर्थात् १३ अर्ब ३९ करोड ५१ लाख रुपैयाँ कर्जा प्रवाहित भएको देखिन्छ । बैंक तथा वित्तीय संस्थाहरुबाट प्रवाहित कृषि कर्जा विश्लेषण गर्दा समिक्षा अवधिमा गत अवधिकोे तुलनामा अन्नबालीमा २८ दशमलव ६५ प्रतिशत, तरकारी बालीमा २६ दशमलव ७५ प्रतिशत, अन्य नगदेबालीमा ३४ दशमलव १७ प्रतिशत, फलफूल तथा पुष्पखेतीमा २१ दशमलव ४० प्रतिशत, मलखाद तथा किटनाशकमा ७५ दशमलव ४६ प्रतिशत, पशुपालन, पशुवधशालामा ४४ दशमलव ३१ प्रतिशत, पक्षीपालनमा आठ दशमलव छ प्रतिशत, माहुरीपालनमा ६२ दशमलव ८४ प्रतिशत अन्य कृषि तथा कृषिजन्य सेवामा १२ दशमलव ८७ प्रतिशत, वनमा आठ दशमलव ४६ प्रतिशत, माछापालनमा १६ दशमलव १२ प्रतिशत र सिँचाइमा ६६ दशमलव ५८ प्रतिशतले वृद्धि भएको देखिन्छ ।

प्रतिवेदनअनुसार लुुम्बिनी प्रदेशमा १२ वटा जिल्ला छन् । जसमा वाणिज्य बैंकतर्फ छ सय ७८ वटा शाखा, विकास बैंकतर्फ दुुई सय ७० वटा शाखा, फाइनान्सतर्फ ३८ र लघुवित्त वित्तीय संस्थातर्फ एक हजार १८ गते कुुल दुई हजार चारवटा शाखाहरु सञ्चालनमा रहेका छन् । सोमध्ये रुपन्देही जिल्लामा सबैभन्दा बढी पाँच सय छवटा बैंक तथा वित्तीय संस्थाका शाखाहरु र रुकुमपूर्व जिल्लामा सबैभन्दा कम १४ मात्र शाखाहरु सञ्चालनमा छन् । यस प्रदेशमा रहेका सम्पूर्ण एक सय नौ स्थानीय तहहरुमा वाणिज्य बैंकको शाखा पुगिसकेको प्रतिवेदनमा उल्लेख छ ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया