Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारसिटिजन लाइफ इन्स्योरेन्सको जीवन बीमा कोष चार अर्ब नाघ्यो

सिटिजन लाइफ इन्स्योरेन्सको जीवन बीमा कोष चार अर्ब नाघ्यो


काठमाडौँ । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आर्थिक वर्ष २०७८–०७९ को पहिलो त्रैमासिकको वित्तीय विवरण सार्वजनिक गरेको छ ।

उक्त विवरणअनुसार कम्पनीको जीवन बीमा कोष एक सय ११ दशमलव ४० प्रतिशतले वृद्धि भएर चार अर्ब २४ करोड ५५ लाख रुपैयाँ पुगेको छ । गत आवको सोही अवधिमा कम्पनीको जीवन बीमा कोष दुई अर्ब ८२ लाख रहेको थियो । जीवन बीमा कोषको वृद्धिसँगै कम्पनीले आक्रामक रणनीति अवलम्बन गरेकाले व्यवसाय विस्तारमा समेत शतप्रतिशत वृद्धि गर्न सफल भएको छ ।

गत आवको आश्विन मसान्तसम्ममा कुल बीमा शुल्क ६२ करोड आठ लाख रुपैयाँ संकलन गरेकोमा यस आवको सोही अवधिमा एक अर्ब २४ करोड ३२ लाख संकलन गर्न सफल भएको छ । समीक्षा अवधिमा कम्पनीले जगेडा तथा कोषको आकार पनि ५९ करोड १० लाखबाट करिब ४४ प्रतिशतले बढाएर ८५ करोड तीन लाख रुपैयाँ पु-याउन सफल भएको छ । यसका साथै कम्पनीले लगानी, बीमा लेखको धितो तथा अन्य कर्जाबाट प्राप्त हुने आयमा करिब ५१ प्रतिशतले वृद्धि गरी १६ करोड ५१ लाख रुपैयाँ पु-याएको छ ।

जीवन बीमा व्यवसायमा लगानीको अवधिले कम्पनीको आयमा प्रत्यक्ष प्रभाव पार्ने भएकोले कम्पनीले दीर्घकालीन लगानी तथा कर्जालाई प्राथमिकता दिई कुल लगानी तथा कर्जा रकम छ अर्व ८९ करोडमध्ये करिब ७२ दशमलव ४७ प्रतिशत रकम विभिन्न बैंक तथा वित्तीय संस्थाको दीर्घकालीन अवधिको ऋणपत्र तथा मुद्दती निक्षेपमा लगानी गर्न सफल भएको छ । यसअघि गरिएको दीर्घकालीन लगानीले भविष्यमा समेत उच्च दरमा प्रतिफल प्रदान गरी कम्पनीको स्थायित्वका लागि आधार स्तम्भ निर्माणमा प्रत्यक्ष भूमिका निर्वाह गर्ने देखिन्छ ।

हरेक विषम परिस्थितिलाई अवसरको रूपमा लिँदै आगामी दिनमा कम्पनीले उपलब्ध गराउने सेवाहरूलाई अझै ग्राहक केन्द्रित र प्रविधिमुखी बनाउँदै लैजाने उद्देश्यका साथ कम्पनीबाट सञ्चालित विभिन्न अभियानहरू ‘डिजिटल सिटिजन अभियान’, ‘सिटिजन स्वरोजगार अभियान’ तथा बीमाको सचेतना बढाउन ‘जीवन बीमा जरुरी छ’, ‘विद्यार्थीसँग बीमा’, ‘गुरु सम्मान कार्यक्रम’ एवं नवीनतम जीवन बीमा योजना र व्यावसायिक तथा दक्ष कर्मचारी र सिटिजन लिडरहरूसहितको ‘सिटिजन टिम’ मार्फत कम्पनीले आफ्नो सेवालाई समय सापेक्ष परिमार्जन गर्दै थप उत्कृष्ट बनाई व्यावसायिक उपलब्धि हासिल गर्ने प्रतिबद्धता जाहेर गरेको छ ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया