Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजार१० अर्ब रुपैयाँको विकास ऋणपत्र बिक्री गर्दै राष्ट्र बैंक

१० अर्ब रुपैयाँको विकास ऋणपत्र बिक्री गर्दै राष्ट्र बैंक


काठमाडौं । नेपाल राष्ट्र बैंकले १० अर्ब रुपैयाँबराबरको विकास ऋणपत्र बिक्री आह्वान गरेको छ । राष्ट्र बैंकले आज (जेठ १८ गते) अपराह्न तीन बजेसम्म बोलकबोलमा सहभागी हुन सकिने गरी पाँच वर्ष अवधिको विकास ऋणपत्र बिक्री निष्काशन गरेको हो । ‘विकास ऋणपत्र २०८५’ को निष्काशन जेठ १९ गते हुनेछ । सरकारको तर्फबाट नेपाल राष्ट्र बैंक, राष्ट्र ऋण व्यवस्थापन विभागले निष्काशन गरेको यो ऋणपत्र २०८५ जेठ १९ गते परिपक्व हुनेछ ।

राष्ट्र बैंकका अनुसार इच्छुक खरिदकर्ता प्रतिस्पर्धी वा अप्रतिस्पर्धीरूपमा सहभागी भएर बोलकबोलमा सहभागी हुन सक्नेछन् । छुट्याइएको रकममध्ये प्रतिस्पर्धी र अप्रतिस्पर्धी बोलवालाहरूलार्ई क्रमशः निष्काशित रकमको ८५ र १५ प्रतिशत अर्थात् आठ अर्ब ८० करोड र एक अर्ब २० करोड रुपैयाँ तोकिएको छ । अप्रतिस्पर्धी बोलवालाहरूलाई छुट्याइएको रकमको लागि पूरा बोल प्राप्त नभएमा बाँकी हुनआउने रकम प्रतिस्पर्धी बोलवालाहरूलाई बिक्री गरिने राष्ट्र बैंकले जनाएको छ । अप्रतिस्पर्धी बोलवालाहरूलाई छुट्याइएको रकमभन्दा बढी रकमको बोल प्राप्त हुनआएमा बोलवालाहरूलाई समानुपातिकरूपमा उक्त ऋणपत्रको रकम बाँडफाँट गरिने व्यवस्था रहेको छ ।

खरिद गर्न पाउने सीमा घटीमा ५० हजार र बढीमा कुल निष्काशित रकमको सीमामा नबढाई ५० हजार रुपैयाँले भाग गर्दा निःशेष भाग जाने अंकसम्मको अधीनमा रहेर बोलकबोलमा सहभागी हुनसक्ने व्यवस्था रहेको छ ।

राष्ट्र बैंकका अनुसार यो ऋणपत्र खरिदका लागि व्यक्ति तथा संस्थाले बोलकबोल प्रक्रियाअन्तर्गत प्रतिस्पर्धी वा अप्रतिस्पर्धी कुनै एक बोलवालाको रूपमा मात्र भाग लिन व्यवस्था रहेको छ । यस्तै बैंक तथा वित्तीय संस्थाले अप्रतिस्पर्धीको रूपमा भाग लिन पाउने छैनन् । ऋणपत्रको दोस्रो बजार कारोबार नेपाल स्टक एक्सचेन्ज लिमिटेडमार्फत हुनेछ । अर्धवार्षिकरूपमा ब्याज भुक्तानी हुने र आर्जित ब्याजमा ब्याजकर लाग्ने ऋणपत्र धितो राखेर कर्जा लिन र दिन पाइने जानकारी पनि राष्ट्र बैंकले दिएको छ ।

राष्ट्र बैंकले चालू आर्थिक वर्षको अन्त्यसम्ममा दुई खर्ब ५६ अर्ब रुपैयाँबराबरको आन्तरिक ऋण उठाउनेछ । यसको लागि राष्ट्र बैंकले ट्रेजरी बिल, विकास ऋणपत्र, वैदेशिक रोजगार बचतपत्र, नागरिक बचतपत्रलगायतका मौद्रिक उपकरणहरू बिक्री गर्नेछ । चालू आर्थिक वर्षमा उठाउन कुल आन्तरिक ऋणको लागि राष्ट्र बैंकले दोस्रो त्रैमासमा ३० अर्ब रुपैयाँबराबरको मौद्रिक उपकरण बिक्री गरिसकेको छ भने तेस्रो त्रैमासमा पनि ८८ अर्ब रुपैयाँबराबरको मौद्रिक उपकरण बिक्री गरिसकेको छ ।

चालू आर्थिक वर्षको चौथो त्रैमासिक अवधिमा भने राष्ट्र बैंकले एक खर्ब ३८ अर्ब रुपैयाँबराबरको आन्तरिक ऋण उठाउनेछ । यसको लागि राष्ट्र बैंकले ७५ अर्ब रुपैयाँबराबरको ट्रेजरी बिल, ६० अर्ब रुपैयाँबराबरको विकास ऋणपत्र, दुई अर्ब ५० करोड रुपैयाँबराबरको नागरिक बचत पत्र र ५० करोड रुपैयाँबराबरको वैदेशिक रोजगार बचतपत्र पाँच वर्षे निष्काशन गर्ने तयारी गरेको छ ।

राष्ट्र बैंकका अनुसार चालू आर्थिक वर्षमा उठाइने कुल आन्तरिक ऋणमध्येमा एक खर्ब ५० अर्ब रुपैयाँबराबरको ट्रेजरी बिल, एक खर्ब रुपैयाँबराबरको विकास ऋणपत्र, पाँच अर्ब रुपैयाँबराबरको नागरिक बचत पत्र पाँचवर्षे र ५० करोड रुपैयाँबराबरको वैदेशिक रोजगार बचतपत्र रहेको छ ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया