Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारधादिङमा नबिल बैंकको ‘दिगो बैंकिङ तथा वित्तीय कार्यक्रम’

धादिङमा नबिल बैंकको ‘दिगो बैंकिङ तथा वित्तीय कार्यक्रम’


काठमाडौं । नबिल बैंकले धादिङको गजुरीमा दिगो बैंकिङ तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । उक्त कार्यक्रममा नबिल बैंकले गजुरी गाउँपालिकासँग दिगो बैंकिङअन्तर्गत उद्यमशीलता विकास र वित्तीय पहुँचको लागि समझदारी समेत गरेको छ ।

बैंकका सञ्चालक श्रीमती आशा राणा अधिकारीको उपस्थितिमा गजुरी गाउँपालिकामा बिहीबार आयोजित एक कार्यक्रमका बीच नबिल बैंकको तर्फबाट प्रमुख व्यापार अधिकृत गणेशप्रसाद अवस्थी र गाउँपालिकाको तर्फबाट अध्यक्ष राजेन्द्र विक्रम बस्नेतले साझेदारी सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् । उक्त साझेदारीमार्फत स्थानीयस्तरमा सञ्चालन गर्ने विभिन्न उद्यमसम्बन्धी कार्यक्रम/तालिम लिएर उद्यम गर्न चाहने उद्यमीहरूलाई उद्यमका लागि गाउँपालिकाको सिफारिसमा बैंकको नियमअनुसार कर्जा उपलब्ध गराउने र तेस्ता कार्यक्रम/तालिमहरूमा वित्तीय साक्षरतासम्बन्धी अभिमुखीकरण कार्यक्रम समेत सञ्चालन गर्ने उद्देश्य रहेको छ ।

उक्त कार्यक्रममा बोल्दै बैंक सञ्चालक अधिकारीले यस सम्झौताले गजुरी गाउँपालिकामा रोजगारी सिर्जना र उद्यमशीलता विकास गरी सामाजिक रूपान्तरणमा सहयोग गर्ने बताए । त्यस्तै गजुरी गाउँपालिकाका अध्यक्ष राजेन्द्र विक्रम बस्नेतले नबिल बैंकको दिगो बैंकिङले निम्नवर्गीय किसान तथा उद्यमीलाई बलियो बनाउने धारणा व्यक्त गरे । गाउँपालिका उपाध्यक्ष सिता ढुंगानाले वित्तीय साक्षरता तथा अभिमुखीकरण कार्यक्रम ल्याएकोमा नबिल बैंकलाई धन्यवाद दिँदै वित्तीय पहुँचलाई महिला तथा विपन्न वर्ग लक्षित बनाउनुपर्ने र त्यसका लागि गाउँपालिकाको सधैँ सहयोग रहने समेत बताए । उक्त कार्यक्रममा स्थानीय किसान, युवा तथा महिला उद्यमीहरू साथै अन्य गाउँपालिकाबासीहरूको समेत उपस्थिति रहेको थियो ।

नबिल बैंकले गत असार १५ गते धान दिवसो दिन नबिल दिगो बैंकिङको सुरुवात गरेको हो । सरकारको दिगो विकासको लक्ष्यलाई सघाउन नबिल बैंकले दिगो बैंकिङ कार्यक्रम सार्वजानिक गरेको हो । कार्यक्रमअन्तर्गत बैंकले नबिल किसान कर्जा र नबिल उद्यमशील कर्जा सुरु गरेको छ । बैंकले ग्रामीण क्षेत्रमा वित्तीय पहुँच न्यून भएका वर्गलाई लक्षित गरी कृषि क्षेत्रको व्यवसायीकरण र उद्यमशीलता विकासको लागि ल्याएको यो कार्यक्रम सुरुमा १७ वटा दुर्गम शाखाहरूबाट सञ्चालन गरी नबिल किसान कर्जा र नबिल उद्यमशील कर्जा प्रवाह गर्दै आएको छ ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया