Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारमेगा बैंकले भोजपुर नगरपालिकाका किसानलाई सहुलियत कर्जा दिने

मेगा बैंकले भोजपुर नगरपालिकाका किसानलाई सहुलियत कर्जा दिने


काठमाडौं । मेगा बैंक नेपाल लिमिटेडले साना कृषक तथा उद्यमीहरूको कृषि तथा उद्यम व्यवसायलाई प्रवर्द्धन गर्ने उद्देश्यले भोजपुर नगरपालिकासँग सम्झौता गरेको छ ।

सम्झौतामा बैंकका माइक्रोफाइनान्सिङ विभागका प्रमुख पुण्यप्रसाद खनियाँ र भोजपुर नगरपालिका मेयर कैलाश आलेले हस्ताक्षर गरेका छन् । हस्ताक्षर कार्यक्रममा बोल्दै बैंकका विभागीय प्रमुख खनियाँले कृषकहरूलार्ई आधुनिक ढंगले कृषि कार्यलाई व्यवसायीकरण गर्न बैंकको शाखा कार्यालयमार्फत छिटो छरितो ढंगले प्राथमिकताका साथ कर्जा दिने प्रतिबद्धता व्यक्त गरे । भोजपुर नगरपालिकाका मेयर आलेले मेगा बैंकसँगको सम्झौतापश्चात् नगरपालिकाभित्र रहेका साना किसान तथा उद्यम व्यवसायीहरूले सहुलियत ब्याजदरमा कर्जा लिई आफ्ना व्यवसायलाई बृद्धि गरी उत्पादकत्व बढाउन सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

भोजपुर नगरपालिकासँगको सम्झौतापश्चात् मेगा बैंकले नगरपालिकाका किसानहरूलाई कृषि उत्पादनमा आवश्यक कर्जा लगानी गर्नको लागि नेपाल राष्ट्र बैंकको सहुलियतपूर्ण ब्याज अनुदान कर्जा निर्देशिका र बैंकको सहुलियतपूर्ण ब्याज अनुदान कर्जा कार्यविधिको अधिनमा रही सहुलियतपूर्ण व्यावसायिक कृषि तथा पशुपालन कर्जा प्रदान गर्नेछ । साथै, बैंकले उक्त कृषकहरूलाई मेगा किसान कार्ड समेत उपलब्ध गराउनेछ । उक्त कार्डमार्फत कृषकहरूले आफूलाई आवश्यक परेको कृषि सामग्रीहरू, बीउ, मल, किटनाशक औषधिलगायतका सामानहरू नजिकको पसलबाट खरिद गर्न सक्नेछन् ।

मेगा किसान कार्ड मेगा बैंकले कृषकहरूलाई जारी गरेको पहिलो आधुनिक बैंकिङ सेवा हो, जसले किसानहरूलाई कृषि कर्जाको सदुपयोग गर्दै बैंकिङ कारोबार सहज र सरल तरिकाले गर्न सहयोग हुने बैंकको विश्वास छ । बैंकले आर्थिक वर्ष २०७७–०७८ मा दुई अर्ब ३० करोड २५ लाख ८६ हजार दुुई सय ८७ रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । अघिल्लो आवको सोही अवधिमा भने बैंकको यस्तो नाफा एक अर्ब ५८ करोड ६२ लाख १४ हजार नौ सय २२ रुपैयाँ रहेको थियो ।

हाल चुक्ता पुँजी १४ अर्ब ६५ करोड ४९ लाख ६४ हजार नौ सय ५८ रुपैयाँ रहेको बैंकले आव २०७७–०७८ मा एक खर्ब ३६ अर्ब ८९ करोड ३५ लाख ८८ हजार चार सय छ रुपैयाँ निक्षेप संकलन गरी एक खर्ब ३७ अर्ब ३१ करोड ८९ लाख पाँच हजार २० रुपैयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा पाँच अर्ब ८० करोड ४६ लाख ६८ हजार एक सय ७५ रुपैयाँ खुद ब्याज आम्दानी गरेको बैंकमा एक दशमलव २६ प्रतिशत कर्जा निष्क्रिय रहेको छ । सो अवधिमा चार दशमलव १६ प्रतिशत स्प्रेड दर रहेको बैंकको वितरयोग्य नाफा एक अर्ब ५१ करोड ५८ लाख ४५ हजार ८२ रुपैयाँ रहेको छ ।

अघिल्लो आवको सोही अवधिम भने बैंकले एक खर्ब २७ अर्ब ८९ करोड ४६ लाख १४ हजार पाँच सय दुई रुपैयाँ निक्षेप संकलन गरी एक खर्ब १० अर्ब ४९ करोड ३३ लाख ४१ हजार एक सय ६१ रुपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा चार अर्ब १७ करोड ७४ लाख आठ हजार चार सय ५१ रुपैयाँ खुद ब्याज आम्दानी गरेको बैंकमा एक दशमलव २० प्रतिशत कर्जा निष्क्रिय रहेको थियो भने स्प्रेड दर चार दशमलव ३९ प्रतिशत रहेको थियो ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया