Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारनेपाल बैंक र त्रिभुवन विश्वविद्यालयबीच सेवाग्राही कर्जासम्बन्धी सम्झौता

नेपाल बैंक र त्रिभुवन विश्वविद्यालयबीच सेवाग्राही कर्जासम्बन्धी सम्झौता


काठमाडौं । नेपाल बैंक लिमिटेड र त्रिभुवन विश्वविद्यालयबीच सम्झौता भएको छ । बैंकका अनुसार उक्त विश्वविद्यालयमा कार्यरत स्थायी शिक्षक तथा कर्मचारीहरूलाई विनाधितो १५ लाखसम्मको कर्जा उपलब्ध गराउनेसम्बन्धी सम्झौता भएको हो । यो सम्झौताअनुसार नेपाल बैंकले त्रिभुवन विश्वविद्यालयको सिफारिसको आधारमा त्यहाँ कार्यरत प्राध्यापक तथा कर्मचारीहरूलाई आम्दानीको आधारमा विनाधितो सुलभ ब्याजदरमा सेवाग्राही कर्जा उपलब्ध गराउनेछ ।

बुधबार त्रिभुवन विश्वविद्यालय कीर्तिपुरमा आयोजित एक समारोहमा उक्त सम्झौता सम्पन्न भएको हो । त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्राडा धर्मकान्त बास्तोला र नेपाल बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर अधिकारीको रोहवरमा त्रिभुवन विश्वविद्यालयका तर्फबाट आर्थिक महाशाखा प्रमुख कुमारप्रसाद हुमागाई र नेपाल बैंक लिमिटेडका तर्फबाट प्रमुख कर्जा अधिकृत लक्ष्मण पौडेलले उक्त सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् । उक्त कार्यक्रममा त्रिभुवन विश्वविद्यालयका रेक्टर प्राडा शिवलाल भुषाल, रजिष्टार प्राडा पेसल दाहाल, नेपाल बैंक लिमिटेडका रिटेल कर्जा विभाग प्रमुख निर्मलकृष्ण पाण्डे, मार्केटिङ तथा अनुसन्धान डिभिजन प्रमुख अर्जुनबहादुर कँडेलका साथै बैंकको कीर्तिपुर शाखाका शाखा प्रबन्धक ज्ञानराज गौतमलगायतका पदाधिकारीहरूको उपस्थिति रहेको थियो ।

उक्त कार्यक्रमलाई सम्बोधन गर्दै त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्राडा धर्मकान्त बास्तोलाले नेपाल बैंक र त्रिभुवन विश्वविद्यालयबीचको धेरै पुरानो सम्बन्ध रहेको स्मरण गर्दै नेपाल बैंकले त्रिभुवन विश्वविद्यालयमा प्रदान गर्दे आएको अटुट सेवाको उच्च प्रशंसा गर्दै नेपाल बैंकलाई धन्यवाद दिएका थिए । यो सेवाग्राहीकर्जाको सम्झौताबाट त्रिभुवन विश्वविद्यालयमा कार्यरत सम्पूर्ण प्राध्यापक÷शिक्षक तथा कर्मचारीहरूले बढीभन्दा बढी लाभ लिन सक्ने विश्वास व्यक्त गर्दै भविष्यमा दुवै पक्षले अधिकतम लाभ लिन सक्ने थप नयाँ–नयाँ कार्यक्रमहरू अगाडि बढाउन अनुरोध समेत गरेका थिए । । नेपाल बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर अधिकारीले देशका दुईवटा जेठा संस्थाहरूबीच ऐतिहासिक सम्बन्ध रहेको बताउँदै सेवाग्राही कर्जाको यो सम्झौताबाट त्रिभुवन विश्वविद्यालयका सम्पूर्ण कर्मचारीहरू लाभान्वित हुने विश्वास व्यक्त गरे ।

त्यसैगरी नेपाल बैंकले प्रदान गर्ने सेवामा थप सहजता ल्याई अझै उत्कृष्ट सेवा प्रदान गर्ने प्रतिबद्धता पनि उनले व्यक्त गरेका थिए । सो कार्यक्रममा त्रिभुवन विश्वविद्यालयका रजिष्टार प्राडा पेसल दाहालले नेपाल बैंक र त्रिभुवन विश्वविद्यालयको सम्बन्ध र सहकार्यको बारेमा चर्चा गरेका थिए भने नेपाल बैंक रिटेल कर्जा विभाग प्रमुख निर्मलकृष्ण पाण्डे, त्रिभुवन विश्वविद्यालय आर्थिक महाशाखा प्रमुख कुमार हुमागाईलगायतले पनि मन्तव्य राखेका थिए ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया