Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारनबिल दिगो बैंकिङ र नेपाल उद्योग परिसंघ–वुमन लिडरसिप फोरमबीच छलफल

नबिल दिगो बैंकिङ र नेपाल उद्योग परिसंघ–वुमन लिडरसिप फोरमबीच छलफल


काठमाडौं । नबिल बैंक र नेपाल उद्योग परिसंघ–वुमन लिडरसिप फोरमले महिला उद्यमीहरूका लागि नबिल दिगो बैंकिङ र साना तथा मझौला कर्जा विषयमा अन्तक्रिया कार्यक्रम सम्पन्न गरेको छ । उक्त कार्यक्रममा नबिल बैंकले महिला उद्यमशीलताको लागि चालेका कदमहरू र उपलब्ध कर्जाको बारेमा जानकारी गराएको थियो । सीएनआई डब्लूएलएफ संयोजक छाया शर्मा, सीएनआई डब्लूएलएफ सदस्य आशा राणा अधिकारी, नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत अनिलकेशरी शाह समेत उपस्थित भएको उक्त कार्यक्रममा विभिन्न महिला उद्यमी तथा नेतृत्वदायी महिलाहरूको उपस्थिति थियो ।

कार्यक्रमा सीएनआई डब्लूएलएफ संयोजक छाया शर्माले नबिल बैंकको दिगो बैंकिङ तथा अन्य महिला केन्द्रित पहलहको प्रशंसा गर्नुको साथै यसले महिलाको सामाजिक रूपान्तरणमा योगदान पुगोस् भन्ने कामना गरे । साथै उनले वित्तीय पहुँचसँगै वित्तीय साक्षरतालाई पनि अगाडि बढाउन सुझाव दिए ।

नबिल बैंकको प्रमुख कार्यकारी अधिकृत अनिलकेशरी शाहले दिगो बैंकिङमार्फत बैंकले उद्यमशीलताको विकास तथा वित्तिय पहुँचलाई गाउँ–गाउँमा पु-याएर त्यहाँ उद्यमीहरूको सिर्जना गरी दिगो विकासमा टेवा पु-याउने लक्ष्य लिएको बताए । कार्यक्रमको समापन गर्दै नबिल बैंकको सञ्चालक समेत रहेकी सीएनआई डब्लूएलएफ सदस्य आशा राणा अधिकारीले यस कार्यक्रमले नबिल दिगो बैंकिङलाई सबै महिलाहरूमा पु-याउन सहयोेग गर्ने र आउँदा दिनमा यसलाई अझ बढाउँदै लगिने बताए ।

कार्यक्रममा नबिल बैंकको दिगो बैंकिङ तथा यसअन्तर्गतका नबिल किसान कर्जा र नबिल उद्यमशील कर्जाको बारेमा नबिल दिगो बैंकिङका प्रबन्धक लिलाप्रसाद ओझा र साना तथा मझौला कर्जाअन्तर्गतका महिला केन्द्रित कर्जा तथा अन्य बैंकिङ सुविधाको बारेमा साना तथा मझौला कर्जा÷लघुवित्त विभाग प्रमुख निरजकुमार बस्नेत डनिलले प्रकाश पारे । अन्तरक्रियाको दौरान विभिन्न महिला उद्यमीहरूले उठाएका जिज्ञासा तथा सुझावहरूको समेत सम्बोधन गरिएको थियो ।

बैंकले गत असार १५ गते धान दिवसको दिन नबिल दिगो बैंकिङको सुरुवात गरेको हो । सयुक्त राष्ट्र संघको दिगो विकासको लक्ष्यलाई सघाउन विपन्न तथा ग्रामीण वर्गलाई लक्षित गरी दिगो बैंकिङ कार्यक्रम सुरु गरेको बैंकले यस कार्यक्रमअन्तर्गत नबिल किसान कर्जा र नबिल उद्यमशील कर्जा प्रवाह गर्दै आएको छ । बैंकले आर्थिक २०७७–०७८ मा चार अर्ब ५० करोड ४४ लाख ३७ हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । अघिल्लो आवको सोही अवधिमा बैंकको यस्तो नाफा तीन अर्ब ४६ करोड ३२ लाख ४१ हजार रुपैयाँ रहेको थियो ।

चुक्ता पुँजी १३ अर्ब ८४ करोड ४४ लाख ५१ हजार रुपैयाँ रहेको बैंकले आव २०७७–०७८ मा दुई खर्ब २३ अर्ब ४७ करोड ८० लाख ८७ हजार रुपैयाँ निक्षेप संकलन गरी एक खर्ब ९८ अर्ब १० करोड ७३ लाख ६९ हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा सात अर्ब ७२ करोड ७० लाख ४० हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको बैंकमा शून्य दशमलव ७८ प्रतिशत कर्जा निष्क्रिय रहेको छ ।

अघिल्लो आवको सोही अवधिमा भने बैंकले एक खर्ब ९० अर्ब ८० करोड ६४ लाख ७० हजार रुपैयाँ निक्षेप संकलन गरी एक खर्ब ४८ अर्ब पाँच करोड ४० लाख ७१ हजार रुपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा छ अर्ब ९८ करोड ३६ लाख ६५ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको बैंकमा शून्य दशमलव ९८ प्रतिशत कर्जा निष्क्रिय रहेको थियो ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया