Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारस्वावलम्बन लघुवित्तको एक शाखा एक छात्रवृत्ति व्यवस्था

स्वावलम्बन लघुवित्तको एक शाखा एक छात्रवृत्ति व्यवस्था


काठमाडौं, माघ २२
स्वावलम्बन लघुवित्त वित्तीय संस्थाले एक शाखा एक छात्रवृत्ति कार्यक्रमको घोषणा गरेको छ । संस्थाले आफ्ना ग्राहक सदस्यका जेहेन्दार छात्रछात्रालाई उच्च शिक्षा अध्ययनमा सहयोग पुग्ने हेतुले एक शाखा एक छात्रवृत्तिको व्यवस्था गरेको हो । संस्थाले प्रत्येक शाखा कार्यालयबाट माध्यामिक शिक्षा परीक्षा (एसईई) मा सबभन्दा बढी अंक प्राप्त गर्ने छात्रछात्रामध्ये एक जनालाई नगद र प्रमाणपत्रसहित छात्रबृत्ति प्रदान गर्ने व्यवस्था मिलाएको जनाइएको छ ।

यो व्यवस्थापश्चात् वित्तीय संस्थाले वित्तीय अनुशासन पालन गर्ने सदस्यका छोराछोरीलाई हाल कायम रहेका संस्थाका प्रत्येक शाखा कार्यालयहरूबाट छात्रवृत्ति प्रदान गर्नेछ । यसरी प्रत्येक वर्ष शाखा कार्यालय बराबर संख्यामा ग्राहक सदस्यका छोराछोरी प्रत्यक्ष लाभान्वित हुने विश्वास गरिएको छ । वित्तीय संस्थाका नेपालभर हाल एक सय ४० वटा शाखा कार्यालयहरू रहेका छन् । छात्रवृत्ति कार्यक्रममा सरकारी/सामुदायिक विद्यालयमा अध्ययन गरेका छात्रछात्राहरू प्राथमिकतामा पर्ने समेत जनाइएको छ ।

न्यून आय भएको वर्गलाई लघुकर्जा, लघुबचत, क्षमता अभिवृद्धि तालिमलगायत विभिन्न वित्तीय तथा गैरवित्तीय सेवा उपलब्ध गराउँदै आएको वित्तीय संस्थाले ग्राहक संरक्षण तथा सामाजिक उत्तरदायित्व कार्यअन्तर्गत नेपालभर रहेका आफ्ना शाखा कार्यालयमार्फत शिक्षा, स्वास्थ्य, वातावरण संरक्षणलगायत अन्य सामाजिक कार्यमा हातेमालो गर्दै आएको छ ।

राष्ट्रियस्तरको कार्यक्षेत्र रहेको संस्थाले हाल ६१ जिल्लामा रहेका एक सय ४० वटा शाखा कार्यालयमार्फत दुई लाख ४७ हजार सदस्यलाई प्रत्यक्ष लघुवित्त सेवा प्रदान गर्दै आएको छ । वित्तीय संस्थाको अधिकृत पुँजी एक अर्ब साथै जारी तथा चुक्ता पुँजी ७९ करोड २३ लाख रहेको छ ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया