Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारकर्मचारी सञ्चय कोषमा आबद्धलाई एक दशकयताकै बढी मुनाफा

कर्मचारी सञ्चय कोषमा आबद्धलाई एक दशकयताकै बढी मुनाफा


काठमाडौं । कर्मचारी सञ्चय कोषमा आबद्ध सञ्चयकर्ताले विगत एक दशकयताकै बढी मुनाफा पाएका छन् । कोषले गत आर्थिक वर्षमा गरेको नाफाबाट सञ्चयकर्तालाई आर्थिक वर्ष २०६८/६९ यता सबैभन्दा बढी मुनाफा वितरण गरेको हो । गत आर्थिक वर्ष २०७८/७९मा साढे पाँच अर्ब रुपैयाँभन्दा बढी नाफा कमाए पनि कर्मचारीलाई दिने मुनाफा पनि कोषले बढाएको हो ।

गत आर्थिक वर्षमा पाँच अर्ब ५६ करोड १६ लाख रुपैयाँ नाफा कमाएको कोषले जानकारी दिएको छ । सो नाफामध्ये चार अर्ब ६० करोड ४६ लाख रुपैयाँ सञ्चकर्तालाई वितरण गरिएको कोषले जानकारी दिएको छ । आर्थिक वर्ष २०६५/६६ देखि सञ्चयकर्तालाई मुनाफा वितरण गर्दै आएको कोषले सञ्चयकर्ताको बचत र कोषको नाफाको आधारमा मुनाफा वितरण गर्दै आएको छ ।

दशकयताकै बढी नाफा वितरण : कोषले कोषमा रकम जम्मा गर्ने कर्मचारीलाई विगत १० वर्षयताकै बढी मुनाफा उपलब्ध गराएको छ । कोषले गत आर्थिक वर्ष २०७८/७९ को मुनाफा बाँडफाँड कोषमार्फत आर्थिक वर्ष २०६८/६९ यताकै बढी मुनाफा दिएको हो । सोबीचमा कोषले आर्थिक वर्ष २०७५/७६ मा एक दशमलव १५ प्रतिशत उच्च मुनाफा वितरण गरेको थियो । त्यस्तै आर्थिक वर्ष २०७४/७५ मा एक दशमलव एक प्रतिशत र आर्थिक वर्ष २०७६/७७ मा एक प्रतिशत उच्च मुनाफा वितरण गरेको थियो । उक्त आर्थिक वर्ष र गत आर्थिक वर्ष २०७८/७९ बाहेकका वर्षहरूमा कोषले कहिल्यै पनि एक प्रतिशतभन्दा बढी मुनाफा वितरण गर्न सकेको थिएन ।

गत आर्थिक वर्ष २०७८/७९मा कोषमा रकम जम्मा गर्ने कर्मचारीले एक दशमलव दुई प्रतिशत मुनाफा पाएका हुन् । उक्त मुनाफा विगत १० आर्थिक वर्षको तुलनामा अहिलेसम्मकै बढी हो । आर्थिक वर्ष २०६८/६९मा शून्य दशमलव ७५ प्रतिशत मुनाफा वितरण गरेको कोषले गत आर्थिक वर्ष २०७८/७९को उच्च मुनाफा एक दशमलव दुई प्रतिशत वितरण गरेको हो । सोही आर्थिक वर्षमा कोषले कर्मचारीलाई एक दशकयताकै न्यून ब्याजदरमा सापट पनि उपलब्ध गराएको छ । विशेष सापटी योजनामा कोषले विगत १० वर्षयताकै न्यून ब्याजदरमा सापट दिएको हो । गतवर्ष विशेष सापटी योजनाअन्तर्गत सात दशमलव छ प्रतिशत ब्याजदरमा सापटी उपलब्ध गराइएको छ । उक्त ब्याजदर विगत दशकयताकै न्यून हो । सोभन्दा अघि विशेष सापटीमा आर्थिक वर्ष २०७७/७८, आर्थिक वर्ष २०७३/७४ र आर्थिक वर्ष २०७२/७३ मा न्यूनतम ब्याजदरमा सापट उपलब्ध गराएको थियो । ती तीन आर्थिक वर्षमा कोषले आठ दशमलव २५ प्रतिशत ब्याजदरमा सापट उपलब्ध गराएको कोषको विवरण छ । उक्त तीन आर्थिक वर्षबाहेकका आर्थिक वर्षमा कहिल्यै पनि नौ प्रतिशतभन्दा कम ब्याजदरमा सापट उपलब्ध गर्न सकेको थिएन ।

आर्थिक वर्ष २०६८/६९मा नौ दशमलव २५ प्रतिशत ब्याजदरमा विशेष सापटी दिएको थियो । आर्थिक वर्ष २०७०/७१ मा र आर्थिक वर्ष २०७४/७५ देखि आर्थिक वर्ष २०७६/७७ सम्म विशेष सापटीको नौ दशमलव पाँच प्रतिशत ब्याजदरमा सञ्चयकर्तालाई विशेष सापटी उपलब्ध गराइएको थियो । कोषमा आबद्ध कर्मचारीहरूले पाउने मुनाफा सम्बन्धित कर्मचारीकै खातामा जम्मा गर्छ । कोषले सञ्चयकर्ताको खातामा रकम जम्मा गरेसँगै गत आर्थिक वर्ष २०७८/७९ का लागि कोषले सञ्चयकर्तासँग कर्जामा लिएको ब्याजभन्दा सञ्चयकर्तालाई कोषले दिएको ब्याज बढी भएको कोषले जानकारी दिएको छ ।

गतवर्ष कोषले सञ्चयकर्ताहरूलाई विशेष सापटी योजनामा सात दशमलव छ प्रतिशत ब्याजदरमा कर्जा दिएको छ । सञ्चयकर्तालाई कोषले छ दशमलव पाँच प्रतिशत ब्याजदर दिँदै आएको छ । त्यसमा थप एक दशमलव दुई प्रतिशत मुनाफा दिएपछि सञ्चकर्ताले पाउने ब्याज बढी देखिन्छ ।

औषधोपचारसहितका सुविधा : सञ्चय कोष ऐन २०१९ अनुसार कोष सञ्चालक समितिले प्रत्येक आर्थिक वर्षमा कमाएको नाफालाई सञ्चयकर्ता कल्याणकारी कोष, मुनाफा बाँडफाँड कोष, जगेडा कोषलगायतमा छुट्याउँदै आएको छ । सञ्चयकर्ता कल्याणकारी कोषको रकमबाट औषधोपचार सोधभर्ना, सुत्केरी तथा स्याहार खर्च, काजकिरिया खर्च, दुर्घटना क्षतिपूर्तिलगायत रकम दिँदै आएको छ ।

मुनाफा बाँडफाँट कोषमार्फत सञ्चयकर्ताको बचत र कोषले कमाएको नाफाको आधारमा मुनाफा वितरण गरिन्छ । वितरण गरिने मुनाफा सम्बन्धित सञ्चयकर्ताको खातामा प्रत्येक वर्ष जम्मा गरिन्छ । सोबाहेक कोषले सञ्चयकर्तालाई सुत्केरी तथा शिशु हेरचाह योजना उपलब्ध गराउँदै आएको छ । सो सुविधान प्रतिप्रसूति सात हजार पाँच सयका दरले वर्षमा दुई पटकसम्म उपलब्ध गराउँदै आएको छ । त्यस्तै काजकिरिया अनुदान खर्च उपलब्ध गराउँदै आएको छ । सो खर्च सञ्चयकर्ताको सेवाकालमा मृत्यु भएमा हकवालालाई ४० हजार रुपैयाँ दिँदै आएको छ । त्यस्तै दुर्घटना क्षतिपूर्ति योजनामा सेवाकालमा सञ्चयकर्ताको दुर्घटनामा परी मृत्यु वा पूर्णअंगभंग भएमा दुई लाख रुपैयाँ उपलब्ध गराउँदै आएको छ । त्यस्तै सञ्चयकर्तालाई औषधोपचार योजनामा सामान्य औषधोपचारमा वार्षिक एक लाख रुपैयाँ र घातक रोगको हकमा १० लाख रुपैयाँसम्म उपलब्ध गराउँदै आएको छ ।


क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6

तपाईको प्रतिक्रिया