Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारपुँजीबजार सुधारको लागि अर्थमन्त्री शर्माको ११ बुँदे निर्देशन

पुँजीबजार सुधारको लागि अर्थमन्त्री शर्माको ११ बुँदे निर्देशन

पुँजीबजारमा राजनीति नगर्न र इन्साइटर ट्रेडिङ रोक्न आग्रह


काठमाडौं । पुँजीबजार भनेको अर्थतन्त्रलाई हेर्ने वास्तविक ऐना हो । यो ऐना सफा भएमा अर्थतन्त्र पनि सफा अर्थात् सबल र बलियो देखिन्छ । सोही कारण पनि अर्थमन्त्री जनार्दन शर्मा प्रभाकरले पुँजीबजारका सुधार गर्न धितो बोर्ड र नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से)को नवनियुक्त प्रमुखहरूलाई निर्देशन दिएका छन् । अर्थ मन्त्रालयले नवनियुक्त प्रमुखहरूलाई स्वागत गर्न आयोजना गरेको कार्यक्रमा अर्थमन्त्री शर्माले पुँजीबजारका सुधार गर्न दुवै निकायलाई विभिन्न ११ बुँदे निर्देशन दिएका हुन् ।

पुँजीबजारको समस्या समाधान गर्ने र सर्वसाधारणको लगानीको सुरक्षा गर्ने मुख्य उदेश्यले दुवै निकायमा नयाँ नेतृत्व छनोट गरेको उनको भनाइ छ । अर्थ मन्त्रालयले खुला प्रतिस्पर्धाका माध्यमबाट बोर्ड अध्यक्षमा रमेश हमाल र नेप्सेको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा कृष्णबहादुर कार्कीलाई नियुक्त गरेको थियो । अर्थमन्त्री शर्माले उत्पादन र पूर्वाधारका क्षेत्रमा लगानी गर्न चाहिने रकम पुँजीबजारबाट आउने वातावरण सिर्जना गर्न समेत निर्देशन दिए । यस्तै उनले पुँजीबजारमा लगानी भएको पैसा ठूला परियोजनामा आउने वातावरण सिर्जना गर्नुपर्ने समेत बताए । ‘जनतामा भएको पैसा पुँजीबजारमा त आयो । अब यो पैसालाई पुँजी निर्माणमा लगाउन सक्नुप-यो । ठूला परियोजनामा पुँजी लगानी गर्ने विषयमा तपाईँहरू (धितोबोर्ड र नेप्सेका अधिकारी)ले ध्यान दिनुपर्छ’, उनले भने, ‘राष्ट्रिय महत्वका आयोजनामा कसरी लगानी व्यवस्थापन गर्न सकिन्छ भन्ने कुरामा ध्यान दिनु अहिलेको पुँजीबजारको आवश्यकता हो ।’

साथै उनले पुँजीबजारमा राजनीति नगर्न पनि आग्रह गरे । पुँजीबजारलाई स्वचालित ढङ्गले चल्न दिनुपर्ने भन्दै उनले फलानो मन्त्री यस्तो भयो भन्दै चलखेल नगर्न आग्रह गरे । पुँजीबजारका समस्या हल गर्न आफूले प्राथमिकता दिएर काम गरेको स्मरण गराउँदै उनले सुधारको कार्य थालनी गर्ने क्रममा धितोपत्र बोर्ड र नेपाल स्टक एक्सचेन्जमा नयाँ नेतृत्व चयन गरेको समेत उल्लेख गरे । नयाँ नेतृत्वले मुलुकको पुँजीबजारलाई सुधार गरी नयाँ ठाउँमा पु-याउने उनको विश्वास छ ।

उनले इन्साइडर ट्रेडिङ, पम्प एड डम्प र सर्कुलर कारोबारजस्ता विकृत क्रियाकलाप आउँदो दिनमा पुँजीबजारमा नदेखिन गरी काम गर्न पनि निर्देशन दिए । ‘म मन्त्रालयमा आउनासाथ सर्कुलर कारोबार, पम्प एड डम्प र इन्साइडर ट्रेडिङजस्ता विकृत कारोबारका विषयमा कसैले आधिकारिकरूपमा केही भनेको थिएन । म आएपछि यो विकृतिबारे बोलिएको र छानबिन गरी कारबाहीको दायरामा ल्याइएको छ’, उनले भने, ‘त्यसैले आउँदा दिनमा पनि यस्ता विकृत कारोबार मान्य हुँदैन ।’ यस्तै उनले साना लगानीकर्ताको पुँजीबजारमा प्रवेश गराउने, अहिले कारोबार गरिरहेका साना लगानीकर्तालाई सुरक्षित गर्ने, ओटीसी बजारलाई प्राथमिकता दिने, नेप्से र धितोपत्र बोर्डबीच आसपसी तालमेल गर्ने, सेयर सूचीकरणमा आउन नसकेका कम्पनीलाई सहजीकरण गर्ने, ब्रोकरको क्षमता बढाउने, सफ्टवेयरको क्षमता विकास गर्ने, ‘टीएमएस’बाट थप सेवा सुचारु गर्नेलगायतका निर्देशन दिए ।

यस्तै उत्पादनमूलक धेरै कम्पनीहरू सेयर मार्केटभन्दा बाहिर रहेकाले सेयर बजारमा ल्याउन बुक बिल्डिङ प्रणाली लागू गर्ने, इन्डेक्स फन्ड तथा ट्रेडेट फन्डको सुरुवात गर्ने, पुँजीबजारलाई व्यवस्थित बनाउन अन्तर्राष्ट्रिय बजारको अध्ययन गर्नेलगायतका काम गर्न निर्देशन दिए ।

कार्यक्रममा अर्थसचिव मधुकुमार मरासिनीले नयाँ नेतृत्वले पुँजीबजारलाई सकारात्मक बाटोमा डो-याउने विश्वास लिएको बताए । त्यस्तै राजस्व सचिव कृष्णहरि पुस्करले सेयर बजार धेरै सुधार हुँदै गएको र भएका कमीकमजोरीलाई अर्थ मन्त्रालयको निर्देशनमा पारदर्शी रूपमा सुधार्ने काम जारी रहेको उल्लेख गरे । उनले अन्तर्राष्ट्रिय बजारसँग पनि प्रतिस्पर्धी हुने गरी नेपालको सेयर बजारलाई अगाडि बढाउन समेत निर्देशन दिए ।

धितोपत्र बोर्डको नवनियुक्त अध्यक्ष रमेश हमालले वित्तीय साक्षरताका क्षेत्रमा धेरै काम गरेर सेयर लगानीकर्ताहरूलाई सुसूचित गर्ने बताए । उनले साक्षरताकै अभावमा लगानीकर्ताहरू हल्ला गर्ने वा हल्लाको पछि लाग्ने देखिएको बताए । त्यस्तै ठूलो ‘मार्केट मेकर’को अभाव देखिएको उनको भनाइ थियो । नेप्सको नवनियुक्त प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर कार्कीले लगानीकर्ताको गुनासो नआउने गरी काम अगाडि बढाउने प्रतिबद्धता जनाएका छन् ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया