Techie IT
×
गृहपृष्ठवित्त पूँजी बजारसमृद्धि फाइनान्सको ७२ महिनामा पैसा दोब्बर हुने निक्षेप योजना

समृद्धि फाइनान्सको ७२ महिनामा पैसा दोब्बर हुने निक्षेप योजना


काठमाडौं । समृद्धि फाइनान्सले मुद्दती निक्षेपको योजनाअन्तर्गत ७२ महिनामा पैसा दोब्बर हुने निक्षेप योजना सार्वजनिक गरेको छ । यसका साथ साथै फाइनान्सले १० वर्षमा पैसा तेब्बर, १५ वर्षमा पैसा पाँच गुणा र २० वर्षमा पैसा आठ गुणा हुने निक्षेप योजना पनि सार्वजनिक गरेको छ । समृद्धि फाइनान्सको पाँचवटै शाखाबाट यो सेवा लिन न्यूनतम ५० हजार रुपैयाँदेखि नै खाता खोल्न सकिने व्यवसाय प्रवद्र्धन विकासका अधिकृत सुरज कुमार सर्राफले जानकारी दिएका छन् ।

फाइनान्सले मुद्दती निक्षेपमा सर्वाधिक १२ दशमलव २५ प्रतिशत र बचत निक्षेपमा अधिकतम १० प्रतिशतसहित आर्कषक ब्याजदरसहितका विभिन्न बचत खाताहरू समेत सञ्चालनमा ल्याएको छ । फाइनान्सले हाल पाँचवटा शाखाबाट सेवा प्रवाह गर्दै आएको र शाखा सञ्जाल विस्तार गर्दै चाँडै नै जनकपुर, इटहरी र बनेपामा पनि शाखा सञ्चालन हुने जनाएको छ । फाइनान्सले चालू आर्थिक वर्षको तेस्रो त्रैमासिक अवधिमा २८ लाख २८ हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । गत आवको सोही अवधिमा भने फाइनान्सको यस्तो नाफा ५४ लाख दुई हजार रुपैयाँ रहेको थियो ।

हाल चुक्ता पुँजी ७२ करोड ४८ लाख ६५ हजार रुपैयाँ रहेको फाइनान्सले चालू आर्थिक वर्षको तेस्रो त्रैमासिक अवधिमा एक अर्ब ६५ करोड ५९ लाख ६५ हजार रुपैयाँ निक्षेप संकलन गरी एक अर्ब ५१ करोड २३ लाख २९ हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा पाँच करोड १७ लाख चार हजार रूपैैंयाँ खुद ब्याज आम्दानी गरेको फाइनान्समा तीन दशमलव ५९ प्रतिशत कर्जा निष्क्रिय रहेको छ । सो अवधिमा चार दशमलव २७ प्रतिशत स्प्रेड दर रहेको फाइनान्सको वितरणयोग्य नाफा भने एक करोड १५ लाख ६७ हजार रुपैयाँले ऋणात्मक रहेको छ ।

गत आवको सोही अवधिमा भने फाइनान्सले ७० करोड ८२ लाख आठ हजार रुपैयाँ निक्षेप संकलन गरी ८१ करोड १९ लाख ५२ हजार रुपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा १९ लाख ६८ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको फाइनान्समा १६ लाख ५० प्रतिशत कर्जा निष्क्रिय रहेको थियो भने स्प्रेड दर चार दशमलव ९० प्रतिशत रहेको थियो । 


क्याटेगोरी : वित्त पूँजी बजार

तपाईको प्रतिक्रिया