Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारव्यापारघाटा आठ प्रतिशतमा सीमित

व्यापारघाटा आठ प्रतिशतमा सीमित


काठमाडौं,बैशाख ८

मुलुककोे व्यापारघाटामा झिनो सुधार भएको छ । भन्सार विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार चालू आर्थिक वर्ष (२०७६÷०७७) को नौ महिनाको अवधिमा (साउनदेखि चैतसम्म) गत आव (२०७५÷०७६) को सोही अवधिको तुलनामा भारतलगायत तेस्रो मुलुकसँग नेपालको व्यापारघाटामा झिनो सुधार देखिएको हो ।

सो अवधिमा व्यापारघाटा आठ दशमलव ८८ प्रतिशतमा सीमित रहेको छ । चालू आवको नौ महिनामा व्यापारघाटा नौ खर्ब तीन अर्ब ७१ करोड ६१ लाख रहेकोमा गत आवको सोही समयमा व्यापारघाटा नौ खर्ब ९१ अर्ब ७८ करोड ८८ लाख रहेको थियो ।

नोवल कोरोना भाइरस (कोभिड १९) को कारण हालसम्म नेपालको व्यापारमा ठूलो असर नदेखिए पनि आगामी दिनमा भने यसको असर पर्ने तथा देखिँदै जाने विभागले जनाएको छ । विभागका अनुसार पछिल्लो समय अर्थात् कोरोना भाइरसको कारण मुलुक लकडाउन गरेसँगै आयातमा वृद्धि र निर्यात शून्यजस्तै हुनपुग्दा आगामी दिनमा व्यापारघाटा बढ्दै जाने अनुमान गरिएको छ ।

यस्तै सो अवधिमा निर्यातमा वृद्धि भई आयातमा कमी आएको विभागले जनाएको छ । विभागका अनुसार सो अवधिमा नेपाली व्यवसायीहरुले नौ खर्ब ८२ अर्ब ५३ करोड ४८ लाख मूल्यबराबरको सामग्री छिमेकी मुलुक भारत, चीनलगायत तेस्रो मुलुकबाट आयात गरेका छन् ।

जुन गत आवको सोही समयको तुलनामा चालू आवमा सात दशमलव ४५ प्रतिशतले आयातमा कमी हो । गत आवमा दश खर्ब ६१ अर्ब ६१ करोड १२ लाख मूल्यबराबरको सामग्री व्यापारीहरुले आयात गरेका विभागले जानकारी दिएको छ ।

चालू आवको नौ महिनाको अवधिमा निर्याततर्फ भने वृद्धि भएको छ । नौ महिनाको अवधिमा व्यवसायीहरुले ७८ अर्ब ८१ करोड ८६ लाख रुपैयाँ मूल्यबराबरको सामग्री भारतलगायत तेस्रो मूलुकमा निर्यात गरेका छन् । जुन गत आवको तुलनामा चालू आवमा १२ दशमलव ८८ प्रतिशतले वृद्धि हो । गत आवको सोही समयमा ६९ अर्ब ८२ करोड २३ लाख मूल्यबराबरको सामग्री निर्यात भएको पाइन्छ ।

सो अवधिमा कुल वैदेशिक व्यापार १० खर्ब ६१ अर्ब ३५ करोड ३५ लाखमा सीमित रहेको छ । जुन गत आवको तुलनामा चालू आवमा छ दशमलव १९ प्रतिशतले कमी हो । गत आवमा नेपालको तेस्रो मुलुकसँग कुल वैदेशिक व्यापार ११ खर्ब ३१ अर्ब ४३ करोड ३५ लाख रहेको थियो ।

सोही अवधिमा आयातनिर्यातको सूचकांकलाई हेर्दा चालू आवमा १२ दशमलव ४७ प्रतिशत र गत आवमा १५ दशमलव २० प्रतिशत रहेको छ । जुन गत आवको तुलनामा १७ दशमलव ९९ प्रतिशतले कमी हो ।

कुल व्यापारमा निर्यातको सूचकांक हेर्दा गत आवको नौ महिनाको अवधिमा ६ दशमल १७ प्रतिशत रहेकोमा चालू आवको सोही समयमा ७ दशमलव ४३ प्रतिशत रहेको छ ।

जुन गत आवको तुलनामा चालू आवमा २० दशमलव ३६ प्रतिशतले वृद्धि भएको पाइन्छ । यस्तै गत आवको सोही समयमा आयातको सूचक ९३ प्रतिशत रहेकोमा चालू आवको सोही समयमा ९२ दशमलव ५७ प्रतिशत रहेको छ । जुन गत आवको तुलनामा चालू आवमा एक दशमलव ३४ प्रतिशतले कमी हो ।

नेपालको विशेषगरी दुई छिमेकी मुलुक भारत र चीनसँगको व्यापारघाटा उल्लेखनीय रहेको पाइन्छ । पछिल्लो नौ महिनामा भारतसँग पाँच खर्ब ४७ अर्ब १९ करोड १२ लाख तथा चीनसँग एक खर्ब ५३ अर्ब २१ करोड १२ लाख व्यापारघाटा रहेको छ ।

सो अवधिमा भारतमा ४५ अर्ब ३९ करोड ७१ लाखको वस्तु निर्यात भएको छ भने चार खर्ब ९६ अर्ब ४८ करोडको वस्तु आयात गरिएको छ । चीनमा भने एक अर्ब छ करोड ५१ लाख वस्तुको निर्यात तथा एक खर्ब ३२ अर्ब ६२ करोड ८१ लाखको वस्तु आयात गरिएको छ ।

उक्त अवधिमा नेपालबाट निकासी भएका प्रमुख वस्तुहरुमा पाम आयल, पोलिष्टर तथा अन्य धागो, ऊनी गलैँचा, भटमासको तेल, तयारी पोशाक, जुट तथा जुटका सामग्रीहरु, अलैंची, जुस, चिया, कपडा, फलाम तथा स्टिल, फेल्ट र पश्मिना सल प्रमुख रुपमा रहेको छ भने आयाततर्फ अधिकांश मेसिनरी वस्तु तथा सवारीसाधनका पार्टपुर्जा रहेको विभागले जनाएको छ ।

यता नेपालको निकासी व्यापारमा संयुक्त राज्य अमेरिका, जर्मनी, बेलायत, टर्की, बंगलादेश, फ्रान्स, जापान, इटाली, क्यानडा, अष्ट्रेलिया, स्विट्जरल्याण्ड आदि प्रमुख छन् भने पैठारी व्यापारमा भारत, चीन, इण्डोनेसिया, युनाइटेड अरब इमिरेट्स (युएई), संयुक्त राज्य अमेरिका, क्यानडा, स्विट्जरल्याण्ड, दक्षिण अफ्रिका, थाइल्याण्ड, साउदी अरेबिया, अर्जेन्टिना, दक्षिण कोरिया, युक्रेन, फ्रान्स प्रमुख छन् ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया