Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारवित्तीय साक्षरतामा पर्दा पछाडिका खेलाडी

वित्तीय साक्षरतामा पर्दा पछाडिका खेलाडी

जसले बैंकिङ विज्ञापनमा सिनेमाटोग्राफी गरे


काठमाडौं । बैंक तथा वित्तीय संस्थाको प्रमुख कार्य निक्षेप तथा कर्जा परिचालन गर्नु मात्र नभई वित्तीय साक्षरता प्रदान गर्नु पनि हो । आम नागरिकहरूको वित्तीय क्षेत्रको बारेमा जानकार भएमा मात्र बैंक तथा वित्तीय संस्थामार्फत मुलुकले दिगो आर्थिक विकास र समृद्धि हासिल हुन सक्छ । बैंकिङ क्षेत्रको निक्षेप तथा कर्जामा आम नागरिकको सहज पहुँच भएको अवस्थामा यसले देशको व्यावसायिकता र उत्पादन क्षेत्रमा समेत सुधार ल्याउन सक्छ । त्यहीकारण पनि बैंकिङ क्षेत्रमा वित्तीय साक्षरताको निकै ठूलो भूमिका रहेको हुन्छ ।

देशको दूरदराजसम्म बैंकिङ चेतना विस्तार गर्नका लागि बैंक तथा वित्तीय संस्थाहरूले वित्तीय जानकारी र सन्देशमूलक सूचनाहरू श्रव्य, दृष्य वा श्रव्यदृष्य दुवैमार्फत प्रसारण गर्ने गर्छन् । यस्तो सन्देशमूलक जानकारी निर्माण र प्रसारणमा एउटा सिंगो टिम लागेको हुन्छ । त्यसमध्येको एउटा पाटो हो सिनेमाटोग्राफी अर्थात् छायांकन । सिनेमाटोग्राफीकै कुरा गर्दा कृष्णबहादुर थापा त्यस्तो सिनेमाटोग्राफर अर्थात् छायाकार हुन्, जसले नेपालको पहिलो बैंक नेपाल बैंकको सन्देशमूलक विज्ञापनमा सिनेमाटोग्राफी गरे । थापाले राष्ट्रियस्तरको महालक्ष्मी विकास बैंकको सन्देशमूलक विज्ञापनमा पनि सिनेमाटोग्राफी गरेका छन् । यीबाहेक सारंगी ह्विस्की, सेतोबाघ भोड्का, शिवम् स्टिल तथा आइरन रड, अर्घाखाँची ओपीसी सिमेन्ट, होटल म्यास्टिक माउन्टेन नगरकोटजस्ता विभिन्न नेसनल ब्रान्डका विज्ञापनको पनि सिनेमाटोग्राफी गरिसकेका छन् ।

थापाले हालसम्म पाल्सोनिक ब्रान्डको उत्पादनहरू, डीएचआई ब्रान्डका उत्पादनहरू, डिस होमको विज्ञापनहरू, फाइबर नेट, वाइवाइ चाउचाउ (इन्टरनेसनल ब्रान्ड)सहित थुप्रै अन्तर्राष्ट्रिय विज्ञापनको छायांकन गरिसकेका छन् । उनले मल्टिनेसनल विज्ञापन मात्र होइन, अन्तर्राष्ट्रिय कम्पनीको सर्ट फिल्म तथा वेभ सिरिजको छायाकारको रूपमा उनले काम गरिसकेका छन् । सेभ द चिल्ड्रेनको ‘साँच्चै हो’ वेभ सिरिजको सिनेमाटोग्राफी पनि कृष्णले नै गरेका हुन् । यो सिरिज कोरोनाको महामारीमा कोभिडको जनचेतनाका विषयमा केन्द्रित थियो । यस्तै, उनले नै छायांकन गरेको सेभ द चिल्ड्रेनको तीनवटा सर्ट फिल्महरू शक्ति, हौसला, धैर्यता पनि प्रदर्शनीको तयारीमा छ । जसमध्ये समलिंगी विषयमा शक्ति, यौन व्यवसायीहरूको समस्यामा हौसला र लागुऔषध दुव्र्यसनीको पीडामा धैर्यता निर्माण भएको पनि उनले बताएका छन् ।

सिनेमाटोग्राफर थापाले पछिल्लो समय पशुपति प्रसादको सफलतापछि यही चलचित्रको दोस्रो सिक्वले फिल्म ‘पशुपति प्रसाद २ : भस्मेडन’को छायांकन पनि यही साता सम्पन्न गरिसकेका छन् । निर्देशक दीपेन्द्र के खनालको यो चलचित्र आगामी दशैंको फूलपातिमा रिलिज हुने भएको छ । यो चलचित्रको छायाकार पनि थापा नै हुन् । थापा पछिल्लो समयका व्यस्त र महंगा छायाकारका रूपमा परिचित छन् ।

निर्देशक खनालको व्यावसायिक हिसाबले अहिलेसम्मकै उत्कृष्ट चलचित्र भनेकै पशुपति प्रसाद हो । यसअघि पशुपति प्रसादमा कृष्णले सहायक छायाकारको रूपमा काम गरेका थिए । सोही क्रममा कृष्णले दीपेन्द्रकै चलचित्रहरू आमा, चिसो मान्छेमा चिफ एसिस्टेन्ट सिनेमाटोग्राफर भएर काम गरे । कृष्णको उत्कृष्ट कामले दीपेन्द्र निकै प्रभावित थिए । अझ यसअघि दिपेन्द्रकै लेखनमा बनेको चलचित्र परस्त्रीमा कृष्णले सिनेमाटोग्राफरको रूपमा सफतापूर्वक काम गरिसकेका थिए । सोही कारण दीपेन्द्रको टिममा यसपटक ‘पशुपति प्रसाद २ ः भस्मेडन’मा सिनेमाटोग्राफरकै जिम्मेवारी छायाकार कृष्णबहादुर थापाले निर्वाह गरेका छन् ।

त्यसो त कृष्णले नै खिचेको अर्को चलचित्र ‘हुक्का ः एन एब्सर्ड ड्रिम’ यतिबेला विभिन्न सिनेमा हलमा प्रदर्शन भइरहेको छ । यो चलचित्रमा उनको छायाकनले अहिले तारिफ बटुलिरहेको छ । यो चलचित्रको प्रदर्शनी सकिएको केही दिन अर्थात् असार १५ बाट चलचित्र परस्त्री नेपाली र हिन्दी गरी दुई भाषामा नेपाल–भारतसहित विभिन्न देशमा रिलिज हुँदैछ । परस्त्रीमा उनको कामको पनि निर्माण पक्षले तारिफ गरिरहेका छन् ।

कृष्ण नेपालका नेसनल तथा मल्टिनेसन विज्ञापनका महँगा सिनेमाटोग्राफरका रूपमा परिचित छन् । उनले एउटा मल्टिनेसनल विज्ञापन खिचेको तीनदेखि पाँच लाख रुपैयाँसम्म पारिश्रमिक लिँदै आएका छन् । सोहीकारण पनि महिनादिन लगाएर चलचित्रको छायांकन गर्नुभन्दा मल्टिनेसनल विज्ञापनको छायांकनमा आफूहरूलाई धेरै राम्रो कमाइ हुने उनले बताएका छन् । तथापि चलचित्रको छायांकनमा आफ्नो कला देखाउन पाउने उनको तर्क छ । विज्ञापनमा महँगा सिनेमाटोग्राफरका रूपमा परिचित कृष्ण म्युजिक भिडियोका चुजी छायाकार हुन् । हालसम्म दर्जन भिडियो मात्र खिचेका उनले म्युजिक भिडियोबाटै अवार्डसमेत चुमेका छन् । गत वर्ष सम्पन्न चौथो सगरमाथा म्युजिक अवार्डमा कृष्णले प्रकाश सपूतको गीत मीठो सारंगीबाट उत्कृष्ट लोकदोहोरी गीतले छायाकारको अवार्ड चुमेका थिए ।

म्युजिक भिडियो छायांकनबारे उनले भने,‘एउटा म्युजिक भिडियो छायांकन स्वरूप ५० देखि ८० हजार रुपैयाँसम्म पारिश्रमिक लिएको छु ।’ कृष्णले भने, ‘प्रायः म चलचित्र र विज्ञापनकै छायांकनमा बढी व्यस्त हुने भएकाले आफूले भनेअनुसारको पारिश्रमिक लिएर मात्र म्युजिक भिडियोको छायांकन गर्दै आएको छु ।’

नेपाल चलचित्र प्राविधिक संघका कोषाध्यक्षसमेत रहेका उनी नेपालका दक्ष छायांकारको रूपमा स्थापित छन् । यो क्षेत्रको कमाइबारे उनले भने, ‘सिनेमाटोग्राफीमा कमाइ राम्रो छ । अझ मल्टिनेसलन कम्पनीको एउटै विज्ञापनको कमाइले तीन–चार महिनाको पारिवारिक खर्च आरामले चल्छ ।’ यो पेसाको कमाइले आफू पूर्ण सन्तुष्ट रहेको पनि उनले बताएका छन् ।


क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6

तपाईको प्रतिक्रिया