Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारइसेवा मनि ट्रान्सफर तेस्रो वर्षमा

इसेवा मनि ट्रान्सफर तेस्रो वर्षमा

रेमिट्यान्सलाई डिजिटाइजेसनतर्फ लैजान अग्रणी भूमिका


काठमाडौं । इसेवा मनि ट्रान्सफर दुई वर्ष पूरा गरी तेस्रो वर्षमा प्रवेश गरेको छ । २०७७ वैशाख ३० गते नेपालकै अग्रणी फिन टेक कम्पनी एफवान सफ्ट ग्रुपअन्तर्गत स्थापना भएर सञ्चालनमा आएको डिजिटल रेमिट्यान्स कम्पनी इसेवा मनी ट्रान्सफर तेस्रो वर्षमा प्रवेश गरेको हो । यस रेमिट्यान्स कम्पनीले हाल संसारका २०० भन्दा धेरै देशका ३० भन्दा बढी अन्तर्राष्ट्रिय रेमिट्यान्स साझेदारको सहायतामा नेपालमा रेमिट्यान्स भित्र्याउँदै आएको छ ।

दुई वर्षअघि सञ्चालनमा आएसँगै डिजिटल रेमिट्यान्सलाई प्राथमिकता दिँदै ‘मेरो पहिलो रोजाइ’ नारा बोकेर अघि बढेको यो रेमिट्यान्स कम्पनीले डिजिटल प्रविधिको माध्यमद्वारा हाल मुलुकका ६० भन्दा बढी बैंक तथा वित्तीय संस्थाहरूसँग समन्वय गर्दै तुरुन्तै ग्राहकको खातामा रेमिट्यान्स भित्र्याउँदै आएको छ । त्यस्तै, इसेवा मनी ट्रान्सफरमार्फत ५० लाखभन्दा बढी प्रयोगकर्ताको सञ्जाल भएको इसेवा वालेटमा पनि विदेशमा रहेका नेपालीहरुले सहजै पैसा पठाउँदै आएका छन् ।

डिजिटल प्रविधिबाट रेमिट्यान्स पठाउन मिल्ने भएकाले इसेवा मनी ट्रान्सफरमार्फत रेमिट्यान्स पठाउँदा सेवाग्राहीले कम शुल्कमै रेमिट्यान्स पठाउन पाएका छन् । त्यस्तै, यस कम्पनीले आफ्ना एजेन्ट नेटवर्कलाई पनि व्यापक मात्रामा वृद्धि गर्दै देशका हरेक गाउँ अनि सहरसम्म आफ्नो सेवा विस्तार गरिसकेको छ । हाल, यस कम्पनीका मुलुकभर १८ हजार भन्दा धेरै संख्यामा एजेन्ट नेटवर्क रहेका छन् ।

इसेवा मनि ट्रान्सफर मार्फत ग्राहकहरुले विदेशबाट आएको रकम तुरुन्तै पाउन तथा आन्तरिक रेमिट्यान्सको सेवा उपयोग गर्दै कम शुल्कमा देशभर रेमिट्यान्स पठाउन सक्छन् । यति मात्र नभएर देशका हरेक क्षेत्रमा रहेका इसेवाका एक लाखभन्दा धेरै एजेन्ट नेटवर्क तथा क्यास पोइन्टमार्फत पनि सेवाग्राहीले इसेवा मनी ट्रान्सफरको रेमिट्यान्स सेवा प्राप्त गरिरहेका छन् । साथै, इसेवा मनी ट्रान्सफरले रेमिट्यान्स पठाउने तथा पाउने दुवै पक्षलाई लक्षित गर्दै आकर्षक क्यासब्याक अफरहरु सञ्चालन गर्दै आएको छ ।

दोस्रो वार्षिकोत्सवको अवसरमा इसेवा मनि ट्रान्सफरका प्रमुख कार्यकारी अधिकृत अजेश कोइरालाले भने, ‘कार्यसञ्चालनको दुई वर्षमै इसेवा मनी ट्रान्सफरले सुलभ, छिटो, विश्वसनीय र परिष्कृत सेवा प्रदान गर्दै विदेशमा रहेका नेपालीहरुको मन जितेर पहिलो रोजाइ बन्न सफल भएकोमा हामी एकदमै खुसी र उत्साहित छौँ । हाम्रो यस सफलताको श्रेय, सम्पूर्ण साझेदार, नियमनकारी निकाय, कर्मचारी, एजेन्ट, ग्राहक वर्गलगायत सम्पूर्ण शुभचिन्तकहरुलाई दिन चाहन्छु । आफ्नो सेवा विस्तारका बारे कोइरालाले थपे, ‘हामी आउँदा दिनहरुमा थप अन्तर्राष्ट्रिय साझेदारसँग समन्वय गर्दै थप नेपालीसम्म आफ्नो सेवा विस्तार गर्दै लैजानेछौँ र उनीहरुलाई रेमिट्यान्स कारोबारमा थप सुविधा पुर्याउने छौँ ।’


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया