बीमा नियमावली, २०७९ को मस्यौदासम्बन्धी अन्तरक्रिया
काठमाडौं । नेपाल बीमा प्राधिकरणको आयोजनामा शुक्रबार काठमाडौंमा बीमा नियमावली, २०७९ को मस्यौदाका सम्बन्धमा बीमा कम्पनी तथा पुनर्बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृतहरूसँग छलफल एवं अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । बीमा नियमावली, २०७९ को मस्यौदाका सम्बन्धमा बीमा कम्पनी तथा पुनर्बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृतहरूसँग समेत छलफल गरी प्राप्त सुझावहरूका आधारमा मस्यौदालाई अन्तिम रूप दिने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो ।
कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले बीमा नियमावलीले सम्बोधन गर्नुपर्ने विषयहरूका बारेमा संस्थागतरूपमा सात दिनभित्र लिखित सुझाव दिन आग्रह गरे । अध्यक्ष सिलवालले बीमा कम्पनी, पुनर्बीमा कम्पनी, बीमा सर्भेयर, बीमा अभिकर्तालगायत सरोकारवालाहरूबाट प्राप्त सुझावहरू समेतका आधारमा बीमा नियमावली, २०७९ को मस्यौदालाई अन्तिम रूप दिई स्वीकृतिका लागि सरकारलाई बुझाइने जानकारी दिए ।
‘बीमक, बीमा मध्यस्थकर्ता र बीमितका सम्बन्धमा नियमावलीमा के–कस्ता व्यवस्था हुन आवश्यक छ, त्यससम्बन्धी सुझावको अपेक्षा गरिएको छ । बीमा नियमावली फराकिलो हुनुपर्छ, यसमा सबै विषयलाई समेट्नुपर्छ’, अध्यक्ष सिलवालले भने, ‘नेपाली बीमा कम्पनीहरूको पुँजी बढ्दै गएको छ, त्यसलाई पनि हेर्नुपर्छ । नेपाली बीमा कम्पनीलाई विदेशमा शाखा खोल्न दिने विषयलाई नियमावलीमा समेटिनुपर्छ, यसमा कञ्जुस्याइँ गर्नु हुँदैन, बाटो खोल्दै जानुपर्छ । धेरै नेपाली कार्यरत रहेका देशमा नेपाली बीमा कम्पनीले शाखा खोल्न सक्छन् । विदेशी बीमा सर्भेयरलाई पनि नियमावलीमा समेट्नुपर्छ ।’
अध्यक्ष सिलवालले भने, ‘वर्षौँदेखि कार्यरत पुराना बीमा सर्भेयर र नयाँ सर्भेयर छनौटका सम्बन्धमा नियमावलीमा स्पष्ट व्यवस्था गर्नुपर्छ । बीमा अभिकर्तालाई बीमा कम्पनीले काम दिने भएकाले त्यसको जस अपजस पनि कम्पनीले लिनुपर्छ । खाइपाई आएको सुविधा घटाउन नपाइने कानुनी व्यवस्था छ, त्यसलाई ध्यान दिनुपर्छ ।’ अध्यक्ष सिलवालले बीमा व्यवसायको विकास एवं विस्तारका लागि बीमा ऐन, नियम र निर्देशिका पूर्णरूपमा पालना गरी अगाडि बढ्न बीमा कम्पनीहरूलाई निर्देशन समेत दिए । कार्यक्रममा नेपाल बीमा प्राधिकरणका निर्देशक सुशीलदेव सुवेदीले बीमा नियमावली, २०७९ को मस्यौदाको प्रस्तुति गरे ।
कार्यक्रममा विभिन्न बीमा तथा पुनर्बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृतहरूले नियमावलीमा नेपाली बीमा कम्पनीले विदेशमा शाखा खोल्न पाउने सरल व्यवस्था गर्नुपर्ने, नेपालमा काम गर्ने विदेशी बीमा सर्भेयर र ब्रोकरसम्बन्धी स्पष्ट व्यवस्था हुनुपर्ने, पुनर्बीमालाई छुट्टै किसिमले हेरिनुपर्ने, नियमन शुल्क बुझाउन ढिलाइ भएको अवस्थामा जरिवाना नभई ब्याज लाग्ने व्यवस्था गर्नुपर्ने, प्राधिकरणका प्रदेश कार्यालयका काम, कर्तव्य र अधिकार परिभाषित गरिनुपर्ने, बीमितले बीमा दाबी गर्न पाउने अवधि निश्चित गर्नुपर्ने, बीमा सर्भेयरको दक्षताअनुसार शुल्कको व्यवस्था हुनुपर्ने, संस्थागत अभिकर्ताका सम्बन्धमा अन्तर्राष्ट्रिय अभ्यासअनुसारको व्यवस्था गरिनुपर्ने, बीमितको नैतिक जोखिमसम्बन्धी व्यवस्था उल्लेख हुनुपर्ने, बीमा कमिसनको अधिकतम सीमा तोक्नुपर्नेलगायतका सुझावहरू दिए ।
कार्यक्रममा नेपाल बीमा प्राधिकरणका सञ्चालक समितिका सदस्यहरू, प्राधिकरणका कार्यकारी निर्देशक राजुरमण पौडेल तथा निर्देशक पुजन ढंगेल (अधिकारी) र जीवन बीमा कम्पनी, निर्जीवन बीमा कम्पनी तथा पुनर्बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृतहरूको सहभागिता रहेको थियो । कार्यक्रमको सञ्चालन नेपाल बीमा प्राधिकरणका निर्देशक दिनेश कुमार लालले गरेका थिए ।
क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6
ताजा अपडेट
- गण्डकी प्रदेश सरकारबाट माओवादीका मन्त्रीको राजीनामा
- नेपाल अमेरिका सैन्य वार्ता हुँदै
- टेलिफोन महसुल घटाउन भारत सकारात्मक: मन्त्री शर्मा
- तीन वटै निर्वाचन क्षेत्रमा उम्मेदवारी दिने रास्वपाको निर्णय
- प्रहरी महानिरीक्षक(एआइजी)मा वसन्तबहादुर कुँबर नियुक्त
- रोजगारी सिर्जनामा मुख्यमन्त्री अधिकारीको जोड
- रुकुम पश्चिममा ९२ विद्यालय भवन बन्दै
- सुकुम्वासीका छोराछोरी पढ्ने नमूना विद्यालय
धेरैले पढेको
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- जनता कति टुलुटुलु हेरेर बस्ने ?
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- क्रसर उद्योग सञ्चालन सम्बन्धमा सरकार नै अन्योलमा देशभर निर्माण क्षेत्र ठप्प
तपाईको प्रतिक्रिया