Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारराष्ट्रिय वाणिज्य बैंकको ३३ प्रतिशत लाभांश पारित

राष्ट्रिय वाणिज्य बैंकको ३३ प्रतिशत लाभांश पारित


काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको १६औँ वार्षिक साधारणसभा बिहीबार सम्पन्न भएको छ । सभाले ३३ प्रतिशत लाभांश (तीन प्रतिशत नगद र ३० प्रतिशत बोनस) सहितको आव २०७७–०७८ को वार्षिक प्रतिवेदन र विभिन्न प्रस्तावहरू पारित गरेको छ । सभाले चुक्ता पुँजीको तीन प्रतिशतका दरले हुन आउने २७ करोड ५५ लाख रुपैैयाँ नगद र ३० प्रतिशतले हुन आउने दुई अर्ब २७ करोड रुपैयाँबराबरको बोनस सेयर सेयरधनीहरूलाई प्रदान गर्ने निर्णय पारित गरेको छ । यसपछि बैंकको कुल चुक्ता पुँजी १३ अर्ब ९४ करोड रुपैयाँ हुनेछ । साथै, सभाले बैंकको अधिकृत पुँजी ३० अर्ब रुपैयाँ कायम गर्ने प्रस्ताव पारित गरेको छ ।

बैंक सञ्चालक समितिका अध्यक्ष डा. बलराम पाठकको अध्यक्षतामा सम्पन्न सो वार्षिक साधारणसभामा अध्यक्ष डा. पाठकले कोभिड–१९ पछिको अर्थतन्त्रलाई पुनरुत्थान गर्न नेपाल राष्ट्र बैंक तथा सरकारको नीति नियमलाई प्राथमिकताका साथ पालना गरिने बताए । उनले बदलिँदो परिवेश र ग्राहकको चाहनाअनुरूप यस बैंकले आफ्ना सेवा–सुविधाहरूमा समयसापेक्ष परिमार्जन गर्दै प्रविधिमा आधारित विभिन्न सेवाहरूका माध्यमबाट ग्राहकहरूसमक्ष आफ्ना गुणास्तरीय सेवाहरू प्रवाह गर्नुपर्ने आवश्यकतालाई प्राथमिकतामा राखेर बैंकको सञ्चालक समितिले नीतिगत निर्णयहरू लिइरहेको र आगामी दिनमा समेत यसतर्फ निरन्तर कटिबद्ध रहिरहने बताए ।

Open photo

कोभिड–१९ को जोखिमका कारण स्वास्थ्य सुरक्षासम्बन्धी मापदण्डको पालना गर्दै भौतिक तथा भर्चुअल माध्यमबाट सेयरधनीहरूको साधारणसभामा उपस्थिति रहेकोे थियो । सभामा बैंकका सेयरधनीहरू क्रमशः नेपाल सरकार अर्थ मन्त्रालय, महालेखानियन्त्रक कार्यालय, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय, ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयका प्रतिनिधि तथा सार्वसाधारण सेयरधनीहरूको प्रत्यक्ष तथा भर्चुअल माध्यमबाट उपस्थिति रहेको थियो । अध्यक्ष डा. पाठकले प्रस्तुत गरेको प्रतिवेदनमाथि सेयरधनीहरू डमरु वल्लभ घिमिरे, रामगोपाल श्रेष्ठ र अमृतनाथ रेग्मीले टिप्पणी गर्नुका साथै बैंक सुधारको निमित्त विभिन्न सुझावसहितको धारणा राखेका थिए । सो टिप्पणी एवं जिज्ञासाबारे बैंक सञ्चालक समितिका अध्यक्ष डा. बलराम पाठकले जवाफ दिएका थिए ।

सो साधारणसभामा बैंक सञ्चालक समितिका सदस्यहरू केदारनाथ शर्मा, जनककुमार बराल, प्राडा राजनबहादुर पौडेल, प्राडा माधवप्रसाद दाहाल, रोमिला ढकाल उप्रेती तथा बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ, नायब प्रमुख कार्यकारी अधिकृत देवेन्द्ररमण खनाल, उपकार्यकारी अधिकृतहरू सरस्वती अधिकारी, देवेशप्रसाद लोहनी, विमल डंगोल, पवन रेग्मी र विनयरमण पौडेलको उपस्थिति रहेको थियो । सभामा महालेखापरीक्षकको कार्यालय र कम्पनी रजिष्ट्रारको कार्यालयका प्रतिनिधि, बैंकका कानुनी सल्लाहकारहरू, बैंकभित्र क्रियाशील ट्रेड युनियका अध्यक्षहरूलगायतका अतिथिहरूको उपस्थिति रहेको थियो । (आर्थिक दैनिकबाट)


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया