ग्लोबल आईएमई र बैंक अफ काठमाण्डूको एकीकृत कारोबार सुरु
५७ अर्ब कुल पुँजीसहित मुलुककै सबैभन्दा ठूलो बैंक बन्यो ग्लोबल आईएमई
काठमाडौं । ग्लोबल आईएमई बैंक लिमिटेड र बैंक अफ काठमाण्डू लिमिटेडले मर्जरपछि ग्लोबल आईएमई बैंक लिमिटेडको नामबाट एकीकृत कारोबार सुरु गरेका छन् । काठमाडौंमा सोमबार आयोजित एक विशेष कार्यक्रमबीच प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दुई बैंकको मर्जरपछि एकीकृत कारोबारको शुभारम्भ गरेका हुन् ।
एकीकृत कारोबार शुभारम्भ समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले बैंकहरु ठूलो हुँदा ठूला–ठूला परियोजनामा लगानी जुटाउन सहयोग पुग्ने बताए । ‘बैंक मर्जर असाधारण काम हो, यो प्रसंशायोग्य छ । बैंक ठूला हुँदा ठूला–ठूला परियोजनामा लगानी जुटाउन सहयोग पुग्नेछ । ठूला बैंकले मुलुकको दूरदराजसम्म नवीनतम बैंकिङ सेवा र वित्तीय साक्षरता अभिवृद्धि गर्न काम गर्न जरुरी छ’, उनले भने । प्रधानमन्त्री दाहालले मुलुकको अर्थतन्त्र सुधारउन्मुख रहेको र यसका लागि वर्तमान सरकार प्रतिबद्ध रहेको समेत बताए । साना व्यवसायबाट आफ्नो व्यावसायिक यात्रा सुरु गरेका ग्लोबल आईएमई बैंकका अध्यक्ष चन्द्र ढकाल र आफ्नो राजनीतिक जीवनमा धेरै समानता रहेको बताउँदै प्रधानमन्त्री दाहालले मुलुककै सबैभन्दा ठूलो बैंकको अध्यक्ष बन्न सफल भएकोमा अध्यक्ष ढकाललाई बधाइ तथा शुभकामना समेत दिएका छन् ।
प्रधानमन्त्री दाहालले वर्तमान सरकार अर्थतन्त्र सुधारमा केन्द्रित रहेको र निजी क्षेत्रसँग सहकार्य गरेर अगाडि बढ्ने बताएका छन् । ‘वर्तमान सरकार मुलुकको अर्थतन्त्र सुधार गर्न प्रतिबद्ध छ । हामीले हाम्रो पहिलो क्याबिनेट बैठकबाट नै मुलुकको अर्थतन्त्र सुधार गर्ने लक्ष्यका साथ काम सुरु गरेका छौँ’, उनले भने । नेपाल सरकारका मुख्य सचिव शंकरदास बैरागीले अर्थतन्त्रमा सकारात्मक सुधारको संकेत देखिएकोले निजी क्षेत्र हतोत्साहित हुनुपर्ने अवस्था नभएको बताए । ‘अर्थतन्त्रमा सकारात्मक सङ्केत र आर्थिक सूचकमा सुधार आएको छ । बैंकहरुको ठूलो मर्जरले वित्तीय क्षेत्रको स्थायित्वमा ठूलो योगदान पु-याउन सक्छ’, उनले भने । उनले नेपाल सरकार निजी क्षेत्रलाई साथमा लिएर, निजी क्षेत्रको मनोबल बढाएर अगाडि बढ्ने बताए ।
नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बैंक तथा वित्तीय संस्थाहरुको मर्जरले बैंक तथा वित्तीय संस्थाहरु ठूला र सबल बन्दै जाँदा वित्तीय मध्यस्थता लागत कम हुँदै जाने बताए । उनले मर्जरले बैंकहरु ठूला बन्दै जाँदा बैंकहरुले स्वनियमनमा बस्नुपर्ने बताए । उनले ठूला बैंकले एकल ग्राहक सीमामा आन्तरिक सीमा समेत कायम गरी साना तथा मझौला ऋणीहरुलाई ऋण प्रवाह गर्नुपर्ने समेत बताए । ग्लोबल आईएमई बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपाली बैंकिङ क्षेत्रका लागि आजको दिन एउटा ऐतिहासिक दिन रहेको बताउँदै यस मर्जरसँगै अधिकांश वित्तीय सूचकहरुमा ग्लोबल आईएमई बैंक नेपालको नम्बर वान बैंक बनेको बताए । ‘हुन त यसअघि पनि हामी धेरै सूचकमा नम्बर वान नै थियौँ तर आजको मर्जरपछि हामी झनै माथि उक्लिन सफल भएका छौँ । यो मर्जर समेत गरेर हालसम्म पाँचवटा वाणिज्य बैंक, १० वटा विकास बैंक र छवटा फाइनान्स कम्पनीसहित कुल २१ वटा बैंक तथा वित्तीय संस्थाहरु एउटै संस्थाका रुपमा एकीकृत गरेका छौँ’, उनले भने ।
अध्यक्ष ढकालले नेपाल राष्ट्र बैंकले मर्जरको नीति घोषणा गरेपछि ग्लोबल आईएमई बैंकले त्यसलाई पछ्याउँदै अघि बढेको र सरकार तथा नेपाल राष्ट्र बैंकको मर्जर नीतिलाई कार्यान्वयनमा ल्याउने लिडर रहेको बताए । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले मर्जरले बैंक सबल बन्ने र सबल बैंकले अर्थतन्त्र सबल बनाउन सहयोग पुग्ने बताए । नेपाल उद्योग परिसंघका अध्यक्ष विष्णु अग्रवालले ग्लोबल आईएमई बैैंकलाई सफल मर्जरको लागि शुभकामना व्यक्त गर्दै ग्लोबल आईएमई बैंकको नेतृत्वमा ब्याजदर घटाउन पहल गर्न आग्रह समेत गरे । बैंक अफ काठमाण्डूका अध्यक्ष प्रकाश श्रेष्ठले बैंकको पुँजीगत आधार विस्तार गर्दै क्षमता विकास गर्न मर्जरमा गएको बताए ।
उनले बैंकिङ क्षेत्रप्रति आमजनताको विश्वास बढ्दै गएको बताउँदै यसले मुलुकको अर्थतन्त्रमा सुधार ल्याउन सकारात्मक भूमिका रहने बताए । बैंक अफ काठमाण्डूका संचालक तथा संयुक्त मर्जर कमिटीका संयोजक राधेश पन्तले मर्जरको पहिलो सम्झौता भएको छ महिनाभित्र मर्जर सम्पन्न भएको बताए । दुवै बैंकका आ–आफ्नै विशेषता रहेको बताउँदै उनले मर्जरपछि बैंकको व्यवसायको लागत कम हुने बताए । उनले ग्लोबल आईएमई बैंक लिमिटेड र बैंक अफ काठमाण्डू लिमिटेडले मर्जरपछि ग्लोबल आईएमई बैंक लिमिटेडको नामबाट एकीकृत कारोबार शुभारम्भ समारोहमा उपस्थित सम्पूर्ण विशिष्ट पाहुनाहरुलाई धन्यवाद व्यक्त गरे । नयाँ बैंकको सञ्चालक समितिमा ग्लोबल आईएमई बैकको तर्फबाट अध्यक्ष चन्द्रप्रसाद ढकालसहित पाँच जना र बैंक अफ काठमाण्डूको तर्फबाट दुई जना रहेका छन् । त्यसैगरी बैंकको प्रमुख कार्यकारी अधिकृतको रुपमा ग्लोबल आईएमई बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्य रहेका छन् ।
२१ वटा बैंक तथा वित्तीय संस्थाहरु गाभिएर बनेको ग्लोबल आईएमई बैंक लिमिटेडमा पाँचवटा वाणिज्य बैंक, १० वटा विकास बैंक तथा छवटा फाइनान्स कम्पनी समाहित भएका छन् । मर्जरपश्चात् बैंकको कुल सम्पत्ति पाँच खर्ब पाँच अर्ब रुपैयाँ, कुल पुँजी ५७ अर्ब रुपैयाँ, चुुक्ता पुँजी ३५ अर्ब ७७ करोड रुपैयाँ, कुल निक्षेप चार खर्ब १२ अर्ब रुपैयाँ, कुल कर्जा तीन खर्ब ७७ अर्ब रुपैयाँ भएको छ । मर्जरपछि बन्ने नयाँ बैंक कुल पुँजी, चुुक्ता पुँजी, शाखा सञ्जाल तथा व्यवसायको आकारको हिसाबले नेपालको सबैभन्दा ठूलो बैंक बनेको छ । दुई बैंकहरुको मर्जरपश्चात् कुल तीन सय ६५ शाखा कार्यालय, तीन सय ६७ एटीएम, दुई सय ८६ शाखारहित बैंकिङ सेवा, ६१ विस्तारित शाखा कार्यालयहरु, तीनवटा विदेशस्थित सम्पर्क कार्यालयहरु, ४० लाखभन्दा बढी ग्राहकसहित अन्य धेरै वित्तीय परिसूचकहरुमा ग्लोबल आईएमई बैंक लिमिटेड मुलुकको सबैभन्दा ठूलो बैंक हुनेछ ।
क्याटेगोरी : बैंक बित्त बजार
ताजा अपडेट
- समानुपातिक प्रणालीलाई व्यवस्थापन गर्न संविधान संशोधन आवश्यक : सभापति देउवा
- विचारः गणतन्त्रका १५ वर्षले आएको परिवर्तन
- आज कोशी र कर्णाली प्रदेशका केही स्थानमा पानी पर्ने
- माछा मार्न करेन्ट लगाउने क्रममा युवकको मृत्यु
- दाहाल र भट्टराईविरुद्धको रिट दर्ता गर्न सर्वोच्चको आदेश
- घरजग्गा किनबेच सहजीकरण र ऋण मिलाइदिने भन्दै ठगी गरेको आरोपमा पक्राउ
- भारतबाट १०० रुपैयाँभन्दा बढीको सामान नेपाल ल्याए भन्सार तिर्नुपर्ने
- आग्रह र पूर्वाग्रह बिना दश वर्षको बजेट समीक्षा गरौँ : पूर्वअर्थमन्त्री शर्मा
धेरैले पढेको
- धादिङको साना किसान सहकारीमा अनियमितता भएको अदालतको ठहर
- बाँझो जग्गामा सामूहिक आलु खेती
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
- जनता कति टुलुटुलु हेरेर बस्ने ?
तपाईको प्रतिक्रिया