Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारऋण तिर्न फेरि ऋण लिँदै सरकार

ऋण तिर्न फेरि ऋण लिँदै सरकार


काठमाडौं । सरकारले फेरि ऋण उठाउन लागेको छ । सरकारले नेपाल राष्ट्र बैंकमार्फत ३० अर्ब ८७ करोड ५० लाख रुपैयाँको ट्रेजरी बिल बिक्री गरी पैसाको जोहो गर्न लागेको हो । आर्थिक वर्षको अन्तिम समयमा विकास निर्माणका आयोजनाको भुक्तानी दिनुपर्ने भएपछि सरकारले आन्तरिक ऋण उठाउने कामलाई तीव्रता दिएको छ । यस्तै यस आर्थिक वर्षमा सरकारको साधारण खर्च नै आम्दानीभन्दा धेरै भएपछि आन्तरिक ऋण उठाएर भए पनि सरकारले खर्चको जोहो गरिराखेको छ ।

अर्कोतर्फ पुरानो ऋण तिर्नकै लागि पनि सरकार ऋण लिन बाध्य बन्दै गइरहेको छ । चालू आर्थिक वर्षमा दुई खर्ब ५६ अर्ब रुपैयाँ आन्तरिक ऋण उठाउने दायित्व बोकेको राष्ट्र बैंकले एक महिनायता हप्तैपिच्छे ट्रेजरी बिल बिक्रीमार्फत आन्तरिक ऋण उठाइरहेको छ ।

राष्ट्र बैंकका अनुसार आज (सोमबार) अपरान्ह तीन बजेसम्म बोलकबोल माध्यमबाट उक्त परिमाणमा ट्रेजरी बिल बिक्री गर्न लागिएको हो । कुल ३० अर्ब ८७ करोड ५० लाख रुपैयाँबराबरको ट्रेजरी बिल बिक्री गरी यसबाट २५ अर्ब ८७ करोड ५० लाख रुपैयाँ पुरानो ट्रेजरी बिलको भुक्तानीका लागि प्रयोग हुनेछ । बाँकी पाँच अर्ब रुपैयाँ भने नयाँ ऋण हो । जेठ २३ गते मंगलाबारदेखि जारी हुने ट्रेजरी बिल खरिदका लागि वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीहरू बोलकबोलमा सहभागी हुन सक्नेछन् ।

राष्ट्र बैंकले २८ दिन अवधिको आठ अर्ब, ९१ दिनको छ अर्ब चार करोड ५० लाख, एक सय ८२ दिनको १० अर्ब र तीन सय ६४ दिनको छ अर्ब ८३ करोड रुपैयाँबराबरको ट्रेजरी बिल बिक्री गर्न लागेको हो । यसअघि गत साता राष्ट्र बैंकले २९ अर्ब १३ करोड रुपैयाँबराबरको ट्रेजरी बिल बिक्री गरी सरकारका लागि आन्तरिक ऋण उठाएको थियो ।


क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 1

तपाईको प्रतिक्रिया