Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारएनआईसी एसिया लघुवित्तको अध्यक्षमा राठी तथा सञ्चालकमा भारी

एनआईसी एसिया लघुवित्तको अध्यक्षमा राठी तथा सञ्चालकमा भारी


काठमाडौं । एनआईसी एसिया लघुवित्त वित्तीय संस्था लिमिटेडको संस्थापक एनआईसी एसिया बैंक लिमिटेडको यही फागुन ५ गते बसेको सञ्चालक समितिको पाँच सय ९०औँ बैठकको निर्णयले सोही दिनदेखि नै कार्यान्वयनमा आउने गरी सन्तोष कुमार राठी र दिनेश भारीलाई संस्थापक समुहमा प्रतिनिधि सञ्चालक मनोनयन गरी पठाइएको छ ।  सोअनुसार संस्थाको यही सोमबार बसेको एक सय ६६औँ सञ्चालक समितिको बैठकले उक्त सञ्चालक पदको बाँकी रहेको कार्यकाल सम्मको लागि उनीहरूलाई नियुक्त गरेको जानकारी दिएको छ ।

साथै, उक्त सञ्चालक समिति बैठकबाट नै यस संस्थाको नियमावलीमा भएको व्यवस्थाबमोजिम सबै सञ्चालकहरूको सर्वसम्मतिमा सञ्चालक सन्तोष कुमार राठीलाई संस्थाको सञ्चालक समितिको अध्यक्ष चयन गरेको छ । उक्त पदमा यसअघि सञ्चालकहरू कपिल ढकाल र प्रकाश बराल संस्थापक समूहमा संस्थापक एनआईसी एसिया बैंक लिमिटेडको तर्पmबाट प्रतिनिधित्व गर्दै आएका थिए ।

नवनियुक्त सञ्चालक (अध्यक्ष) राठीले सोमबार नै प्रचलित कानुन तथा नियमानुसार नेपाल राष्ट्र बैंकको बैंक तथा वित्तीय संस्था नियमन विभागका कार्यकारी निर्देशक डा. गुणाकर भट्ट समक्ष शपथ ग्रहण गरी सोही दिनबाट पद वहाल गरेका छन् । यसैगरी सञ्चालक दिनेश भारीले संस्थाका अध्यक्ष सन्तोष कुमार राठीसमक्ष शपथग्रहण गरी पद बहाल गरेका छन् । राठी र भारी हाल एनआई एसिया बैंकमा क्रमशः नायब प्रमुख कार्यकारी अधिकृत र प्रमुख कानुन अधिकृतमा कार्यरत छन् ।

राठीको बैंकिङ क्षेत्रमा करिब २० वर्षको अनुभव रहेको छ भने भारीको कानुन तथा बैंकिङ क्षेत्रमा करिब २२ वर्षको अनुभव रहेको छ । यस संस्थाका प्रमुख कार्यकारी अधिकृत, लक्ष्मण चालिसेले एक सय ६६औँ सञ्चालक समितिको बैठकमा उच्चतम बैंकिङ अनुभव प्राप्त व्यक्तिहरूलाई संस्थाको सञ्चालकका रूपमा स्वागत गरेका थिए । साथै, उनीहरूको कार्य अनुभवबाट संस्थाले लिएको लक्ष्य हासिल गरी संस्थालाई लघुवित्तीय संस्थाहरूमाझमा अग्रणी, सबल तथा सशक्त लघुवित्त संस्थाको रूपमा स्थापित गराउन अझै थप सहयोग पुग्ने संस्थाको विश्वास रहेको समेत जनाए ।

एनआईसी एसिया लघुवित्त वित्तीय संस्था लिमिटेडले स्थापना भएको पाँच वर्ष पूरा गरेसँगै लघुवित्त क्षेत्रमा उच्च योगदान गर्न सफल भएको छ । आम जनमानसले गरेको प्रगाढ विश्वास, अगाध स्नेह र वित्तीय संस्था प्रतिको भरोसाले गर्दा यो वित्तीय संस्था मुलुकभर ७४ जिल्लामा दुई सय ८७ शाखा कार्यालयमार्फत सेवा प्रदान गर्दै आइरहेको छ । यस वित्तीय संस्थाले कार्यक्रम विस्तार गर्दा लघुवित्तको पहुँच नपुगेको दुर्गम स्थानीय तहहरूलाई प्राथमिकतामा राखेको छ । यस आव २०७९/८० को दोस्रो त्रैमासको अन्त्यसम्ममा वित्तीय संस्थाले कुल दुई लाख तीन हजार आठ सय ६२ विपन्न परिवारमा लघुवित्त सेवा प्रदान गरेको छ ।

राष्ट्रिय स्तरको अग्रणी लघुवित्त संस्थाको रूपमा छोटो अवधिमै आफूलाई स्थापित गर्न सफल यस संस्थाले उत्पादनमूलक तथा कृषि क्षेत्रमा आधारित कर्जालाई प्राथमिकतामा राखि वित्तीय सेवाको पहुँच नपुगेको क्षेत्रको पहिचान गरी सेवा प्रदान गर्ने नीति तय गरी अघि बढिरहेको छ । यसका साथै, यस वित्तीय संस्थाले पछिल्लो समयमा अग्निपिडित परिवारहरूलाई खाद्यान्य तथा सामग्री सहयोग, शीतलहरबाट पीडित परिवारलाई लत्ताकपडा सहयोग, वृद्धा आश्रमलाई नगद सहयोगलगायतका विभिन्न सामाजिक उत्तरदायित्वको कार्यक्रमहरू गरी समाजिक कार्यहरूमा समेत आफूलाई स्थापित गर्दै आएको छ ।

यसका साथै संस्थाले ग्राहक सदस्यहरूको स्थायित्व, प्रगति तथा लघुवित्त कार्यक्रमको सुधार तथा स्थायित्वको लागि शिक्षा, स्वास्थ तथा व्यवसाय प्रवर्द्धनमा नियमितरूपमा लाग्दै स्थापनादेखि हालसम्म ग्राहक संरक्षण कोषबाट तीन करोड रुपैयाँभन्दा बढी खर्च गरिसकेको छ । ‘साथीसँगै सबल बन्दै’ भन्ने मूल नाराका साथ उत्तरदायी लघुवित्तीय सेवाको अभ्यास गर्दै आएको यस एनआईसी एसिया लघुवित्त वित्तीय संस्था लिमिटेड देशकै सबैभन्दा ठूलो शाखा सञ्जाल र देशकै एक ठूलो सबल सक्षम एवं विश्वसनीय लघुवित्त वित्तीय संस्थाको रूपमा स्थापित भइरहेको छ ।

त्यस्तै उत्तरदायी लघुवित्तीय सेवाको अभ्यास गर्दै आएको एनआईसी एसिया लघुवित्त वित्तीय संस्थाले वित्तीय समावेशिकरणका लागि डोटी, जुम्ला, दार्चुला, जाजरकोट, बैतडी, अछाम, बजाङ, सल्यान, रसुवा, सिन्धुपाल्चोकजस्ता बैंक तथा वित्तीय संस्थाहरूको उपस्थिति न्यून रहेको दुर्गम जिल्लाहरूमा शाखा विस्तार गरी सेवा सञ्चालन गदैं आएको र आगामी दिनहरूमा पनि सोहीअनुरूप कार्य गर्ने संस्थाले जानकारी दिएको छ ।

क्यापिटलमा पनि राठी

No description available.

एनआईसी एसिया क्यापिटलको सञ्चालक समितिको अध्यक्षमा सन्तोष कुमार राठी नियुक्त भएका छन् । कम्पनीको सोमबार सम्पन्न भएको सञ्चालक समितिको एक सय २०औँ बैठकको निर्णयबमोजिम सोही दिनदेखि लागू हुनेगरी एनआईसी एसिया क्यापिटल लिमिटेडको सञ्चालक समितिको अध्यक्षमा राठीलाई नियुक्त गरेको कम्पनीले जानकारी दिएको छ ।

क्यापिटल स्थापना भएको छोटो अवधिमा नै आव २०७९/०८० को दोस्रो त्रैमास अन्त्यसम्म एनआईसी एसिया बैंक म्युचुअल फन्डअन्तर्गत चारवटा बन्दमुखी र एउटा खुलामुखी योजना गरी जम्मा पाँचवटा योजनाहरू सञ्चालन गरिरहेको छ । साथै क्यापिटलद्वारा सञ्चालित खुलामुखी योजना ‘एनआईसी एसिया डाइनामिक डेप्ट फन्ड’मा सिस्टमेटिक इन्भेष्टमेन्ट प्लान (एसआईपी) र सिस्टमेटिक वीथ ड्र प्लाल (एसडब्लु पी) समेत सञ्चालन गरिरहेको जनाएको छ ।

लगानी व्यवस्थापन सेवाअन्तर्गत ‘मेरो लगानी, मेरो भविष्य’ भन्ने मूल नाराका साथ ग्राहकमुखी नवीनतम योजनाहरू सञ्चालन गरीे आव २०७९/०८० को पौष मसान्तसम्ममा पाँच सय ८६ जना ग्राहकहरूबाट एक अर्ब ५६ करोडभन्दा बढी रकम संकलन गरी लगानी व्यवस्थापन सेवा उपलब्ध गराइरहेको छ । निक्षेप सदस्य सेवाअन्तर्गत पौष मसान्त, २०७९ सम्म छ लाख ३० हजारभन्दा बढी डिम्याट खाता खोली ८४ वटा निक्षेप सदस्य कम्पनीहरूमध्ये पहिलो स्थान हासिल गर्न सफल भएको छ ।

हाल क्यापिटलले आफ्नो सेवालाई सर्वसुलभ र प्रविधिको प्रयोगमार्फत ग्राहकहरूमाझ पु-याउन डिम्याट तथा मेरो सेयर खाता खोल्ने, नवीकरण गर्ने, एसआईपीसहित खुलामुखी योजनाको इकाइको पुनः खरिद र लगानी व्यवस्थापन सेवा समेत अनलाइनमार्फत लिन सकिने व्यवस्था मिलाएको छ । साथै आगामी दिनमा क्यापिटलबाट प्रदान गरिने सम्पूर्ण सेवाहरूलाई डिजिटलाइजरूपमा उपलब्ध गराउने रणनीति लिएको छ ।


क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6

तपाईको प्रतिक्रिया