Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारसिटिजन्स बैंकको शाखारहित बैंकिङ सेवा धनुषाको रमदैयामा

सिटिजन्स बैंकको शाखारहित बैंकिङ सेवा धनुषाको रमदैयामा


काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशका विभिन्न दुर्गम स्थलका बासिन्दाहरूलाई सर्वसुलभ तथा अत्याधुनिक बैंकिङ सेवा पु-याउने उद्देश्यका साथ शाखारहित बैंकिङ सेवा विस्तार गरेको छ । यसै क्रममा बैंकले धनुषा जिल्लाको क्षिरेश्वरनाथ नगरपालिका– ०१ रमदैया भवाडीमा यही असार तीन गतेबाट ९४औँ शाखारहित बैंकिङ सेवा प्रारम्भ गरेको छ । सो स्थानमा सेवा सञ्चालनका लागि स्थानीय व्यवसायी शम्भु यादवलाई व्यावसायिक प्रतिनिधि नियुक्त गरिएको छ ।

यस शाखारहित बैंकिङबाट निक्षेप संकलन, रकम भुक्तानी, कोष स्थानान्तरण, मोबाइल फोनको बिल भुक्तानी, उपयोगी सेवाहरूको रकम भुक्तानीलगायत बैंकले प्रदान गर्ने अन्य सेवाहरू उपलब्ध गराउने लक्ष्य राखिएको छ । यस सेवाबाट ग्रामीण क्षेत्रमा बैंकप्रति उल्लेख्य विश्वास एवं बैंकिङ सभ्यताको विस्तार हुने अपेक्षा बैंकले लिएको छ ।

आफ्ना ग्राहकहरूको वित्तीय आवश्यकताहरू सुरक्षित तवरले प्रदान गर्ने अभिप्रायका साथ यसअघि नै बैंकले कियोस्क, ई केवाईसी तथा नागरिक एपमार्फत अनलाइन खाता खोल्न सक्नेजस्ता सुविधाको सुरुवात गरी सकेको छ । साथसाथै, यस बैंकका ग्राहकहरूको बैंकसम्बन्धी जिज्ञासा तथा समस्याहरूको छिटोभन्दा छिटो समाधान प्राप्त होस् भन्ने उद्देश्यले ग्राहक सहायता केन्द्रको समेत स्थापना गरिसकेको छ । जसबाट बैंकका ग्राहक सेवा प्रतिनिधिहरूसँग सम्पर्क गरी आफ्ना बैंकिङसम्बन्धी जिज्ञासा तथा समस्याहरूको समाधान शाखामा उपस्थित नभईकन ०१–५९७००६८ नम्बरमा फोन गरी तथा ईमेल गरी प्राप्त गर्न सक्नेछन् ।

यस प्रकारको सेवाबाट बैंकका ग्राहकहरूले सहजरूपमा सेवा प्राप्त गरी लाभान्वित हुने तथा डिजिटल बैंकिङ सभ्यताको विकास हुने विश्वास बैंकले लिएको छ । बैंकले देशैभरि फैलिएका आफ्ना एक सय ७५ वटा शाखा, एक सय २५ वटा एटीएम र ९४ वटा शाखारहित बैंकिङ इकाइहरूबाट करिब १४ लाख ग्राहकवर्गलाई आधुनिक बैंकिङ सेवाहरू प्रदान गर्दै आएको छ ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया