Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारतरलता बढे पनि कर्जा प्रवाहमा बैंकहरूलाई सकस

तरलता बढे पनि कर्जा प्रवाहमा बैंकहरूलाई सकस


काठमाडौं । चालू आर्थिक वर्षमा कर्जाको वृद्धिदर निकै कम हुने देखिएको छ । मंगलबारसम्मको तथ्यांकअनुसार चालू आर्थिक वर्षमा वाणिज्य बैंकहरूले प्रवाह गरेको कर्जाको वृद्धिदर जम्मा दुई दशमलव ९९ प्रतिशत रहेको छ । विकास बैंक र फाइनान्स कम्पनीबाट भएको कर्जा प्रवाहको वृद्धिदर त्योभन्दा पनि कम हुने बैंकरले बताएका छन् ।

वाणिज्य बैंकहरूले चालू आर्थिक वर्षको सुरुदेखि अहिलेसम्म एक खर्ब २५ अर्ब रुपैयाँ नयाँ कर्जा प्रवाह गरेका छन् । गत आर्थिक वर्षको असार मसान्तमा ४१ खर्ब ७५ अर्ब रुपैयाँ रहेको वाणिज्य बैंकहरूको कुल कर्जा प्रवाह अहिले ४३ खर्ब पुगेको छ ।

राष्ट्र बैंकले चालू आर्थिक वर्षको मौद्रिक नीतिमार्फत निजी क्षेत्रतर्फ जाने कर्जाको वृद्धिदर १२ दशलमव छ प्रतिशत रहने प्रक्षेपण गरेको थियो । तर, अहिलेसम्मको स्थितिले कर्जा प्रवाहको वृद्धिदर तीन प्रतिशत हाराहारी नै हुने देखिएको छ । लक्ष्यअनुसार कर्जा प्रवाह बढ्न नसके पनि आर्थिक वर्षको अन्तिममा तरलता सहज बन्दै जाँदा बैंकहरू पर्याप्त कर्जा प्रवाह गर्नसक्ने स्थितिमा छन् ।

नेपाल राष्ट्र बैंकका अनुसार बैंकहरूको कर्जा निक्षेप अनुपात (सीडी रेसियो) ८४ दशमलव ४६ प्रतिशत कायम छ । यो आधारमा अहिले बैंक तथा वित्तीय संस्थाहरू करिब दुई खर्ब रुपैयाँ नयाँ कर्जा प्रवाह गर्नसक्ने क्षमता राख्छन् ।

साउनयता वाणिज्य बैंकहरूको कर्जा लगानीको तुलनामा निक्षेप संकलन झण्डै तीन गुणा बढी छ । गत आर्थिक वर्षको असार मसान्तयता वाणिज्य बैंकहरूको निक्षेप तीन खर्ब ४३ अर्ब रुपैयाँले बढेको छ । असार मसान्तमा ४५ खर्ब ४१ अर्ब रहेको निक्षेप अहिले ४८ खर्ब ८४ अर्ब रुपैयाँ पुगेको छ ।

निक्षेप पर्याप्त संकलन भए पनि कर्जाको ब्याजदर अझै पनि महँगो भएकाले पर्याप्त माग सिर्जना हुन नसकेको एक बैंकरले बताए । ती बैंकरका अनुसार एक महिनाअघिसम्म त कर्जाको माग नै थिएन तर जेठमा ब्याजदर केही घटेपछि कर्जाबारे बुझ्न आउनेहरू बढेका छन् ।

राष्ट्र बैंकले कर्जाको ब्याजदर परिवर्तन गर्दा पछिल्लो तीन महिनाको औसत आधार दरमा भएको थपघटको सीमासम्म मासिकरूपमा परिवर्तन गर्नुपर्ने व्यवस्था गरेपछि जेठदेखि कर्जाको ब्याजदर केही घटेको छ ।

वित्तीय प्रणालीमा तरलता बढ्दै जान थालेपछि अहिले बैंकहरूले कर्जा प्रवाहका लागि नयाँ स्किम समेत ल्याएको देखिन्छ । केही वाणिज्य बैंकहरूले स्थिर ब्याजदर समेत घटाउन थालेका छन् । चालू आर्थिक वर्षको सुरुदेखि नै दबाबमा रहेको तरलता आर्थिक वर्षको अन्तिममा सहज बनेपछि बैंकहरूले विभिन्न स्किमसहित कर्जा उपलब्ध गराउने घोषणा गरेका हुन् ।

वाणिज्य बैंकहरूले अन्य क्षेत्रमा भन्दा घरकर्जामा बढी जोड दिएका छन् । केही बैंकले घरकर्जाका लागि स्थिर ब्याजदर घटाएका छन् । घरकर्जा बढाउँदा निर्माण सामग्रीका उद्योगहरूमा माग बढ्ने र अर्थतन्त्र चलायमान बन्न सहयोग पुग्ने भन्दै बैंकहरूले नयाँ स्किमसहित कर्जा अफर गरेका हुन् ।

नबिल बैंक, एनएमबी बैंक, कुमारी बैंक, एभरेष्ट बैंक, प्रभु बैंक, एनआईसी एसिया, सिद्धार्थ बैंकलगायत बैंकहरूले घरकर्जामा विशेष जोड दिएका छन् । नबिल बैंकले वातावरण दिवसको अवसरमा १० दशमलव ४९ प्रतिशत स्थिर ब्याजदरमा घरकर्जा दिने नयाँ स्किम घोषणा गरेको छ । प्रभु बैंकले पनि यसअघि नै १२ दशमलव ९९ प्रतिशत स्थिर ब्याजदरमा घरकर्जा घोषणा गरेको थियो । सिद्धार्थ बैंक, लक्ष्मी बैंक, सानिमा बैंक, एनआईसी एसियालगायत बैंकहरूले पनि कर्जाको स्थिर ब्याजदर एक प्रतिशत विन्दुले घटाइसकेका छन् ।

अहिले अर्थतन्त्र चलायमान नभएको र आगामी आर्थिक वर्षको मौद्रिक नीति तर्जुमाको पर्खाइमा रहेका व्यवसायीले ठूला कर्जाको माग गरेका छैनन् । त्यसैले पनि बैंकहरूले घर कर्जामा जोड दिएका हुन सक्छन् । अर्थतन्त्र अझै पनि मन्दीमा रहेकाले बैंकहरू पनि कर्जा प्रवाहमा अलि बढी सेलेक्टिभ भएका हुन् । यस्तै अहिले केही बैंकको पुँजी कोष दबाबमा रहेको र राष्ट्र बैंकले आगामी आर्थिक वर्षदेखि काउन्टर साइकलिङ बफर लागू गर्ने बताइसकेकाले बैंकहरूले मन खोलेर कर्जा प्रवाह गर्न सकेका छैनन् । यस्तै तेस्रो त्रैमाससम्म खराब कर्जा बढेर तीन प्रतिशतमाथि पुगिसकेका कारण पनि बैंकहरू ढुक्क भएर कर्जा प्रवाह गर्नसक्ने स्थितिमा छैनन् । त्यसैले भविष्यमा कर्जा चुक्ता गर्न नसके छिटो लिलाम बिक्री हुनसक्ने देखेरै बैंकहरूले घरकर्जामा जोड दिएको देखिन्छ ।

यस्तै आगामी आर्थिक वर्षमा बैंकहरूले स्थानीय तहको पैसा निक्षेपमा गणना गर्न पाउने व्यवस्था खारेज भयो भने निक्षेप घट्नेछ । यसले तरलतामा दबाब पर्नगई फेरि ब्याजदर बढ्नसक्ने जोखिम पनि रहन्छ । त्यसैले बैंक र व्यवसायी पर्ख र हेरको स्थितिमा हुँदा कर्जा प्रवाह कम हुने स्थिति बनेको हो ।


क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 1

तपाईको प्रतिक्रिया