Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारप्रभु–पेको ‘कि अस्क’ मेसिन प्रयोग गरी ट्राफिक जरिवाना तिर्न सकिने

प्रभु–पेको ‘कि अस्क’ मेसिन प्रयोग गरी ट्राफिक जरिवाना तिर्न सकिने


काठमाडौं । अबदेखि प्रभु–पेको ‘कि अस्क’ मेसिनको प्रयोग गरी ट्राफिक जरिवाना तिर्न सकिने भएको छ । महानगरीय ट्राफिक महाशाखाले बुधबारदेखि ट्राफिक नियम उल्लंघन गरेबापत चालकहरूले तिर्नुपर्ने जरिवाना रकम प्रभु–पेको कि अस्क मेसिनको प्रयोग गरी भुक्तानी गर्न सकिने व्यवस्थाको सुरुवात गरेको हो ।

महाशाखाले सुरुवाती चरणमा ट्राफिक नियम उल्लंघनकर्ताले जरिवाना तिर्न ग्लोबल आईएमई बैंकमा गई भौचरको आधारमा ट्राफिक जरिवाना तिर्नेगरेका थिए । पछिल्लो समय ट्राफिक प्रहरी सेवालाई प्रविधिमैत्री बनाउँदै विभिन्न ६४ वटा बैंकको मोबाइल बैंकिङ, डिजिटल वालेटका १४ वटा जरिवाना भुक्तानी सेवा प्रदायक संस्थाहरू र क्यूआर पेमेन्टबाट समेत जरिवाना तिर्न सकिने प्रणाली सञ्चालनमा छन् ।

आज एक कार्यक्रमका बीच ट्राफिक प्रहरी महाशाखाका प्रहरी वरिष्ठ उपरीक्षक उमेशराज जोशी र प्रभु–पेका अध्यक्ष कुसुम लामाले संयुक्त रूपमा नगद पैसा हालेर ट्राफिक जरिवाना तिर्न सकिने प्रविधि (प्रभु–पेको कि अस्क मेसिन) उद्घाटन गरेका हुुन् ।

कार्यक्रममा बोल्दै एसएसपी जोशीले ट्राफिक सेवालाई थप प्रविधिमैत्री बनाउँदै आम सेवाग्राहीलाई ट्राफिक जरिवाना तिर्न सरल एवं सहज होस् भन्ने उद्देश्यले यो मेसिनको जडान गरेको बताए । उनले कि अस्क मेसिनमा सिधै नगद हालेर जरिवाना भुक्तानी गर्न सकिन्छ, यसले बैंकमा गएर लामो समय लाइनमा बस्ने झन्झटबाट मुक्त हुने र समयको समेत बचत हुने धारणा व्यक्त गरे । उनले आम सेवाग्राहीको सहजताको लागि कि अस्क मेसिन जडानको लागि प्रभु–पेलाई हार्दिक धन्यवाद दिँदै थप ट्राफिक कार्यालयहरूमा सेवा विस्तार गर्न समेत सहयोग हुने अपेक्षा व्यक्त गरे ।

ट्राफिक महाशाखाले जरिवाना भुक्तानी गर्ने प्रविधिहरूलाई क्रमशः परिस्कृत गर्दै बुधबारदेखि मेसिनमा नगद प्रयोग गरी जरिवाना तिर्न सकिने सेवा सुरु गरेको छ । प्रभु–पेका अध्यक्ष कुसुम लामाले ट्राफिक प्रहरी महाशाखासँग सहकार्य गरी कि अस्क मेसिन जडान गरी सेवा विस्तार गर्न पाउँदा खुशी व्यक्त गरे । उनले यो मेसिनले बैंकिङ कारोबार बन्द भएको समयमा समेत सेवा दिने हुनाले ट्राफिक जरिवाना तिर्ने सेवाग्राही बढी लाभान्वित हुने समेत बताए ।

हाल ट्राफिक महाशाखासहित उपत्यकामा तीन सय नौ स्थानमा प्रभु–पेको कि अस्क मेसिनबाट ट्राफिक जरिवाना तिर्न सकिने र थप सहकार्य गरी अन्य ट्राफिक प्रहरी कार्यालयहरूमा समेत जडान गर्दै जाने अध्यक्ष लामाले बताइन् ।

कसरी तिर्ने मेसिनबाट जरिवाना ?
सर्वप्रथम प्रभु–पेको कि अस्क मेसिनमा रहेको ट्राफिक प्रहरीको लोगोमा क्लिक गरी स्क्रिनमा देखिने चिट नम्बर र आर्थिक वर्ष टाइप गरी नेक्स्ट बटन थिच्चनुहोस् । त्यसपछि देखिने चिट नम्बरलगायतको सूचना चेक गरी नेक्स्ट बटनमा थिचेर तिर्नुपर्ने रकम मेसिनमा हालेर भुक्तानी गर्नुहोस् । भुक्तानी सफल भएपछि प्रिन्ट भएको रसिदसहित ट्राफिक कार्यालयमा गई आफ्नो कागजपत्र लिन सकिन्छ ।

कोरोना संक्रमणको समयमा ट्राफिक कार्यालय र बैंकमा हुने अनावश्यक भिडभाडमा कमी आउने र कोरोना संक्रमणको जोखिमलाई न्यूनीकरण गर्न समेत यो मेसिनले महत्वपूर्ण भूमिका खेल्ने ट्राफिक प्रहरी महाशाखाका प्रवक्ता एवं एसपी सञ्जीव शर्मा दासले बताए । ट्राफिक जरिवाना तिर्न विभिन्न प्रविधिको विस्तार गर्ने क्रममा मोबाइल बैंकिङ वा अन्य अनलाइन प्रविधिको प्रयोग नगर्ने सेवाग्राहीलाई नगदै पैसा तिर्ने यो मेसिन अत्यन्त सहयोगी हुने कुरा उल्लेख गरे ।

ट्राफिक कार्यालयमा सेवा लिन आउने सम्पूर्ण सेवाग्राहीलाई सहज एवं सरल रूपमा सेवा दिन सधैँ तत्पर रहेको र अबका दिनमा समेत थप प्रविधिमा जोड दिने महाशाखाले जनाएको छ । विभिन्न प्रविधिको प्रयोग गरी ट्राफिक जरिवाना भुक्तानी गर्न आम सेवाग्राहीलाई ट्राफिक प्रहरी महाशाखाले अनुरोध समेत गरेको छ ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया