Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारनेपाल सहकारी बैंक दर्ता प्रक्रिया सुरु

नेपाल सहकारी बैंक दर्ता प्रक्रिया सुरु


काठमाडौं । नेपाल सहकारी बैंक लिमिटेडको दर्ता प्रक्रियाअगाडि बढेको छ । प्रस्तावित बैंकका तदर्थ सञ्चालक समितिका अध्यक्ष सुरेन्द्र भण्डारीले प्रस्तावित बैंकको अवधारणापत्र र सम्भाव्यता अध्ययनको विषयमा नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी, डेपुटी गभर्नरलगायत उच्च अधिकारीलाई जानकारी समेत गराएका छन् ।

राष्ट्र बैंकमा सोमबार आयोजित कार्यक्रममा अध्यक्ष भण्डारीले राष्ट्र बैंकले तोकेअनुसारको सबै प्रक्रिया पूरा गरी प्रस्ताव तयार गरेको बताए । प्रतिस्पर्धात्मक मुलुकमा एउटा मात्र बैंकले करिब ३० हजार सहकारीको कारोबार र अन्य आर्थिक क्रियाकलाप गर्न नसक्ने भएपछि नेपाल सहकारी बैंक दर्ता प्रक्रिया सुरु गरेको उनको भनाइ थियो । कार्यक्रममा प्रस्तावित बैंकका प्रमुख सल्लाहकार आनन्द ढुंगानाले प्रस्तावित बैंक अपरिहार्य रहेको उल्लेख गर्दै दर्ता प्रक्रिया अविलम्ब अघि बढाउन आग्रह गरेका थिए । कार्यक्रममा राष्ट्र बैंकका गभर्नर अधिकारीले चाँडै नै प्रक्रिया अघि बढाइने आश्वासन दिएका थिए । प्रस्तावित बैंकले यसअघि गत पुस २२ गते सहकारी विभागका रजिष्ट्रार, उपरजिष्ट्रारलगायतका अधिकारीलाई प्रस्तावित बैंकको अवधारणापत्र प्रस्तुत गरेको थियो । बैंक तदर्थ समितिका अध्यक्ष भण्डारीले अनुमतिपत्र पाएलगत्तै बैंक सञ्चालनमा आउने बताए ।

साढे दुई अर्ब रुपैयाँ चुक्ता पुँजी प्रस्ताव गरिएको नेपाल सहकारी बैंक सञ्चालनमा आएपछि यसलाई देशव्यापीरूपमा विस्तार गरिने उनको भनाइ थियो । सहकारी ऐन २०७४ को दफा १२ मा सहकारी बैंकले संस्था वा संघको बचत स्वीकार गर्ने, त्यस्तो संस्था वा संघलाई ऋण प्रवाह गर्ने वा बैंकिङ सेवा उपलब्ध गराउने उद्देश्य लिई संस्था वा संघ आपसमा मिली नेपाल राष्ट्र बैंकबाट पूर्वस्वीकृति लिई सहकारी बैंकहरू गठन गर्न सकिने व्यवस्था गरिएको छ । सहकारी ऐन २०७४ र सहकारी नियमावली २०७५ ले स्पष्ट व्यवस्था गरेअनुसार बैंक दर्ता प्रत्रिया सुरु भएको हो । सहकारी ऐन र नियमावलीमा भएको व्यवस्थाअनुसारको प्रक्रियाहरू पूरा गरेपछि सहकारी विभागमा दर्ता गरी नेपाल राष्ट्र बैंकको अनुमति लिएर बैंकिङ कारोबार सुरुवात गर्ने प्रावधान छ । सोही प्रावधानअनुसार बैंक दर्ता प्रक्रिया अन्तिम चरणमा पुगेको अध्यक्ष भण्डारीले जानकारी दिए ।

अध्यक्ष भण्डारीले नेपाल राष्ट्र बैंकले गरेको अध्ययनअनुसार बैंक तथा वित्तीय संस्थाबाट प्रवाह हुने कर्जामा जनताको पहुँच न्यून रहेको, सहकारी संघ/संस्थाको संख्या तथा कारोबारमा भएको वृद्धिसँगै एक मात्र सहकारी बैंकले सहकारी क्षेत्रको वित्तीयलगायत अन्य आवश्यकताहरू पूरा गर्न नसक्ने, राष्ट्रिय सहकारी बैंकको सहकारी क्षेत्रको समग्र कारोबारमा, सेयरमा दुई प्रतिशत, निक्षेपमा आठ प्रतिशत र ऋण लगानीमा सात प्रतिशतभन्दा कम हिस्सा रहेको, सहकारी क्षेत्रको ९० प्रतिशतभन्दा बढीको कारोबार अन्य बैंक तथा वित्तीय संस्थाहरूमा रहेकोले एक मात्र सहकारी बैंकले सहकारी संघ/संस्थाहरूलाई समेट्न र सुविधा उपलब्ध गराउन नसक्ने कारण बैंक दर्ता अपरिहार्य रहेको राष्ट्र बैंकलाई जानकारी गराएका थिए । कार्यक्रममा तदर्थ सञ्चालक समितिका सञ्चालक सीताराम काफ्ले, डा. ज्ञानेन्द्रप्रसाद पौडेल, माधव दुलाल, पुष्पबहादुर पौडेल र चार्टर्ड एकाउन्टेन अनिल पौडेललगायतको उपस्थिति रहेको थियो ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया