Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचार१७ अंकले बजार घटे पनि डेढ अर्ब बढीको किनबेच

१७ अंकले बजार घटे पनि डेढ अर्ब बढीको किनबेच


काठमाडौं । सेयरबजार परिसूचक पुनः ओरालो लागेको छ । अघिल्लो दिन झण्डै पाँच अंकले ओरालो लागेको बजार परिसूचक साताको चौथो कारोबार दिन बुधबार पुनः १६ दशमलव ६१ अंकले ओरालो लागेर १९ सय १७ दशमलव २८ विन्दुमा झरेको छ । यसैगरी क वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि चार दशमलव ४४ अंकले ओरालो लागेर तीन सय ७३ दशमलव ६४ विन्दुमा झरेको छ । यस दिन १३ वटा उपसमूहहरुअन्तर्गत दुई सय ४६ वटा कम्पनीहरुको सेयर कारोबार भएको छ । जसबाट २० हजार ३१ पटकको कारोबारमा ८० लाख ९२ हजार सात सय १९ कित्ता सेयर खरिदबिक्री भएका छन् । सोही खरिदबिक्रीका आधारमा यस दिन कुल कारोबार रकम एक अर्ब ६५ करोड ४६ लाख ६२ हजार पाँच सय ५० रुपैयाँ पुगेको छ ।

नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) मा यस दिन कारोबार भएका कुल उपसमूहहरुमध्ये होटल तथा पर्यटन उपसमूहको सूचक शून्य दशमलव ३४ अंकले उकालो लागेर २७ सय १२ दशमलव ४७ विन्दुमा चढेकोमा बाँकी उपसमूहहरुको सूचक भने ओरालो लागेका छन् । जसमध्ये वाणिज्य बैंक उपसमूहको सूचक १७ दशमलव ४२ अंकले ओरालो लागेर १३ सय ३७ दशमलव ९३ विन्दुमा झरेकोमा विकास बैंक उपसमूहको सूचक पनि ३० दशमलव ८० अंकले ओरालो लागेर ३३ सय ७५ दशमलव ३८ विन्दुमा झरेको छ । फाइनान्स उपसमूहको सूचक पनि १९ दशमलव ९९ अंकले ओरालो लागेर १५ सय ५२ दशमलव ५५ विन्दुमा झरेकोमा जलविद्युत् उपसमूहको सूचक पनि १२ दशमलव ३३४ अंकले ओरालो लागेर १९ सय ८४ दशमलव ३२ विन्दुमा झरेको छ ।

यसैगरी जीवन बीमा उपसमूहको सूचक पनि ८३ दशमलव ६४ अंकले ओरालो लागेर नौ हजार दुई सय ११ दशमलव ३१ विन्दुमा झरेकोमा निर्जीवन बीमा उपसमूहको सूचक पनि ३६ दशमलव ६० अंकले ओरालो लागेर सात हजार पाँच सय ५१ दशमलव ४६ विन्दुमा झरेको छ । यीबाहेक लगानी, उत्पादनमूलक, लघुवित्त, सामूहिक लगानी कोष, अन्य र ट्रेडिङ उपसमूहहरुको सूचक पनि क्रमशः शून्य दशमलव १७, ५५ दशमलव ४९, नौ दशमलव ८७, शून्य दशमलव शून्य तीन, १० दशमलव छ र १८ दशमलव २७ विन्दुले ओरालो लागेका छन् ।

यस दिन कमाउने कम्पनीहरुको सूचीमा पहिलो स्थानमा परेको खप्तड लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य छ दशमलव नौ प्रतिशतले बढेर चार सय ४० रुपैयाँ ५० पैसा अन्तिम मूल्यमा प्रतिकित्ता सेयर किनबेच भएको छ । दोस्रो स्थानमा परेको कुमारी धनवृद्धि योजनाको सेयर मूल्य पनि पाँच दशमलव १५ प्रतिशतले बढेर आठ रुपैयाँ ५८ पैसा अन्तिम मूल्यमा प्रतियुनिट सेयर किनबेच भएको छ । ग्रिन भेञ्चर लिमिटेड, नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था आदिको सेयर मूल्य पनि उकालो लागेका छन् । गुमाउने कम्पनीहरुको सूचीमा पहिलो स्थानमा परेको नाडेप लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य नौ दशमलव ९९ प्रतिशतले घटेर सात सय ७९ रुपैयाँ ३० पैसा अन्तिम मूल्यमा प्रतिकित्ता सेयर किनबेच भएको छ । दोस्रो स्थानमा परेको ग्लोबल आईएमई बैंकको सेयर मूल्य नौ दशमलव २९ प्रतिशतले घटेर दुई सय २१ रुपैयाँ ४० पैसा अन्तिम मूल्यमा प्रतिकित्ता सेयर किनबेच भएको छ । यीबाहेक सिटिजन्स म्युचुअल फण्ड, शिवम् सिमेन्ट आदिको सेयर मूल्य पनि ओरालो लागेका छन् ।

यस दिन सानिमा बैंकको संस्थापक सेयरतर्फ सबैभन्दा बढी रकम कारोबार भएको छ । उक्त बैंकको प्रतिकित्ता एक सय ५१ रुपैयाँ अन्तिम मूल्यमा ६७ करोड दुई लाख ९३ हजार रुपैयाँको सेयर किनबेच भएको छ । दोस्रो स्थानमा परेको शिवम् सिमेन्टको पनि प्रतिकित्ता पाँच सय ५१ रुपैयाँ ८० पैसा अन्तिम मूल्यमा १३ करोड ८५ लाख ५४ हजार तीन सय १४ रुपैयाँ ९० पैसाको सेयर किनबेच भएको छ । यीबाहेक नबिल बैंक, हिमालयन डिष्टिलरी प्रालि आदिको पनि बढी रकम कारोबार भएका छन् । 


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया