Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारयुवा उद्यमशीलता शिखर सम्मेलनको टाइटल स्पोन्सरमा राष्ट्रिय वाणिज्य बैंक

युवा उद्यमशीलता शिखर सम्मेलनको टाइटल स्पोन्सरमा राष्ट्रिय वाणिज्य बैंक


काठमाडौं । सरकार र निजी क्षेत्रको साझेदारीमा आगामी भदौ २८ गते काठमाडौंमा आयोजना हुने नेपाल युवा उद्यमशीलता शिखर सम्मेलन २०२२ को टाइटल स्पोन्सरमा राष्ट्रिय वाणिज्य बैंक रहने भएको छ । नेपाल सरकारको राष्ट्रिय युवा परिषद् र निजी क्षेत्रबाट विशाल मिडिया ग्रुपको मूल संयोजनमा शिखर सम्मेलनको दोस्रो संस्करण आयोजना हुन लागेको हो । राष्ट्रिय युवा परिषद्का कार्यकारी उपाध्यक्ष सुरेन्द्र बस्नेतको विशेष उपस्थितिमा राष्ट्रिय वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत किरण कुमार श्रेष्ठ र विशाल मिडिया ग्रुपका प्रमुख कार्यकारी अधिकृत समेत रहेका सम्मेलन मूल आयोजक समितिका संयोजक विशाल गैरेबीच टाइटल स्पोन्सरका लागि बिहीबार समझदारीपत्रमा हस्ताक्षर भएको छ ।

‘आर्थिक समृद्धिका लागि नवप्रवर्तन र उद्यमशीलता’ भन्ने मूल नाराका साथ आयोजित सम्मेलनले युवाहरूलाई उत्पादन र स्वरोजगारसँग जोड्दै नेपालमै उद्यमी बनाउन प्रोत्साहन गर्ने उद्देश्य राखेको परिषद्का कार्यकारी उपाध्यक्ष सुरेन्द्र बस्नेतले बताए । समझदारी समारोहमा राष्ट्रिय वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत किरण कुमार श्रेष्ठले ५७ वर्ष पहिला स्थापना भएको वाणिज्य बैंक युवाहरूलाई उद्यमी बनाउन आवश्यक बीउपुँजी, तालिम र यस्ता खाले सम्मेलनमा सधैँ साथमा रहने प्रतिबद्धता व्यक्त गरे । पहिलो शिखर सम्मेलनमा समेत मुख्य प्रायोजक रहेको बताउँदै यो सम्मेलनले देशभरका युवाहरूमा वित्तीय साक्षरता, बैंकिङ पहुँच अभिवृद्धि र बलियो राष्ट्रियस्तरको सञ्जाल स्थापना हुने विश्वास व्यक्त गरे ।

Open photo

त्यसैगरी सम्मेलन मूल आयोजक समितिका संयोजक विशाल गैरेले युवा उद्यमका लागि सरकारको कानुन, कार्यक्रम र बजेटबारे पुनरावलोकन गर्न यो सम्मेलनले सहजीकरण गर्ने बताए । युवा उद्यमशीलताका लागि वातावरण बनाउँदै स्टार्टअपहरूको संख्यातमक र गुणत्मक सहभागिता लागि सम्मेलन आयोजना गरिएको उनको भनाइ थियो । ७७ वटै जिल्लाबाट प्रतिनिधित्व रहने गरी उद्यमी बन्न चाहने र उद्यम गरिरहेका करिब पाँच सय जना युवाहरू सम्मेलनमा सहभागी हुनेछन् ।

सम्मेलनमा स्टार्टअर्प स्टोरी आदानप्रदान, प्यानल डिस्कसन, समूहगत छलफल, नेटर्वकिङ, सफल युवा उद्यमीहरूको प्रस्तुतिसहितको अवार्ड वितरण, उद्यमी मेला, विश्व बजारमा भइरहेका नवप्रवर्तनीय कार्यको डेमो प्रदर्शन, लगानी सम्झौता, मेन्टरिङ र लगानी सम्झौतालगायतका कार्यक्रमहरू रहेका छन् । सम्मेलनमा नेपाल सरकारको राष्ट्रिय योजना आयोग र बागमती प्रदेश सरकारको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय समेत साझेदार रहेको छ ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया