मौद्रिक नीति खुकुलो बनाउने गभर्नरको सङ्केत
काठमाडौं । सरकारले आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गरेपछि मौद्रिक नीतिको तयारीमा जुटेको राष्ट्र बैंकले केही खुकुलो नीति लिने सङ्केत गरेको छ । बिहीबार घरजग्गा व्यवसायीहरूको छाता संगठन नेपाल जग्गा तथा आवास विकास महासंघ (एनएचएलडीएफ)का पदाधिकारीहरूसँग सुझाव लिँदै राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले यस्तो सङ्केत गरेका हुन् ।
गभर्नर अधिकारीले आर्थिक मन्दीका कारण घरजग्गा र निर्माण क्षेत्रमा असर गरेको भन्दै यी क्षेत्रलाई चलायमान बनाउन खुकुलो नीति लिइने बताएका हुन् । अहिले अर्थतन्त्र मन्दीमा गएको र निर्माण क्षेत्रको वृद्धिदर ऋणात्मक भएको अवस्थालाई नजिकबाट नियालेको भन्दै गभर्नर अधिकारीले व्यवसायीहरूसँग सकारात्मक पक्षबाट कुराकानी गरेका हुन् । गभर्नर अधिकारीले व्यवस्थितरूपमा कम्पनीमार्फत घरजग्गा कारोबार गर्नेहरूको हकमा राष्ट्र बैंक सधैँ खुकुलो हुने स्पष्ट पारेको व्यवसायीले बताएका छन् । गभर्नर अधिकारीले व्यवसायीलाई राष्ट्र बैंकको टिमले घरजग्गा क्षेत्रलाई चलायमान बनाउन गहन छलफल गर्ने र व्यवस्थितरुपमा घरजग्गा कारोबार गर्नेहरुको हकमा खुला रहने प्रतिबद्धता व्यक्त गरेका हुन् । घरजग्गा कारोबार बढाउँदा निर्माण क्षेत्रमा माग बढ्ने र समग्र अर्थतन्त्र चलायमान बन्ने बुझाइ राष्ट्र बैंकको छ ।
अहिले अर्थतन्त्रमा मन्दी देखिए पनि सरकारले आगामी आर्थिक वर्ष २०८०/०८१मा छ प्रतिशत आर्थिक वृद्धि र छ दशमलव पाँच प्रतिशत मुद्रास्फीति दरको सीमा हासिल गर्ने लक्ष्यसहित बजेट सार्वजनिक गरेपछि राष्ट्र बैंकले मौद्रिक नीतिमा केही लचक बन्ने अपेक्षा धेरैको छ । अर्थमन्त्री डा. प्रकाशशरण महतले पनि बजेटबाट भन्दा मौद्रिक नीतिबाट अर्थतन्त्रमा देखिएको मन्दीको समाधान गरिने बताउँदै आएका छन् । अर्कोतर्फ सेयर बजारका लगानीकर्ताले पनि मौद्रिक नीति खुकुलो ल्याउन दाबब दिँदै आएका छन् । निजी क्षेत्रले पनि ब्याजदर घटाउने गरी मौद्रिक नीति आउनुपर्ने बताइरहेका छन् । चालू आर्थिक वर्षमा उच्च ब्याजदरका कारण आर्थिक गतिविधि खुम्चिँदा अर्थतन्त्रमा मन्दी देखापरेको छ । यही पृष्ठभूमिमा गभर्नर अधिकारीले मौद्रिक नीतिको तयारी सुरु गरेका हुन् ।
राष्ट्र बैंकले साउन पहिलो साताभित्र मौद्रिक नीति ल्याउने तयारीसहित काम अगाडि बढाएको छ । गभर्नरसँगको भेटमा घरजग्गा व्यवसायीहरूले वर्तमान अवस्थामा घरजग्गा क्षेत्रले भोगिरहेको समस्या समाधानका लागि पहल गरिदिन माग गरेका थिए । व्यवसायीहरूले घरजग्गा धितोमा ७० प्रतिशत कर्जा उपलब्ध गराउन माग गरेका छन् ।
व्यवसायीहरूले आगामी मौद्रिक नीतिमा समेट्नुपर्ने विषयहरूको बारेमा सुझाव दिँदै यस्तो माग गरेका हुन् । महासंघका अध्यक्ष भेषराज लोहनीसहितको टोलीले गभर्नर अधिकारीसमक्ष घरजग्गा धितोमा ‘लोन टु भ्यालु रेसियो’ बढाउन माग गरेका हुन् । उनीहरूले रियलस्टेट धितोमा दिइने कर्जाको सीमा ७० प्रतिशत पु¥याउन आग्रह गरेका छन् । राष्ट्र बैंकको विद्यमान व्यवस्थाअनुरूप अहिले उद्देश्य नखुलेकाहरूको हकमा ‘लोन टु भ्यालु रेसियो’ काठमाडौं उपत्यकाभित्र ३० र बाहिरको हकमा ४० प्रतिशत रहेको छ ।
घरजग्गा धितोमा कम ऋण पाउने स्थितिले घरजग्गा कारोबार सुस्ताएको भन्दै कर्जाको मूल्य अनुपात बढाउन आग्रह गरिएको व्यवसायीले बताएका छन् । किस्ताबन्दीमा घरजग्गा किन्नेहरूको किस्ता मूल्यांकन बढाइदिन समेत आग्रह गरेका छन् । अहिले बैंकहरूले घरजग्गा क्षेत्रमा कर्जा प्रवाह गर्दा कायम जोखिम भार एक सय ५० प्रतिशतलाई घटाएर एक सय प्रतिशतमा झार्न पनि व्यवसायीहरूले आग्रह गरेका छन् ।
क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 1
ताजा अपडेट
- पशुपति कोषका तत्कालीन र हालका सदस्य सचिव क्रमशःढकाल र थापाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
- काठमाडौँ मेडिकल कलेजका डाक्टरलाई हातपात गर्ने दुई नियन्त्रणमा
- नेपालमा वैदेशिक लगानीको प्रतिबद्धता जनाउनेमा चीन अघिअघि, भारत पछिपछि
- एशियाली खेलकुद: के नेपाललाई क्रिकेटबाट पदकको आशा बढेको हो?
- सरकारी कर्मचारीलाई ध्यान र योग गर्न किन निर्देशन दिइयो?
- दोलखामा एक साता नबित्दै ११ किलो अबैध सुन बरामद
- नक्कली भारतीय नोटसहित अन्सारी पक्राउ
- पर्यटन प्रवर्द्धन नयाँ ढङ्गले गर्न जरूरी : मन्त्री किराती
धेरैले पढेको
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- नक्कली भुटानी शरणार्थी प्रकरणमा आरजु र सिटौलालाई पक्राउ गर्न गृहमन्त्री श्रेष्ठको निर्देशन
- बाँझो जग्गामा सामूहिक आलु खेती
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
तपाईको प्रतिक्रिया