Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारसिभिल सहकारीपीडितहरू सीआईबीमा लाइन

सिभिल सहकारीपीडितहरू सीआईबीमा लाइन

२ दिनमा ३ सय ७५ जनाको उजुरी, १ अर्ब ७५ करोड ठगीको जाहेरी !


काठमाडौं । प्रहरी अनुसन्धान केन्द्रीय ब्युरो सीआईबी हिजोआज साँच्चै पीडितहरुको अखडा बनेको छ । सिभिल समूहका अध्यक्ष इच्छाराज तामाङबाट ठगिएकाहरु सीआईबीमा लाइन लाग्न थालेपछि यस्तो अनुभूति भएको हो  । देशभरबाट जम्मा भएका पीडितहरुले विगत तीन दिनदेखि सीआईबीको महाराजगञ्जस्थित कार्यालयमा भीड लागेको छ ।

ब्युरोका प्रवक्ता प्रहरी उपरीक्षक एसपी श्याम कुमार महतोका अनुसार शुक्रबारसम्म तीन सय ७५ जना पीडितहरुले तामाङसहित पक्राउ परेका १२ जनाविरुद्ध ठगीको जाहेरी दिएका छन् । शुक्रबारसम्म एक अर्ब ७५ करोड ३६ लाख रुपैयाँ रकम ठगिएको उजुरी सीआईबीलाई प्राप्त भएको छ ।

सिभिल सहकारीका अध्यक्ष तथा ऋण शाखाको प्रमुख केशवलाल श्रेष्ठ र सिभिल बैंकका अध्यक्ष इच्छाराज तामाङले बचतकर्ताहरुको आठ अर्ब ५७ करोडभन्दा बढी बचत रकम हिनामिना गरेको आरोपमा उनीहरु दुई जनासहित १२ जनालाई सीआईबीले पक्राउ गरेको थियो । पक्राउपछि सीआईबीको कार्यालयमा पीडितहरुको भीड लाग्न थालेको छ ।

पीडितहरुले सीआईबीका डीआईजी धिरज प्रताप सिंहलाई भेट्दै आफ्नो दुखेसो पोख्ने गरेका छन् । डीआईजी सिंहको नेतृत्वमा तामाङ पक्राउ परेपछि पीडितहरुले उनीबाट न्याय पाउने आशा गरेका छन् ।

पीडितहरुका अनुसार तामाङबाट ठगिनेहरु विदेशमा समेत छन् । पीडितहरुले आफूले जम्मा गरेको रकमको स्लिप र विदेशस्थित नेपाली दूतावासको छाप लगाएर सीआईबीको वेबसाइटमै उजुरी पठाउन मिल्ने सीआईबीले जनाएको छ ।

सीआईबी कार्यालयमा नेपाल सरकारकै अवकाशप्राप्त उच्च अधिकारी, विदेशस्थित कूटनीतिक नियोगबाट अवकाश पाएका अधिकारी र शारीरिक रुपमा अपांगता भएका व्यक्तिसम्मले उजुरी दिन पुगेका छन् । उनीहरुले रकम जम्मा गरेको प्रमाणका आधारमा सीआईबीले तामाङसहित सहकारीका उच्च अधिकारीविरुद्ध ठगी मुद्दामा जाहेरी दर्ता गरिरहेको छ ।

सीआईबीका अनुसार उजुरी लिने क्रम निरन्तर जारी रहनेछ । सिभिल सहकारीमा बचत गर्नेहरुले सीआईबीको महाराजगञ्जस्थित कार्यालयमा गएर ठगीको जाहेरी दिन सक्नेछन् । पीडितहरुले आज आइतबारदेखि दशैँ बिदाअघिसम्म जाहेरी दिन सक्नेछन् । त्यसपछि पनि जाहेरी लिने कार्यक्रम जारी रहने सीआईबीले जनाएको छ ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया