Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारसाना/मझौला उद्योग–व्यवसायलाई सहजीकरण

साना/मझौला उद्योग–व्यवसायलाई सहजीकरण


काठमाडौं,नेपाल राष्ट्र बैंकले एकीकृत निर्देशन, २०७९ मा संशोधन तथा परिमार्जन केही बुंँदाहरु थप गरेको छ । राष्ट्र बैंकले शुक्रबार क, ख र ग अर्थात् वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनी तीनै समूहको नाउँमा परिपत्र जारी गर्दै एकीकृत निर्देशन, २०७९ लाई परिमार्जन गरेको जानकारी दिएको छ ।

परिमार्जित व्यवस्थाअनुसार वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीहरुका कुनै पनि ऋणीले भुक्तान गर्नुपर्ने कर्जाको सावाँ तथा ब्याज दायित्व भाखा नाघेको ३० दिनभित्र भुक्तान गरेमा पेनाल ब्याज लिन पाइनेछैन । यो व्यवस्था २०८० जेठ मसान्तसम्ममा भुक्तानीको भाखा रहेको सावाँ तथा ब्याजमा मात्र लागू हुने राष्ट्र बैंकले जनाएको छ । तर यदि कुनै ऋणीले छुट पाउने अवधिभित्र कर्जाको सावाँ तथा ब्याज भुक्तानी नगरेमा पुर्वनिर्धारित शर्तबमोजिम सम्पूर्ण भाखा नाघेको अवधिको पेनाल ब्याज लिन नयाँ व्यवस्थाले बाधा पु¥याएको नमानिने संशोधित व्यवस्थामा उल्लेख छ ।

साना तथा मझौला उद्योग–व्यवसाय सञ्चालनलाई सहजीकरण गर्न बैंक तथा वित्तीय संस्थाबाट प्रवाह भएको दुई करोडसम्मको कर्जालाई सम्बन्धित ऋणीको अनुरोधमा उद्योग–व्यवसायको नगद प्रवाह तथा आम्दानीे विश्लेषण गरी एक पटकको लागि ऋणीले बुझाउनुपर्ने ब्याजको १० प्रतिशत रकम असुलउपर गरी कर्जाको पुनर्संरचना तथा पुनर्तालिकीकरण गर्न सकिनेछ ।

राष्ट्र बैंकका अनुसार यस्तो कर्जाको पुनर्तालिकीकरण वा पुनर्संरचना २०८० असार मसान्तभित्र गरिसक्नुपर्नेछ । यसरी कर्जा पुनर्तालिकीकरण वा पुनर्संरचना गर्दा २०७९ पुस मसान्तमा सक्रिय वर्गमा वर्गीकरण भएको हुनुपर्नेछ । उपर्युक्तबमोजिम पुनर्तालिकीकरण वा पुनर्संरचना गरिएका कर्जाहरुलाई असल वर्गमा वर्गीकरण गरी एक दशमलव तीन प्रतिशत कर्जा नोक्सानी व्यवस्था कायम गर्नुपर्नेछ । राष्ट्र बैंकका अनुसार स्पष्ट आधारविना पुनर्तालिकीकरण वा पुनर्संरचना गरिएको पाइएमा नियमअनुसार कर्जा नोक्सानी व्यवस्था कायम गर्नुपर्नेछ ।

यसैगरी नेपाल राष्ट्र बैंक खुलेको दिन तथा राष्ट्र बैंकको बैंकिङ कार्यालयले बैंकिङ कारोबार गर्ने समयसम्म इजाजतपत्रप्राप्त संस्थाहरुले अनिवार्यरुपमा आफ्नो कार्यालय खोली बैंकिङ कारोबार सञ्चालन गर्नुपर्ने संशोधित व्यवस्थामा उल्लेख छ । तर, इजाजतपत्रप्राप्त संस्थाहरुले नेपाल राष्ट्र बैंक खुलेको दिन र समयका अतिरिक्त समय तथा अन्य विदाका दिन र समयमा आफ्नो कारोबार सञ्चालन गर्ने भएमा राष्ट्र बैंकको बंैक तथा वित्तीय संस्था नियमन विभाग र सम्बन्धित सुपरिवेक्षण विभागमा लिखित रुपमा पूर्वजानकारी दिई कारोबार सञ्चालन गर्न सक्नेछन् । राष्ट्र बैंकबाट जारी भएको बैंक विदाको सूचीका अतिरिक्त नेपाल सरकारबाट आकस्मिक विदा घोषणा भएको दिन नगद कारोबार, चेक क्लियरिङ, आरटीजीएसलगायत अत्यावश्यक बैंकिङ सेवा प्रदान गर्न बिहान १०ः०० देखि दिउँसो १ः३० बजेसम्म इजाजतपत्रप्राप्त बैंक तथा वित्तीय संस्थाले आवश्यक विभाग तथा कार्यालय खुला राखी सेवा सुचारु गर्ने व्यवस्था मिलाउनुपर्नेछ ।

राष्ट्र बैंकका अनुसार वैदेशिक रोजगारीमा रहेका नेपालीको बैंकिङ्ग प्रणालीबाट प्राप्त हुने विप्रेषण रकम बैंक तथा वित्तीय संस्थाहरुमा खोलिएको वा खोलिने विप्रेषण (रेमिट्यान्स) बचत खातामा निक्षेप राखेमा, सो खाताबाट रकमान्तर गरी खोलिएको मुद्दती खातामा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीले परिवारको नाममा पठाएको विप्रेषण रकम निजको परिवारले बचत÷मुद्दती निक्षेप खातामा राखेमा न्यूनतम एक प्रतिशत विन्दु थप गरी ब्याजदर प्रदान गर्नुपर्नेछ । यस्तो निक्षेपको ब्याजदरबीचको अन्तर गणना गर्दा छुट प्रदान गरिएको हुनुपर्ने राष्ट्र बैंकको भनाइ छ ।


क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 1

तपाईको प्रतिक्रिया