Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारनेशनल लाइफको ३४औँ वार्षिक साधारणसभा

नेशनल लाइफको ३४औँ वार्षिक साधारणसभा


काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले ३४औँ वार्षिक साधारणसभा सम्पन्न गरेको छ । कम्पनीले आइतबार अध्यक्ष प्रेमा सिंहको अध्यक्षतामा वार्षिक साधारणसभा सम्पन्न गरेको हो ।

सभामा अध्यक्षले विगतमा कोभिड १९ को महामारी सबैको लागि चिन्ताको विषय भए पनि हाल आएर कोभिड १९ विरुद्धको विस्तृत खोप एवं घट्दो महामारीको प्रकोपको कारणले अर्थतन्त्र सुधारको अवस्थामा पुगी राष्ट्रिय अर्थतन्त्र सकारात्मक दिशातर्फ गएको बताइन् । नियामक निकायले लिएको विभिन्न कदमहरूका कारणले आव २०७७/०७८ मा बीमाको पहुँचमा उल्लेखनीय वृद्धि भएको र नेपाल सरकार र नियामक निकायको सहयोगात्मक नीतिहरूका कारणले गर्दा बीमा बजार आउने दिनहरूमा थप फस्टाउने आशा गरिन । लामो समयपश्चात् बीमा ऐन २०७९ लागू भएकोमा अध्यक्षले खुशी व्यक्त गर्दै यसवाट नियामक निकायलाई बीमा क्षेत्र थप नियमन गर्न सहज हुने र बीमा क्षेत्र थप व्यवस्थित भई बीमाको पहुँचमा अझ वृद्धि हुने विश्वास व्यक्त गरिन् ।

आव २०७७/०७८ मा कम्पनीको सबै वित्तीय सूचाङ्कहरू उत्साहप्रद रहेको छ । कम्पनीको कुल बीमाशुल्क ३५ दशमलव १५ प्रतिशतले वृद्धि भई १२ सय ५२ दशमलव ४६ करोड रुपैयाँ पुगेको छ । जीवन बीमा कोष २५ दशमलव ६३ प्रतिशतले वृद्धि भई ४२ सय चार करोड रुपैयाँ पुगेको र कुल लगानी २३ दशमलव २० प्रतिशतले वृद्धि भई ३९ सय २४ दशमलव ७० करोड पुगेको छ । कम्पनीको लगानी प्रतिफलमा स्थायित्व ल्याउन दीर्घकालीन निक्षेपमा अधिकतम लगानी गर्न कम्पनी प्रयासरत छ । कम्पनीको वार्षिक औसत प्रतिफल सन्तोषजनक छ र सो आव २०७७/०७८ मा नौ दशमलव ६७ प्रतिशत कायम रहेको छ ।

कम्पनीले नेपालगञ्जस्थित आफ्नो स्वामित्वमा रहेको जग्गामा भवन निर्माणकार्य सुरु गरेको छ र कम्पनीको अन्य शाखाहरूमा पनि यो प्रक्रिया सुरु गरिनेछ । कम्पनीले आफ्नो अभिकर्ता सञ्जाललाई थप व्यवसायिकीकरण गर्ने एवं सूचना प्रविधि क्षेत्रलाई अद्यावधिक गर्ने कार्यमा निरन्तर लगानी गर्नेछ । यसैगरी कम्पनीको आव २०७७/०७८ को बीमाङ्कीय मूल्यांकन सन्तोषप्रद रहेको र नियामकीय निकायको निर्देशन अनुसार पर्याप्त फ्युचर बोनस प्रोभिजनिङ गरेर बीमितहरूलाई दिई आएको बोनसदरमा यथावत निरन्तरता दिई बीमितहरूलाई उचित प्रतिफल दिन सफल भएको छ । कम्पनीले व्यावसायिक लक्ष्य र संस्थागत सामाजिक उत्तरदायित्वबीचको सन्तुलनलाई निरन्तरता दिई एक प्रतिष्ठित गैरसरकारी संस्था एक एक पाइलालाई सिन्धुपाल्चोक जिल्लामा सामुदायिक अस्पताल स्थापना गरी सञ्चालन गर्न तीन वर्षको लागि वित्तीय सहयोग उपलब्ध गराउन समझदारी गरेको छ ।

३४औँ वार्षिक साधारणसभाले आव २०७७/०७८ को लागि चुक्ता पुँजीको १५ प्रतिशत बोनस सेयर जारी गर्ने र सो बोनस सेयरबापतको कर प्रयोजनको लागि तीन करोड १८ लाख ५६ हजार पाँच सय १२ रुपैयाँबराबरको नगद लाभांश प्रदान गर्ने प्रस्ताव पारित गरेको छ । नियामक निकायले २०७९ साल चैत मसान्तसम्म जीवन बीमा कम्पनीको चुक्ता पुँजी पाँच अर्ब पु¥याउनुपर्ने बाध्यात्मक व्यवस्था गरेकोमा हालको पारित भएको वोनस शेयर लाभांशबाट कम्पनीको चुक्ता पुँजी चार अर्ब ६४ करोड चार लाख ३१ हजार आठ सय ७५ रुपैयाँ पुगेको छ । बाँकी रहने चुक्ता पुँजी आगामी दिनमा तोकिएको समयभित्र सहजरुपमा पुग्ने स्थिति रहेको कम्पनीले जनाएको छ ।

सभामा अध्यक्षले आउने दिनहरूमा नेशनल लाइफ इन्स्योरेन्स कम्पनी एक मुख्य बीमकको रुपमा आम सर्वसाधारणको जीवन बीमाको आवश्यकता परिपूर्ति गर्नमा अग्रणी भूमीका निर्वाह गरिरहने विश्वास व्यक्त गरिन् ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया