Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारएनआईसी एसियाको ‘भाइबर क्वीज बज’मा सहभागी भई उपहार जित्न सकिने

एनआईसी एसियाको ‘भाइबर क्वीज बज’मा सहभागी भई उपहार जित्न सकिने


काठमाडौं । सहज एवं सबल बैंकिङको मूल रणनीतिअनुरूप गतिशील बैंकिङको अभ्यास गर्दै आएको एनआईसी एसिया बैंकले आफ्नो भाइबर कम्युनिटीमार्फत ग्राहकहरूमाझ उपस्थिति जनाउने उद्देश्यका साथ आफ्नो भाइबर स्टिकर सार्वजनिक गरेको छ । हालसम्म ४८ हजार भन्दा बढी सदस्यहरू जोडिनुभएको यस भाइबर कम्युनिटीमार्फत ग्राहकहरूको उपस्थितिलाई प्रवद्र्धन गर्ने अभिप्रायले बैंकले एनआईसी एसिया भाइबर क्वीज बज समेत सञ्चालनमा ल्याएको छ । जसमा दैनिक सहभागी भई भाइबर प्रयोगकर्ताहरूले दैनिक तथा साप्ताहिक रूपमा आकर्षक उपहारहरू जित्न सक्नेछन् ।

२०७८ आश्विन १४ देखि कात्तिक १० गतेसम्म सञ्चालन हुने यस एनआईसी एसिया भाइबर क्वीज बजमा दैनिक सहभागी भई त्यहाँ सोधिने सामान्य प्रश्नको सही जवाफ दिनुहुने एक जनाले साप्ताहिक रूपमा आकर्षक स्मार्टवाच जित्न सक्नुहुनेछ भने हरेक दिन चार जनाले पाँच सयको मोबाइल रिचार्ज समेत जित्न सक्नेछन् । यसका लागि यस बैंकको भाइबर कम्युनिटीमा जोढिइ त्यहाँ रहेको यस बैंकका भाइबर स्टिकर डाउनलोड गर्नुपर्ने हुन्छ ।

प्रतियोगिताअन्तर्गत सोधिने प्रश्नमा दिइएका चारवटा विकल्पहरूमध्येबाट सहभागी महानुभावहरूले सही जवाफ दिनुपर्ने हुन्छ । यसरी सोधिएका प्रश्नहरूमध्ये कुनै एक प्रश्नको मात्रै सही जवाफ दिँदा समेत सहभागीहरू बिजेता बन्न सक्ने र जति धेरै सही जवाफ दिन सक्यो त्यति नै धेरै पुरस्कार जित्ने सम्भावना बलियो हुने समेत व्यवस्था गरिएको छ । बहुसंख्यक सहभागीहरूबाट सही उत्तर आएको खण्डमा गोलाप्रथाबाट बिजेता छनौट गर्ने व्यवस्था गरिएको छ ।

यस प्रतियोगिताका अन्य नियम तथा सर्त बैंकको वेबसाइटमा उपलब्ध छन् । भाइबर कम्युनिटीमा जोडिनका लागि सबैभन्दा पहिले भाइबारभित्र सर्च बक्समा गई यस बैंकको नाम एनआईसी एसिया बैंक खोज्नुपर्ने हुन्छ । जसमार्फत यस बैंकको एनआईसी एसिया भाइबर क्वीज बज योजनामा सहभागिता जनाउन सकिनुका साथै बैंकका पछिल्ला योजना, छुट तथा सूचना, सेवा एवं सुविधाजस्ता गतिविधिको बारेमा पनि जानकारी प्राप्त गर्न सकिनेछ  ।

बैंकलाई आम जनमानसले गरेको प्रगाढ विश्वास, अगाध स्नेह र बैंकप्रतिको भरोसाले गर्दा यो बैंक मुलुकभर रहेका तीन सय ५६ शाखा कार्यालयहरू, चार सय ७२ एटीएम, ७० वटा विस्तारित काउन्टर एवं ८१ वटा शाखारहित बैंकिङमार्फत बैंकिङ सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक हुनपुगेको छ । २७ लाख ३६ हजारभन्दा बढी निक्षेप खाता एवं ९१ हजारभन्दा बढी कर्जा खाता गरी २८ लाख २७ हजारभन्दा बढी खाताहरूमार्फत ग्राहकहरूमाझ सञ्चालनमा रहेको यस बैंकका प्रमुख वित्तीय परिसूचकहरू अत्यन्त उत्साहप्रद रहेका छन् ।

देशको कुल जनसंख्यामध्ये २० वर्ष देखि ५० वर्ष उमेर समूहसम्मको आर्थिक रूपमा सक्रिय जनसंख्याको करिब २५ प्रतिशत जनतालाई यस बैंकमार्फत सेवा दिन बैंक सफल भएको छ । उत्तरदायी बैंकिङको अभ्यास गर्दै आएको यस बैंकले प्रत्यक्ष र अप्रत्यक्ष गरी गत आर्थिक वर्षमा करिब दुई अर्ब ८३ करोडभन्दा बढी राजस्व नेपाल सरकारलाई भुक्तानी गरिसकेको छ । जुन मुलुकको वाणिज्य बैंकहरूमध्ये दोस्रो धेरै एवं समग्र देशको अन्य कम्पनीहरूको तुलनामा छैटौँ ठूलो योगदान रहेको छ ।

वित्तीय समावेशीकरणका लागि मुगु, कालिकोट, बझाङ, रूकुम, जुम्ला, सल्यानजस्ता बैंक तथा वित्तीय संस्थाहरूको उपस्थिति न्यून रहेका दुर्गम जिल्लाहरूमा तथा कुनै पनि बैंक तथा वित्तीय संस्थाहरू नपुगेको ३४ भन्दा बढी स्थानीय निकायहरूमा शाखा विस्तार गरी सञ्चालन गर्दै आइरहेको छ । देशको कुल जनसंख्याको ८० प्रतिशतभन्दा बढी बसोबास गर्ने ग्रामीण तथा साना सहरी क्षेत्रमा बैंकले आफ्ना ७२ प्रतिशत शाखा कार्यालयहरू स्थापना गरेको छ ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया