Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारग्लोबल आईएमई बैंक र लक्ष्मी इन्टरकन्टिनेन्टलबीच विद्युतीय सवारीको लागि सम्झौता

ग्लोबल आईएमई बैंक र लक्ष्मी इन्टरकन्टिनेन्टलबीच विद्युतीय सवारीको लागि सम्झौता


काठमाडौं । ग्लोबल आईएमई बैंक लिमिटेड र नेपालका लागि हुन्डाइ गाडीको एकमात्र आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टलबीच सम्झौता भएको छ । बैंकका अनुसार लक्ष्मी इन्टरकन्टिनेन्टलसँग आफ्नो इलेक्ट्रिक भेहिकल (इभी)का लागि वित्तीय सम्झौतापत्रमा हस्ताक्षर गरिएको हो । ग्लोबल आईएमई बैंक लिमिटेडका साना तथा मझौला ऋण विभागका प्रमुख रूपेन्द्र वाग्ले र लक्ष्मी इन्टरकन्टिनेन्टलका महाप्रबन्धक इन्द्रप्रसाद सापकोटाले समझदारीपत्रमा हस्ताक्षर गरेका छन् ।

उक्त सम्झौतापछि ग्राहकहरूले आफ्ना हुन्डाइ इभीहरू ग्लोबल आईएमई बैंकमार्फत १२ दशमलव ९९ प्रतिशत ब्याजदरमा फाइनान्स गर्न सक्नेछन् । यो योजनाअन्तर्गत खरिद गरिएका सवारीसाधन तीन दिनभित्रमा उपलब्ध गराइनेछ । ग्लोबल आईएमई बैंक लिमिटेड, बैंक अफ काठमाण्डू लिमिटेडसँगको मर्जर पूरा गरेपछि चुक्ता पुँजीको हिसाबले नेपालको सबैभन्दा ठूलो बैंक हुनेछ । यसरी दुई पक्षबीच भएको सम्झौताले हुन्डाइका विद्युतीय सवारीसाधन खरिद गर्न चाहने ग्राहकका लागि सहजता प्रदान गर्ने विश्वास लिइएको छ ।

ग्राहकहरूले ग्लोबल आईएमईको कुनै पनि शाखा वा हुन्डाइका देशभर रहेका १७ वटा शोरुममा गएर सम्बन्धित विभागमा सम्पर्क गरी प्रक्रिया अगाडि बढाउन सक्नेछन् । हुन्डाइको कोना र आयोनिक नेपालमा सबैभन्दा बढी बिक्री हुने विद्युतीय सवारीमा पर्छन् । यो सम्झौतासँगै ग्राहकहरूले दुवै विकल्पहरू सजिलै खरिद गर्न सक्नेछन् । हुन्डाइ मोटर कम्पनीले दिगो विकासको लागि गरेको प्रतिबद्धतासँग हुन्डाइ नेपालले ऐक्यबद्धता जनाउँदै आफ्नो बि (भि) द चेन्जअन्तर्गत विभिन्न सामाजिक–आर्थिक योजनाहरू अगाडि बढाएको छ । ग्लोबल आईएमई बैंकसँग भएको यो समझदारीले पनि देशैभरिका विद्युतीय सवारीप्रेमीहरूलाई सवारीसाधन खरिद गर्न प्रोत्साहन गर्दै दिगो भविष्यको लक्ष्यमा अगाडि बढ्न सघाउने आशा गरिएको बैंकले जानकारी दिएको छ ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया