Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारनबिल बैंक ‘ग्लोबल एसएमई फाइनान्स अवार्ड २०२२’मा दुई अवार्डद्वारा सम्मानित

नबिल बैंक ‘ग्लोबल एसएमई फाइनान्स अवार्ड २०२२’मा दुई अवार्डद्वारा सम्मानित


काठमाडौं । नबिल बैंक ‘ग्लोबल एसएमई फाइनान्स अवार्ड २०२२’मा दुई अवार्डद्वारा सम्मानित भएको छ । यही असोज ४ गते (२० सेप्टेम्बर) मा कम्बोडियामा सम्पन्न ग्लोबल एसएमई फाइनान्स अवार्डमा नबिल बैंकले ‘एसएमई फाइनान्सियर अफ दि इयर, एसिया’ र ‘प्रोडक्ट इनोभेसन अफ दि इयर २०२२’ जस्ता दुई सम्मानित अवार्ड प्राप्त गर्न सफल भएको हो । अघिल्लो वर्ष पनि नबिल बैंकले ‘एसएमई फाइनान्सियर अफ दि इयर, एसिया’ २०२१ जितेका थिए ।

नबिल बैंकले अघिल्लो आर्थिक वर्षमा साना तथा मझौला व्यवसाय क्षेत्रको वृद्धिमा योगदान पु-याएको कारण आएएफसी र एसएमइद्वारा सम्मान प्राप्त गर्न सफल भएको हो । विश्व बैंक समूहको सदस्य आईएफसी र एसएमई फाइनान्स फोरमले संयुक्तरूपमा उक्त अवार्ड प्रदान गर्दै आएको छ ।

तीन दिने ‘ग्लोबल एसएमई फाइनान्स अवार्ड २०२२’मा नबिल बैंकका तर्फबाट सहभागी भएका बैंकका एसएमई एन्ड एमएफका प्रमुख नीरजकुमार बस्नेत (दनिल)ले अन्तर्राष्ट्रिय क्षेत्रमा नेपाल र नेपाली बैंकलाई चिनाउन पाउनु सिङ्गो राष्ट्रका लागि गौरवको क्षण भएको बताए । देशको जिम्मेवार बैंक भएको कारण एसएमई बैंकिङ क्षेत्रमा थप सेवा प्रदान गर्न प्रोत्साहन मिलेको उनले बताए । अन्तर्राष्ट्रिय सहभागीहरूबाट सिकेका कुराहरू र सफलताका कथाहरूले हामीलाई आगामी दिनमा अवसरहरू सिर्जना गर्न बाटो देखाएको उनको
भनाइ छ ।

नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्रप्रसाद ढुङ्गानाले एसएमईको लागि लगानी कोष बढाउँदै जाने बताए । उनले भने, ‘एसएमईको लागि लगानी कोष बढाउँदै जाने र अहिले एसएमई क्षेत्रले भोगिरहेको तरलता सङ्कटको समस्यालाई पहिचान गरी त्यसमा काम गर्नु नै नबिल बैंकको प्रमुख प्राथमिकता हो ।’

नवौँ ग्लोबल फाइनान्स फोरम असोज ३ गतेदेखि ५ गतेसम्म (सेप्टेम्बर १९ देखि २१) सम्म कम्बोडियाको नोप पेन्हमा आयोजना भएको थियो । यस फोरममा ५० देशका चार सयभन्दा बढीको सहभागिता थियो । विश्व अर्थतन्त्रको मेरूदण्ड एमएसएमइएस तीन दिनसम्म चलेको सम्मेलनले कसरी डिजिटलाइजेसनले हरित वित्त प्रवर्द्धन, आपूर्ति श्रृङ्खला, दक्षता, डाटा सुरक्षा, स्वचालित प्रक्रियाहरू प्रवद्र्धन गर्न सकिन्छ भनेर खोजी गरेको थियो ।

कार्यक्रममा एसएमइको हरित वित्त क्षेत्रको प्रवद्र्धनमा आफ्नो दृष्टिकोण, विचारधार, अन्तरदृष्टि र अनुभवहरू प्रस्तुत गर्न विश्वव्यापी विचारधारा भएका नेताहरू, जलवायु वित्त अधिवक्ताहरू, प्रमुख विशेषज्ञहरू अभ्यासकर्ताहरूलाई निमन्त्रणा गरिएको थियो । यो अवार्ड असाधारण उपलब्धि हासिल गर्न सफल वित्तीय संस्थाहरू र आफ्ना ग्राहकहरूलाई उत्कृष्ट उत्पादन तथा सेवा दिने कम्पनीलाई प्रदान गरिँदै आएको छ ।

त्यस्तै, एसएमई फाइनान्स फोरमका सीईयो म्याथ्यु गम्सरले हरित एसएमई वित्तीय क्षेत्रमा पाँचौँ अवार्ड विस्तार गरेको जानकारी दिए । उनले भने, ‘हामीले हरित वित्तीय लगानी ग्रीन फाइनान्सिङको क्षेत्रमा पाँचौँ अवार्ड पनि विस्तार गरेका छौँ । त्यसकारण पनि हुनसक्छ यस वर्ष ठूलो संख्यामा आवेदन प¥यो । हामीसँग पहिलेभन्दा धेरै वित्तीय उत्पादन र दृष्टिकोण भएका देशहरू छन् । यस अवार्डमा लगभग एक सय निर्णायक मण्डलहरूले निष्पक्ष निर्णय गरेको थियो ।’

बैंकिङ क्षेत्रमा तीन दशकभन्दा बढीको अनुभवसँगै उच्च समर्पित रहेको नबिल बैंकले देशभर दुई सय ३३ वटा शाखा र दुई सय ६९ वटा एटीएममार्पत सेवा प्रदान गरिरहेको छ । नेपालको सबैभन्दा ठूलो बैंकको रूपमा परिचत नबिल बैंकले फराकिलो नेटवर्कमार्फत उच्च सेवा प्रदान गर्न निरन्तर काम गरिरहेको छ ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया