Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारकुमारी बैंक र यती एअरलाइन्सबीच व्यावसायिक सहकार्य

कुमारी बैंक र यती एअरलाइन्सबीच व्यावसायिक सहकार्य


काठमाडौं । कुमारी बैंक र निजी क्षेत्रको अग्रणी वायुसेवा कम्पनी यती एअरलाइन्स प्रालिले व्यावसायिक साझेदारी गर्दै संयुक्तरूपमा नेपालमै पहिलो पटक स्वीप एन्ड फ्लाइ क्याम्पियन सुरुवात गर्नेभएका छन् । यती एअरलाइन्सको स्काइ क्लव कार्ड र कुमारी बैंकको भिजा डेबिट कार्डलाई एकीकृत गरेर कुमारी स्काइ क्लवको ब्रान्ड कार्ड जारी गरिनेछ ।

यसै सन्दर्भमा कुमारी बैंकका निमित्त प्रमुख कार्यकारी अधिकृत अनुजमणि तिमिल्सिनाले कुमारी स्काइ क्लब कार्डका वाहकहरूले अब हरेक खरिदमा यो कार्डबाट भुक्तानी गर्दा हवाइ यात्रा नगरे पनि हवाइ यात्रा गरेसरह नै निश्चित अंक प्राप्त गरिने भएकोले हवाइ यात्रा गर्न कुमारी बैंकका ग्राहकहरू समेत प्रोत्साहित हुने विचार व्यक्त गरे । अब एअरलाइन्स र बैंकका साझेदार ग्राहकहरूले जुनसुकै समयमा यो सुविधा प्राप्त गर्नसक्ने यती एअरलाइन्सका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अनोज रिमालले बताए । हवाइ र वित्तीय क्षेत्रबीच यस किसिमको व्यावसायिक सहकार्य विल्कुलै पृथक शैलीमा नेपालमै पहिलो पटक भएको हो । त्यसकारण पनि यो सहकार्य दुवै पक्षको लागि नवीन एवं महत्वपूर्ण रहेको छ । यस कार्यक्रमले दुवै पक्षलाई नयाँ उचाई दिनुका साथै नयाँ आयाम थप्ने निश्चित भएको भन्दै सीईओ रिमालले आफ्नो विचार व्यक्त गरे ।

यसै सन्दर्भमा अब हाम्रा ग्राहकहरूले कुमारी स्काइ क्लब कार्डबाट सामान तथा सेवाको भुक्तानी मात्र नभई भुक्तानी गरेबापत प्वाइन्ट्स पनि कमाउनेछन् अनि सो प्वाइन्ट्सबाट ग्राहकहरूले यती एअरलाइन्सको निःशुल्क टिकट प्राप्त गरी उडान भर्न सक्नेछन् । यसप्रकारको सहकार्यले डिजिटल भुक्तानी बानीलाई थप प्रोत्साहन गर्ने विश्वास डिजिटल बैंकिङका प्रमुख अनिष ताम्राकारले व्यक्त गरे । ‘अब दुईवटा कार्ड बोकिरहन पर्दैन, एउटैले नै दुवै कार्डको काम गर्नेछ’, यती एअरलाइन्सका प्रमुख व्यापार अधिकृत युवराज विष्टले जानकारी दिँदै भने, ‘बैंक र एअरलाइन्सको साझेदार ग्राहकहरूले जुनसकै स्थानमा कार्डबाट भुक्तानी गर्दा प्वाइन्ट्स जम्मा हुनेछ । निश्चित माइलेज प्वाइन्ट्स जम्मा भइसकेपछि साझेदार ग्राहकहरूले सजिलै उपभोग गर्न सकिनेछ ।

आवश्यकताअनुसार यती एअरलाइन्सले उडान भर्ने नेपालको जुनसुकै गन्तव्यमा पनि निःशुल्क यात्रा गर्न पाउने व्यवस्था मिलाइएको छ । कुमारी स्काइ क्लब कार्ड स्वाइप गरी एक सय रुपैयाँ भुक्तानी गर्दा एक प्वाइन्ट जम्मा हुने र हरेक खर्चलाई रिवार्ड गरिने भएकोले कार्यक्रमकोे ट्यागलाइन नै वी रिवार्ड योर स्पेन्डिङ राखिएको छ । सेवाग्राहीको सुविधाका लागि विभिन्न साझेदारी संस्थासँग सहकार्य गर्दै आकर्षक सहुलियत कार्यक्रम गर्दै आएको कुमारी बैंक र यती एअरलाइन्सले भविष्यमा पनि आफ्ना सेवाग्राहीहरूलाई प्रत्यक्ष लाभ हुने कार्यक्रमहरू थप गर्दै लगिने जनाएका छन् ।

सेवाग्राहीको सुविधालाई अग्रपंक्तिमा राखि बैंकले आफ्ना देशव्यापीरूपमा फैलिएका एक सय ९६ शाखा सञ्जाल, एक सय ७२ एटीएम, ३२ शाखारहित बैंकिङ एकाइ तथा १३ एक्सटेनसन काउन्टरबाट अत्याधुनिक बैंकिङ सुविधाहरू दिँदै आएकोे र आगामी दिनहरूमा अझ सरल, सुलभ तथा उत्कृष्ट सेवाका निमित्त सहकार्यहरू गर्दै जाने प्रतिबद्धता जनाएको छ । 


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया