Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारकालिका लघुवित्तको अध्यक्षमा क्षेत्री

कालिका लघुवित्तको अध्यक्षमा क्षेत्री


काठमाडौं । पोखरामा केन्द्रीय कार्यालय रहेको कालिका लघुवित्त वित्तीय संस्थाको अध्यक्षमा चन्द्र बहादुर क्षेत्री नियुक्त भएका छन् । संस्थाको जेठ १० गते बसेको सञ्चालक समितिको बैठकको निर्णयानुसार सोही संस्थाका सञ्चालक रहेका क्षेत्री सर्वसम्वतरूपमा अध्यक्ष पदमा चयन भएका हुन् ।

यसअघिका अध्यक्ष कृष्ण खाँड वालिद्ध नगरपालिकाको मेयरमा निर्वाचित भएपछि सो जिम्मेवारीमा कालिका लघुवित्तको बोर्डले क्षेत्रीलाई सर्वसम्मत चयन गरेको बताइएको छ । महाशीला गाउँपालिका वडा नं.४ पाखापानी पर्वत स्थायी ठेगाना भई हाल कुस्मा नगरपालिका वडा नं.६ मा बसोबास गर्ने क्षेत्रीले कानुन विषयमा स्नातक साथै मानविकी र समाजशास्त्र विषयमा स्नाकोत्तर गरेका छन् ।

उनी २०४६ देखि २०५० सम्म शिक्षण पेसामा, विसं २०५५ देखि २०७४ सम्म जिबिसलगायत विभिन्न संघसंस्थामा कानुनी सल्लाहकार साथै विसं २०५१ देखि हालसम्म वकालत पेसामा आबद्ध रहेका छन् । संस्थाले चालू आर्थिक वर्षको तेस्रो त्रैमासिक अवधिमा ११ करोड १८ लाख ६४ हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । गत आवको सोही अवधिमा संस्थाको यस्तो नाफा छ करोड ९७ हजार रुपैयाँ रहेको थियो ।

हाल चुक्ता पुँजी ३१ करोड २८ लाख ७५ हजार रुपैयाँ रहेको संस्थाले चालू आवको तेस्रो त्रैमासिक अवधिमा एक अर्ब ४२ करोड ७६ लाख छ हजार रुपैयाँ निक्षेप संकलन गरी तीन अर्ब ९० करोड ४४ लाख ८१ हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा २१ करोड ९५ लाख ४६ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको संस्थाको प्रोभिजन रकम छ करोड ११ लाख ४६ हजार रुपैयाँ रहेको छ भने निष्क्रिय कर्जाको अनुपात तीन दशमलव ७२ प्रतिशत रहेको छ ।

गत आवको सोही अवधिमा भने संस्थाले एक अर्ब २० करोड ३५ लाख ४२ हजार रुपैयाँ निक्षेप संकलन गरी दुई अर्ब ९९ करोड ४६ लाख ५६ हजार रुपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा २० करोड ९१ लाख ४४ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको संस्थाको प्रोभिजन रकम १३ करोड १४ लाख ७५ हजार रुपैयाँ रहेको थियो भने निष्क्रिय कर्जाको अनुपात चार दशमलव १७ प्रतिशत रहेको थियो ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया