Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारकृषि विकास बैंकको मूल्य श्रृङ्खला परियोेजना सुरु

कृषि विकास बैंकको मूल्य श्रृङ्खला परियोेजना सुरु


काठमाडौं । कृषि विकास बैंकको सहकार्यमा कृषिको समावेशी रूपान्तरणका लागि मूल्य श्रृङ्खला परियोेजना (भिटा) सुरु भएको छ । बैंकका अनुसार अर्थमन्त्रालय र कृषि विकासका लागि अन्तर्राष्ट्रिय कोष (आईएफएडी) बीच विस २०७८ असोजमा भएको सम्झौताबमोजिमको कृषिको समावेशी रूपान्तरणका लागि मूल्य श्रृङ्खला परियोजना सञ्चालन गर्ने कार्यक्रम राजस्व सचीव कृष्णहरि पुस्करले ठमेलको एलोफ्ट होटलमा एक कार्यक्रमका बीच विधिवत् रूपमा कार्यक्रमको शुभारम्भ गरेका हुन् ।

हालैका दिनमा नेपाल सरकारले कृषि लगानीका लागि अगुवा बैंकको रूपमा परिभाषित गरेको, किसान कार्ड/एप्स जारी गरिरहेको, कृषि बण्ड जारी गरी स्रोत संकलनमार्फत कृषि क्षेत्रमा वित्तीय सहयोग पु-याउँदै आएको कृषि विकास बैंकलाई नेपाल सरकारमार्फत आईएफएडीबाट करिब ८० मिलियन अमेरीकी डलर वित्तीय ऋण सहयोग उपलब्ध हुनेछ । बैंकका अनुसार यो भिटा कार्यक्रम देशका पाँचवटा प्रदेशको विभिन्न जिल्लाहरूमा आयात प्रतिस्थापन गर्न सकिने, निर्यात प्रवद्र्धन योग्य र केही कृषि वस्तुमा मुलुकलाई आत्मनिर्भरतातर्फ लैजाने खालका १२ वटा बाली तथा पशुवस्तुमा सहुलियतपूर्ण कर्जा लगानी गर्नका लागि कृषि विकास बैंकलाई कार्यक्रम कार्यान्वयन निकायको रूपमा तोकिएको छ ।

कार्यक्रमको शुभारम्भ गर्दै राजस्व सचिव पुस्करले यस किसिमको सहयोगले साना कृषकहरूको आयस्तर वृद्धि हुने, रोजगारी सिर्जना हुने तथा यस क्षेत्रको व्यवसायीकरण, समावेशीकरण तथा प्रतिस्पर्धात्मक विकास हुने अपेक्षा गर्दै यस कार्यक्रमले प्रत्यक्षरूपमा एक लाख २० हजार साना कृषक परिवारहरू विशेष गरी महिला, युवा, दलित, जनजातिलगायत पिछडिएका वर्गहरूको क्षमता, वित्तीय सेवा र बजार पहुँचमा वृद्धि गर्दै जीविकोपार्जनमा सुधार गर्ने जानकारी दिएका छन् ।

उक्त कार्यक्रममा कृषि तथा पशुपन्छी विकास मन्त्रालय कृषि, पशुतर्फका सचिव क्रमशः डा. गोविन्द प्रसाद शर्मा र निरु दाहालले परियोजना सफलताका लागि शुभकामना व्यक्त गरेका थिए । दात्तृ निकाय आईएफएडीका तर्फबाट कन्ट्री डाइरेक्टर रोशन कुकले आफ्नो अनुभव र कार्यक्रमका बारेमा प्रकाश पार्दै कार्यक्रमको सफलताको कामना समेत गरेका थिए ।

उक्त कार्यक्रममा सहभागीहरूलाई स्वागत गर्दै बैंकका प्रमुख कार्यकारी अधिकृत अनिलकुमार उपाध्यायले दात्तृ निकायमार्फत प्राप्त उक्त सहुलियतपूर्ण कर्जा रकम सही ढंगबाट कृषक, उद्यमी, संकलनकर्ता, प्रशोधनकर्ता आदिलाई मूल्य श्रृङ्खलामा आबद्ध गराई लगानी गरिने प्रतिबद्धता व्यक्त गरे । साथै उनले सो कार्यक्रम गर्नका लागि कृषि विकास बैंकलाई जिम्मेवारी दिइएकोमा नेपाल सरकार, अर्थ मन्त्रालय, आईएफएडीलगायत सरोकारवाला सबै निकायलाई धन्यवादज्ञापन समेत गरे ।

उक्त अवसरमा आईएफएडी परियोजनाको संक्षिप्त जानकारी बैंकका उपमहाप्रबन्धक बाबुकाजी थापा तथा परियोजना निर्देशक विना शर्माले संयुक्त रूपमा प्रस्तुत गरेका थिए । कृषि विकास बैंकका अध्यक्ष तथा अर्थ मन्त्रालयका सहसचिव रमेश कुमार केसीले कार्यक्रमको अध्यक्षता गरेका थिए । कार्यक्रमलाई सम्बोधन गर्दै बैंकले स्थापना हुँदाकै बखतमा लिएका उद्देश्यअनुसार कृषि, साना, लघु तथा मध्यम उद्यम क्षेत्रमा उत्पादन र उत्पादकत्व वृद्धि हुनेगरी तथा आयात प्रतिस्थापन हुनेगरी मूल्य श्रृङ्खलाको अवधारणाबाट लगानी गरिने बताए ।

कार्यक्रमले साना किसानहरूको व्यवसाय वृद्धिमा टेवा पु-याउने र कार्यक्रम सफल हुनेमा आफू विश्वस्त रहेको कुरा बताए । सो कार्यक्रममा विभिन्न सरकारी, गैरसरकारी, अन्तर्राष्ट्रिय गैरसरकारी निकाय तथा बैंकका सञ्चालकहरू, उपमहाप्रबन्धकहरू, कम्पनी सचिव, विभागीय प्रमुख र पत्रकारहरूको उपस्थिति रहेको थियो भने कार्यक्रमको सञ्चालन शाखा प्रमुख प्रेम प्रसाद खनालले गरेका थिए । 


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया