Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारकर्जाको ब्याजदर अझै घट्ने दाबी

कर्जाको ब्याजदर अझै घट्ने दाबी


काठमाडौं,बैंकिङ प्रणालीमा तरलता सहज बन्दै गएकाले ब्याजदर अझै घट्ने दाबी बैंकरहरूले गरेका छन् । सोमबार नेपाल बैंकर्स संघले पत्रकार सम्मेलन गरी बैंकमा लगानीयोग्य रकम थुप्रिँदै गएकाले ब्याजदर घट्ने बताएको हो ।संघका अध्यक्ष एवं एनएमबी बैंकका प्रमुख कार्यकारी अधिकृत सुनिल केसीले केही महिनाभित्र कर्जाको ब्याजदर कोभिडकै अवस्थानजिक पुग्ने दाबी गरेका हुन् । माघमा १३ प्रतिशतभन्दा माथि रहेको कर्जाको भारित औसत दर चैतमा १२ दशमलव ८४ प्रतिशतमा झरेको केसीले बताए । निक्षेपको ब्याजदर घट्दा बैंकहरूको लागत सस्तिएकाले असारसम्म कर्जाको ब्याजदर अझै घट्ने उनले बताए ।

गएको पुसमा १० दशमलव ९१ प्रतिशतसम्म पुगेको बैंकहरूको औसत आधार दर अहिले घटेर साढे १० प्रतिशतभन्दा तल झरिसकेको छ । नेपाल राष्ट्र बैंकले मासिकरूपमा कर्जाको ब्याजदर परिवर्तन गर्नुपर्ने व्यवस्था गरेपछि बैंकहरूले जेठदेखि कर्जाको ब्याजदर घटाएका छन् । यही कारण आगामी दिनमा पनि कर्जाको ब्याजदर घट्ने दाबी बैंकर्स संघले गरेको हो । तर, बैंकरले ब्याजदर घट्ने दाबी गरे पनि जेठमा निक्षेपको ब्याजदर यथावत् राखिएका कारण असारमा कर्जाको ब्याजदर धेरै घट्ने सम्भावना भने छैन ।

संघका अध्यक्ष केसीले अहिले बैंकहरू कर्जा लगानी गर्न सहज अवस्थामा रहेको पनि बताए । ब्याजदर चर्को भएका कारण अहिले बैंकहरूमा कर्जाको माग न्यून छ । निक्षेपको वृद्धिदर कर्जाको मागभन्दा धेरै रहेकाले कर्जा निक्षेप अनुपात (सीडी रेसियो) ८५ प्रतिशतभन्दा तल झरेको छ । राष्ट्र बैंकका अनुसार सीडी रेसियो ८४ दशमलव ७४ प्रतिशत कायम छ । यसले पनि बैंक तथा वित्तीय संस्थामा लगानीयोग्य रकम पर्याप्त रहेको देखाउँछ ।

बैंकहरूले चैतसम्म स्प्रेड दर चार प्रतिशत कायम गर्नुपर्ने व्यवस्थाले पनि कर्जाको ब्याजदरमा कमी आउने केसीले बताए । यस्तै असारसम्म सरकारी खर्च बढ्ने भएकाले तरलता बढ्न गई ब्याजदर खुम्चने तर्क संघको छ । यद्यपि सरकारले आन्तरिक ऋण उठाइरहेकाले यसको असरले तरलता क्षयीकरण हुने र ब्याजदरमा असर पर्ने जोखिम भने रहेको छ ।

संघको तथ्यांकअनुसार चालू आर्थिक वर्षको १० महिना (साउनदेखि वैशाख)सम्ममा बैंकहरूको निक्षेप दुई खर्ब ९९ अर्ब रुपैयाँले बढेको छ । बैंकरहरूले असारसम्म थप दुई खर्ब रुपैयाँ निक्षेप बढ्ने आकलन गरेका छन् । यो अवधिमा बैंकहरूको कर्जा लगानी एक खर्ब २४ अर्ब छ । बैंकरहरूले मौद्रिक नीतिले लिएको लक्ष्यअनुरूप कर्जा विस्तार हुन नसक्ने बताएका छन् । राष्ट्र बैंकले कर्जा विस्तार १२ दशमलव छ प्रतिशतले हुने लक्ष्य राखेको थियो ।

अहिलेसम्म निक्षेपको वृद्धिदर छ दशमलव ५८ प्रतिशत र कर्जाको वृद्धिदर दुई दशमलव ९७ प्रतिशतले बढेको छ । बैंकरहरूले असार मसान्तसम्म निक्षेपको वृद्धिदर १० प्रतिशतमाथि पुग्ने र कर्जाको लक्ष्यकोे आधा पनि नहुने बताएका छन् ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया