Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारनेपाल बैंक र त्रिभुवन विश्वविद्यालय, व्यवस्थापन केन्द्रीय विभागबीच सम्झौता

नेपाल बैंक र त्रिभुवन विश्वविद्यालय, व्यवस्थापन केन्द्रीय विभागबीच सम्झौता


काठमाडौं । नेपाल बैंक लिमिटेड र त्रिभुवन विश्वविद्यालय व्यवस्थापन केन्द्रीय विभागबीच अनुसन्धानसम्बन्धी कार्यमा सहकार्य गर्ने सम्बन्धमा सम्झौता भएको छ । उक्त सम्झौताअनुसार त्रिभुवन विश्वविद्यालय व्यवस्थापन केन्द्रीय विभागमा अध्ययनरत विद्यार्थीहरूले नेपाल बैंकमा इन्टर्नसिप गर्न पाउनेछन् भने सो विभागका विद्यार्थीहरू र प्राध्यापकहरूमार्फत नेपाल बैंकले आर्थिक तथा बैंकिङ क्षेत्रमा आफ्ना अनुसन्धानात्मक कार्यहरू सञ्चालन गर्नेछ ।

बैंकको अनुसन्धानसम्बन्धी कार्यको लागि व्यवस्थापन विभागले विषयविज्ञको रूपमा प्राध्यापकहरूको सूची बैंकलाई उपलब्ध गराउनेछ र सो सूचीअन्तर्गतका प्राध्यापकहरूलाई आवश्यकताअनुसार बैंकले अनुसन्धानको लागि विषयविज्ञका रूपमा नियुक्त गर्नेछ । त्यसैगरी बैंकले गरेका अनुसन्धानसम्बन्धी कार्यमा व्यवस्थापन विभागमा सञ्चालित शैक्षिक कार्यक्रमहरू एमबीए र एमबीएममा अध्ययनरत विद्यार्थीहरूलाई ग्राजुएसन रिसर्च प्रोजेक्ट (जीआरपी) अन्तर्गत शोधपत्र लेखनका लागि छात्रवृत्तिस्वरूप न्यूनतम पाँच जना विद्यार्थीहरूलाई बैंकले प्रति विद्यार्थी नगद ३० हजार प्रदान गर्नेछ । बैंकले व्यवस्थापन विभागमा एमबीए इन कर्पोरेट लिडरसिपमा अध्ययन गरेका एक जना छात्र र एक जना छात्रा गरी दुई जना सर्वोत्कृष्ट विद्यार्थीहरूलाई प्रत्येक शैक्षिक सत्रमा नगद र मेडलसहित ‘नेपाल बैंक कर्पोरेट लिडरसिप अवार्ड’ समेत प्रदान गर्नेछ ।

यही साउन २४ गते नेपाल बैंकको प्रधान कार्यालयमा सम्पन्न सो सम्झौतापत्रमा त्रिभुवन विश्वविद्यालय केन्द्रीय व्यवस्थापन विभागका निमित्त विभागीय प्रमुख सहप्राध्यापक नवराज अधिकारी र नेपाल बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत होम बहादुर खड्काले हस्ताक्षर गरेका थिए । सो कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्ण बहादुर अधिकारीले त्रिवि व्यवस्थापन केन्द्रीय विभागसँगको सहकार्यले नेपाल बैंकको अनुसन्धानसम्बन्धी कार्यमा ठूलो मदत पुग्ने विश्वास व्यक्त गरेका थिए । त्रिभुवन विश्वविद्यालय व्यवस्थापन केन्द्रीय विभागका नि. विभागीय प्रमुख सहप्राध्यापक नवराज अधिकारीले नेपालको पहिलो बैंकसँग आफ्ना विद्यार्थी र प्राध्यापकहरूले अनुसन्धानात्मक कार्यमा सहकार्य गर्नु गर्वको विषय रहेको धारणा व्यक्त गर्नुभयो साथै उनले सो अवसर प्रदान गरेकोमा बैंकलाई धन्यवाद समेत व्यक्त गरेका थिए ।

सो कार्यक्रममा त्रिवि व्यवस्थापन विभागका एमबीए प्रोगाम डाइरेक्टर सहप्राध्यापक ज्ञानमणि अधिकारी, सहप्राध्यापक डा. धुब्रलाल पाण्डेय, डा. बलराम दुवाल र डा. भरतसिंह थापाको समेत उपस्थिति रहेको थियो भनै बैंकका तर्फबाट नायव प्रमुख कार्यकारी अधिकृत समता पन्त, सहायक प्रमुख कार्यकारी अधिकृत विश्वराज बराल, बजारीकरण तथा अनुसन्धान डिभिजन प्रमुख अर्जुन बहादुर कंडेल, कम्पनी सचिव केशव भण्डारीलगायतको उपस्थिति रहेको थियो ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया